काठमाडौं । नेपालमा कुल वस्तु व्यापार घाटा बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/ ७८ को आठ महिनामा कुल वस्तु व्यापार घाटा १.६ प्रतिशतले वृद्धि भई रु.८६३ अर्ब २१ करोड कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.३ प्रतिशतले घटेको थियो ।
सोही अवधिमा कुल वस्तु आयात २.१ प्रतिशतले वृद्धि भई रु.९४३ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.६ प्रतिशतले घटेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.८ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः ७.१ प्रतिशत र १२.१ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपूजा लगायतका वस्तुको आयात घटेको छ ।
सोही अवधिमा कुल वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि भई रु.८० अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.३ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ११.३ प्रतिशत र २.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ४३.७ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैंचा आदिको निर्यात घटेको छ ।
निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ भने आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट हुने आयातमा ह्रास आएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।