काठमाडौं । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् ।
पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेखि तयारी पोशाक भित्रिने गरेका हुन् । कोरोना तथा चिनियाँ पक्षको अवरोधका कारण धेरै समय नाका बन्द भएका थिए ।
चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिक सात कन्टेनर सामग्री आयात हुँदै आएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए । उनले अनुसार पछिल्लो समय रसुवागढी नाकाबाट उल्लेख्य मात्रामा जलविद्युत्का लागि आवश्यक सामग्री आएको बताए।
उनका अनुसार पछिल्ला केही दिनयता उल्लेख्यरूपमा आयात भए पनि साविकमा जस्तो सहजरूपमा आयात भएको छैन । नाकामा कार्यरत सबै कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाए पनि चिनियाँ पक्षको अवरोधका कारण आयातमा सहज नभएको उनी बताउँछन् ।
उनले ४ दिन यता नाकाबाट ४ देखि ७ वटाका संख्यामा कन्टेनर पठाइएको उनले बताए । उता नाकाबाट सबै कन्टेनर पठाइसकेको बताए पनि उद्योग व्यवसायीहरुले भने अझै आफूले कन्टेनर पाउन नसकेको दाबी गरेका छन् ।
रसुवा नाकाबाट विगतमा दैनिक ४० वटाका हाराहारीमा कन्टेनर नेपाल भित्रिने गरेको थियो । कन्टेनर पठाउन चिनियाँ नाकाबाट आनाकानी भएपछि व्यापार प्रभावित भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । रसुवा प्रमुख रेग्मीले चिनियाँ नाकाबाट सामान पठाएपनि उतापट्टी भएका मानिसहरु भने अझै नपाठाएको बताए ।
राष्ट्रिय व्यापार संघका अध्यक्ष कमल अग्रवाल चीनले सामान पठाउन शुरु गरेपनि कस्तो तरिकाले पठाउँछ त्यसमा भर पर्ने बताए । उनले चीनले विस्तारै थोरै गर्दै पहिलेकै संख्यामा कन्टेनर पठाए व्यवसायीलाई राहत हुने बताए ।
‘कन्टेनर डेवानमा ७ वटा आएको छ , अब संख्या बढाउँदै पहिले जस्तै गरी आयात हुन थाले राम्रो हुन्छ हैन भने यस्ते सास्तीमा व्यवसाय गर्न सकिँदैन,’ रेग्मीले भने ।
रसुवाको सट्टा तातोपानी नाकाबाट ल्याउने सामानहरु आइसकेका छन् । केरुङमा अझै थुप्रै संख्यामा कन्टेनर रोकिएको उनको दाबी छ ।
हरेक वर्ष चीनले लोसारका बेला २० दिन नाका बन्द गर्ने गरेको छ । यो समान्य हुने गरे पनि नाका खुलेपछि सामान थोरै पठाउनु सामान्य नभएको उनले बताए ।
उनले यो वर्ष कोभिडका कारणले विगत वर्षदेखिनै रोकिएका सामान नआएका र १/१ वर्ष रोकिँदा व्यवसायीहरुले सास्ती भोग्नु परेको गुनासो गरे । ‘सधैं ल्होसारमा नाका बन्द हुने गर्थ्यो तर, यो वर्ष कोरोना भन्दै १ वर्ष बन्द भयो यसले गर्दा धेरै व्यवसायीलाई असर पुर्याएको छ,’ रेग्मीले भने ।
उनले यो वर्ष नयाँ लुगा कुनै पनि नआएको बताए । पुरानै कपडा, मालसामान आउन नसकेको अवस्थामा नयाँ मगाउँनु बेर्थ रहेको हुँदा आयात नगरिएको उनले बताए । ‘यो वर्ष व्यवसायीहरुले नयाँ सामान हालेकै छैनन्, मलाई थाहा भएसम्म पुरानै मगाएको सामान आएको छैन, थप नयाँ ल्याएर फेरी १ वर्ष रोकियो भने को जिम्मेवार?,’ रेग्मीले भने ।
माघ २९ गतेबाट ल्होसारका लागि नाका बन्द गरिएको थियो । सामान्य अवस्थामा बिहान ८ बजे नाका खुल्ने र चिनियाँ कन्टेनरहरुले सामान ल्याएर नेपालतर्फ छोड्ने गरेको थियो । नेपाली व्यवसायीले खरिद गरेका झण्डै ४०० कन्टेनर सामान अझै नेपाल आउन बाँकी रहेको जनाइएको छ ।
फलफूल लगायतका कुहिने सामानहरु नाकाबाट पठाउन थालिए पनि लत्ता कपडा लगायतका रेडिमेड सामानहरु अझै बाँकी रहेका छन् ।
ल्होसार बिदाकै कारण केही व्यवसायीको जाडोका लुगा समेत अड्किएको व्यवसायी बताउँछन् ।
तातोपानी नाकाबाट भने सामान आइरहेको छ । तातोपानी नाका खुल्ला हुँदा सामान ल्याउन केही समज भएको व्यवसायी बताउँछन् ।
ल्होसार कै कारण माघ मसान्तदेखि बन्द तातोपानी नाका भने फागुन ८ गते खुलेको थियो ।
तातोपानी नाकाबाट रासायनिक मल आयात
तातोपानी नाकाबाट पछिल्लो समय रासायनिक मल आयात भएको भन्सार कार्यालयले जनाएको छ । ल्होसारपछि नाका पुनः सञ्चालनमा आएयता दैनिक सात चिनियाँ कन्टेनर नेपाल भित्रिने गरेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । उनका अनुसार सात कन्टेनरमध्ये पाँच कन्टेनरमा रासायनिक मल आयात भएको छ ।
लामो समयसम्म बन्द रहेको तातोपानी नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनः सञ्चालनमा आएको हो । नाका पूर्णरूपमा सञ्चालनमा आए पनि चिनियाँ पक्षको अवरोधका कारण न्यून मात्रामा तातोपानी नाकाबाट सामग्री भित्रिने गरेको व्यवसायीले गुनासो गर्दै आएका छन् ।
निर्यात ठप्प
रसुवागढी र तातोपानी नाकाबाट न्यून मात्रामा आयात हुँदै आए पनि निर्यात भने ठप्प छ । रसुवागढी नाकाबाट गत वर्षको चिनियाँ ल्होसारदेखि नै निर्यात बन्द भए पनि हालसम्म पुनः सञ्चालन हुनसकेको छैन ।
चिनियाँ सामग्री आयातमा अवरोध गर्दै आएको चिनियाँ पक्षले निर्यातमा कुनै पहल नगरेको रसुवागढी भन्सार प्रमुख रेग्मी बताउँछन् । ‘हामीले विभिन्न समयमा निर्यातको पहल गर्दै आएका छौँ तर चिनियाँ पक्षले चासो नदेखाउँदा एक वर्षदेखि निर्यात बन्द भएको छ,’ उनले भने । रसुवागढी नाकाबाट एक वर्षदेखि निर्यात बन्द भए पनि भूकम्पपछि तातोपानी नाकाबाट निर्यात ठप्प छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।