काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको छ ।
विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा आठ खर्ब रूपैयाँभन्दा बढीको आयात भएको छ । विभागले सार्वजनिक गरेको सात महिनाको (साउनदेखि माघ मसान्तसम्म) तथ्यांकअनुसार आठ खर्ब तीन अर्ब ६४ करोड रूपैयाँ बढीको आयात भएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव शून्य एक प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा आठ खर्ब तीन अर्ब रूपैयाँ बढीको आयात भएको थियो । यसैगरी सात महिनाको अवधिमा ६९ अर्ब ९१ करोड ७० लाख रूपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अबधिको तुलनामा ७.६१ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।
गत आवमा सोही अवधिमा ६४ अर्ब ९७ करोड १२ लाख रूपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्यांकअनुसार यो वर्ष व्यापार घाटामा शून्य दशमलव ६६ प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ र निर्यातको हिस्सा आठ प्रतिशत छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.५७ प्रतिशतले घटेको छ ।
विभागको तथ्यांकअनुसार सात महिनामा आठ खर्ब ७३ अर्ब ५६ करोड रूपैयाँ बराबरको वैदेशिक व्यापारबाट नेपालले सात खर्ब ३३ अर्ब ७२ करोड रूपैयाँ घाटा बेहोरेको छ ।
अघिल्लो आवको यसै अवधिको तुलनामा ५.८० प्रतिशतले गिरावट हो । गत माघमा मात्रै गत आव भन्दा ३१ प्रतिशत बढीको वस्तु आयात भएको छ । गत वर्षको माघमा एक खर्ब आठ अर्ब ९० करोड रूपैयाँको आयात भएकामा यो माघमा एक खर्ब ४२ अर्ब ३९ करोड रूपैयाँको आयात भएको हो ।
कुन महिना कति आयात ?
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा ८५ अर्ब ८० करोड रूपैयाँ, भदौमा ९३ अर्ब चार करोड रूपैयाँ र असोजमा एक खर्ब १३ अर्ब ४३ करोड रूपैयाँ बराबरको विदेशी वस्तुका आयात भएको थियो ।
यसैगरी कात्तिकमा एक खर्ब १० अर्ब २२ करोड रूपैयाँ, मंसिर महिनामा एक खर्ब २३ अर्ब एक करोड रूपैयाँ, पुसमा एक खर्ब ३५ अर्ब ७४ करोड रूपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । हालसम्मकै धेरै माघ महिनामा एक खर्ब ४२ अर्ब ३९ करोड रूपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ ।
सात महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । सात महिनामा ३९ अर्ब ७० करोड रूपैयाँभन्दा बढीको डिजेल आयात भएको छ । गत पुसमा ३२ अर्ब ९३ करोड रूपैयाँभन्दा बढीको डिजेल आयात भएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।