add

कछुवाको गतिमा मध्यपहाडी लोकमार्ग, १३ वर्षमा आधा मात्र काम पूरा






ActPro Nepal

|

१५ फागुन, २०७७

|
978

काठमाडौं । हाल देशभर करिब २ दर्जन राष्ट्रिय गौरव आयोजनाहरु निर्माणधीन अवस्थामा रहेका छन् । अधिकांश आयोजनाको काम शुरु भएको दशक बिते पनि हालसम्म कुनै पनि सम्पन्न हुन सकेका छैनन् । अधिकांशको गति कछुवाको गतिमा छ ।

यस्तै, लक्ष्य अनुसार काम हुन नसक्ने रोगबाट गुज्रिएको एउटा आयोजना हो पुष्पलाल (मध्य पहाडी) लोकमार्ग । निर्माण शुरु गरेको १३ वर्ष बिते पनि आयोजनाको कामले अझै गति लिन सकेको छैन । आर्थिक वर्ष २०७९/८० सम्ममा सडक निर्माण पूरा गर्ने लक्ष्य रहे पनि हालसम्म आधामात्र काम सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०६४/६५ देखि निर्माण शुरु गरिएको मध्यपहाडी लोकमार्गको हालसम्म ५४.५० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । निर्माण अवधि ३ वर्ष मात्र बाँकी रहेकाले समयमै सडक निर्माण पूरा हुन असम्भव जस्तै देखिन्छ ।

सडक विभागका सूचना अधिकारी रमेक कुमार सिंहका अनुसार हालसम्म सो आयोजना अन्तर्गत ९२८ किलो मिटर सडक कालोपत्र भएको छ । कुल १ हजार ८७९ किलो मिटर लम्बाइ रहेको पुष्पलाल लोकमार्ग आयोजनाको ४६६ किलोमिटर सडक आयोजना आफैले कालोपत्र गरेको हो भने ४६२ किलोमिटर सडक अन्य आयोजना अन्तर्गत भएका हुन् । आयोजना अन्तर्गत १२९ पुल रहेका छन् । सो मध्ये ८४ वटा पुल निर्माण सम्पन्न भएको छ ।

आयोजना अन्तर्गतका ६३० किलोमिटर सडक निर्माणाधिन अवस्थामा रहेका छन् । अन्य ३२१ किलोमिटर सडकको ठेक्का व्यवस्थापन हुन बाँकी रहेको छ ।

हालसम्म साढे ५६ अर्ब खर्च

उनले हालसम्म आयोजना अन्तर्गत ५६.११ प्रतिशत वित्तीय प्रगति भएको छ । सो रकम ५६ अर्ब ५६ करोड रुपैयाँ हुन आउछ । चालू आर्थिक वर्षका लागि पुष्पलाल लोकमार्ग निर्माणमा ८ अर्ब ३ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । हालसम्म २ अर्ब ७२ करोड ५२ लाख ५० हजार रुपैयाँ खर्च भइसकेको सडक विभागले जनाएको छ । सो बजेट अन्तर्गत अझै ५ अर्ब ३० करोड ९२ लाख रुपैयाँ खर्च हुन बाँकी रहेको छ ।

चालू आर्थिक वर्षमा आयोजनाका लागि थप ४ अर्ब बजेट माग गरिएको सूचना अधिकारी सिंहले बताए । ‘यो वर्षका लागि पुष्पलाल राजमार्गमा ४ अर्ब रुपैयाँ बजेट माग गरिएको छ, भुक्तानी बाँकी रहेकाले वित्तीय प्रगति काम देखिएको हो,’ सिंहले चाणक्य पोष्टसँग भने । आयोजनाको कुल लागत बजेट १ खर्ब १ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको छ ।गत आर्थिक वर्ष २०७६/७७ मा १०० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेकोमा जम्मा ४२ किलोमिटर सडक कालापत्र भएकोे थियो । गत आवमा ३५ किलोमिटर सडक ग्राबेल गरी १२ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । ग्राबेल लक्ष्यभन्दा बढी हुन गए पनि सो खण्डमा गत आवमा २ वटा मात्र पुल निर्माण सम्पन्न भएको हो ।

गत आर्थिक वर्षमा सो सडक निर्माणका लागि ३ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो बजेट मध्ये गत आवमा २ अर्ब ६३ करोड ६२ लाख रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षका लागि ८ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.