काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरुमा शुभकामना व्यक्त गरेका छन् ।
सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरेका छन् ।
‘शहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन्, महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता हो, हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो, हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो’, उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
हिंसा सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि भएको बताउँदै सभापति देउवाले कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहने र महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्याउनेछ भन्ने विश्वास लिएका छन् । पार्टी तथा राज्यका हरेक तहमा महिलाको उचित प्रतिनिधित्व र सहभागिता रहनु पर्दछ भन्नेमा कांग्रेस विश्वास राख्ने बताउँदै उनले आफ्नो पार्टीको आफ्नो विधानमा वडादेखि केन्द्रसम्मका सबै तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको कांग्रेसले सुनिश्चितता गरेको जानकारी गराएका छन् ।
नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीहरुले आफ्नो प्राणको आहुति दिएको उल्लेख गर्दै सभपाति देउवाले उनिहरुप्रति उच्च सम्मान प्रकट गरेका छन् । आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र संवर्द्धनका लागि पनि महिलाको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने सभापति देउवाले विश्वास व्यक्त गरेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।