काठमाडौं । संसद सचिवालयले बुधबारदेखि संघीय संसदका दुवै सदनका सांसदहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था मिलाएको छ।
खोप लगाएकाले मात्र संसद भवनमा प्रवेश पाउने पनि सचिवालयले जनाएको छ। सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले सांसदहरूलाई बुधबारदेखि शुक्रबारसम्म खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिए।
सांसद्सँगै संसद सचिवालयका कर्मचारी, मर्यादापालक (सुरक्षाकर्मी) र सांसद तथा मन्त्रीका अंगरक्षकसहित करिब एक हजार जनालाई खोप लगाइनेछ।
खोप लगाउने व्यवस्था संसद भवन नजिककै रहेको नेपाल निजामती अस्पतालमा मिलाइएको छ। खोप लगाएकालाई मात्रै प्रवेश दिइने भन्दै सचिवालयले सबै सांसद, कर्मचारी र सुरक्षाकर्मीलाई तोकिएको खोप केन्द्रमा पुगी खोप लगाउन अनुरोध गरेको छ।
सचिवालयका अनुसार अधिकांश सांसद ५५ वर्ष माथिका छन्। सरकारले ५५ वर्ष माथिका सर्वसाधारणलाई फागुन २३ गतेबाट खोप लगाउने व्यवस्था पनि गरिसकेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।