काठमाडौं । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण सेयर (आइपीओ)मा मागभन्दा करिब ३७ गुणा बढी आवेदन परेको छ ।
विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइतबार ५ बजेसम्म कम्पनीको आइपीओमा ९ लाख ५३ हजार ४४२ जनाले १ करोड ३९ लाख ४० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ३६.६५ गुणा बढी हो ।
कम्पनीले गत शुक्रबारदेखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरमा ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।
निष्काशन भएको कुल सेयरमध्ये २ प्रतिशत (८,१५४ कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (२०,३८५ कित्ता) सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओमा चैत २४ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै आइपीओ नबिकेमा ढिलोमा वैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।लगानीकर्ताले धितोपत्र बोर्डबाट सी-आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले धितोपत्र बोर्डबाट कुल ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मीका स्थानीयका लागि यसअघि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता सेयर जारी गरिसकेको छ ।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘ग्रेड–३’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था अधारभूत पक्ष औसतमा बलियो रहेको जनाउँदछ ।
कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।
कम्पनीले सर्वसाधरणलाई ३ लाख ७९ हजार १६७ हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ३७ हजार ९१६ जनालाई मात्र सेयर दिन पुग्छ ।
कम्पनीको आइपीओमा आजसम्म साढे ९ बढीले लाख आवेदन दिइसकेका छन् भने आवेदन दिने समय अझै २ दिन बाँकी छ । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार २०० रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।