add

सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत रहने विश्व बैंकको अनुमान






ActPro Nepal

|

२६ जेठ, २०७८

|
776

काठमाडौं । विश्व बैंकले २०२१ को विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

मंगलबार सार्वजनिक ‘विश्व आर्थिक परिदृश्य’ मा कोरोनाविरुद्ध खोपको बढ्दो प्रयोग तथा धनी मुलुकहरुले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण तीव्र आर्थिक वृद्धि हुने बैंकले अनुमान गरेको हो।

यो वृद्धि विगत पाँच दशकयताकै सबैभन्दा बढी हो। तर, आर्थिक वृद्धि सबै मुलुकमा समान किसिमको नहुने बैंकको भनाइ छ।

गत जनवरीमा बैंकले यस वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । गत वर्ष विश्वको अर्थतन्त्र ३.५ प्रतिशतले खुम्चिएको थियो ।

कोरोनाभाइरस महामारीले व्यापारमा पु–याएको अवरोध, व्यवसाय बन्द र मानिसलाई घरभित्रै बस्न बाध्य पारेका कारण आर्थिक वृद्धिमा नकारात्मक असर परेको थियो ।

बैंकले गरेको यो प्रक्षेपण सन् १९७३ पछि सबैभन्दा बढी हो । सन् १९७३ मा विश्वको आर्थिक वृद्धि ६.६ प्रतिशत रहेको थियो ।

तर सन् २०२१ को आर्थिक वृद्धि विश्वका सबैजसो मुलुक एवं क्षेत्रमा समान किसिमको नहुने बैंकको भनाई छ । संयुक्तराज्य अमेरिका जस्ता धनी राष्ट्रहरुले आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन करदाताले बुझाएको ठूलो राजश्व रकम आर्थिक पुनरुद्धारमा खर्च गरेका छन् ।

त्यहीकारण ठूला अर्थतन्त्र भएका ९० प्रतिशत मुलुकले अर्को वर्षभित्रै कोभिड–१९ महामारीको पूर्व अवस्थामा आफ्ना मुलुकलाई पु–याउने सम्भावना छ । तर विकासशील मुलुकका लागि परिस्थिति त्यति सहज हुने छैन ।

विश्व बैंकले कोभिड विरुद्धको खोप न्यून आय भएका मुलुकहरुलाई व्यापक स्तरमा उपलब्ध गराउन पनि आग्रह गरेको छ । यी मुलुकहरुमा खोप अभियान सुस्त छ ।

बैंकले सन् २०२१ मा अमेरिकी अर्थतन्त्र ६.८ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । जनवरीमा अमेरिकी अर्थतन्त्र ३.५ प्रतिशतले मात्र वृद्धि हुने प्रक्षेपण गरिएको थियो ।

कोभिडका कारण विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकाको गत वर्षको आर्थिक वृद्धि ३.५ प्रतिशतले गिरावट आएको थियो । तर खोप अभियान तिब्र बनाएसँगै अमेरिकी अर्थतन्त्र उकालो लागेको छ ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको अर्थतन्त्र सन् २०२१ मा ८.५ प्रतिशतले वृद्धि हुने बैंकको अनुमान छ । कोरोनाभाइरसलाई चाँडै नियन्त्रण गरी अर्थतन्त्र खुला गरेको चीनको गत वर्ष पनि अर्थतन्त्र २.३ प्रतिशतले वृद्धि भएको थियो ।

युरो मुद्रा प्रयोग गर्ने युरोपका १९ वटा मुलुकको अर्थतन्त्र ४.२ प्रतिशतले वृद्धि हुनेछ । गत वर्ष यी मुलुकको अर्थतन्त्रमा ६.६ प्रतिशतको गिरावट आएको थियो ।

जापानको अर्थतन्त्र पनि गत वर्ष ४.७ प्रतिशतले गिरावट आए पनि यस वर्ष २.९ प्रतिशतले वृद्धि हुने विश्व बैंकको भनाई छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.