काठमाडौं । नबिल बैंकले काठमाडौंको धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । मंगलबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले तरकारी खरिद गरेको पैसा क्यूआर कोडमार्फत भुक्तानी गरी क्यूआर भुक्तानी सेवा सुरु गरे ।
अब धुम्बराही तरकारी तथा फलफुल केन्द्रमा जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् ।
क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापन कर्मचारीहरू र धुम्बराही तरकारी तथा फलफुल केन्द्रका कार्यकारी सदस्यहरु एवं विक्री केन्द्रका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।
डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिन नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो ।
अहिले बैंकको साथमा देशभर ३ हजार बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेको जनाइएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि नेपालमा भुक्तानी प्रणालीमा नयाँपन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानतर्फ परिवर्तन भइरहेको पाइएको बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।