add

प्रधानमन्त्रीसँग उपराष्ट्रपति र सभामुखको बोलचाल नै बन्द






ActPro Nepal

|

४ फागुन, २०७७

|
1088

काठमाडौं ।  संवैधानिक निकाय प्रमुख र सदस्यहरुको राष्ट्रपति भवनमा भएको सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा राष्ट्रपतिले वसन्त श्रवण गर्ने कार्यक्रममा भने सहभागी भएका छन् । 

परम्परा अनुसार मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त श्रवण गर्न वसन्तपुर पुगेकी थिइन् । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित भएका थिए। 

वसन्त श्रवणका लागि सभामुख, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिको आसन आयोजकले लहरै राखेका थिए।  सभामुख र उपराष्ट्रपतिको बीचमा प्रधानमन्त्री ओलीको कुर्सी थियो। 

आसनमा सुरुमा सभामुख सापकोटा बसेका थिए। त्यसपछि प्रधानमन्त्री ओली पुगे। जहाँ सभामुखले प्रधानमन्त्रीलाई उठेर नमस्कार गरे। तर नमस्कार औपचारिकताको मात्रै!  सभामुखको नमस्कारलाई ओलीले सकेसम्म छल्न वा नदेखेको झैँ गर्न खोजे। नमस्कार त फर्काए तर उनले सभामुखलाई नदेखेको झैँ गरेर अन्तै ध्यान केन्द्रित गरे।

त्यसपछि उपराष्ट्रपति पुन पुग्दा पनि त्यही दृश्य देखियो। नमस्कार आदान प्रदान भयो तर सकेसम्म प्रधानमन्त्री र उपराष्ट्रपतिबीच एकअर्कालाई इन्कार गर्ने कोसिस चल्यो। राष्ट्रपति आउनुअघिसम्म तीनै जनाबीच त्यहाँ बोलचालको कुनै वातावरण देखिएन। राष्ट्रपति आएपछि पनि उनीहरुबीच संवाद हुनै सकेन। 

त्यहाँ बसुञ्जेल प्रधानमन्त्रीले सभामुख र उपराष्ट्रपतिलाई छल्न कोल्टिएर भूकम्पले क्षति भइ पुनःनिर्माण भइरहेको वसन्तपुर दरबारतर्फ नजर लगाइरहे। तर तीनैजनाको मुहारमा न त कुनै मुस्कान थियो न त चमक नै। 

त्यसबीचमा उपराष्ट्रपतिले पुनले बरु आफ्नो पछाडिको सिटमा बसेका गृहमन्त्री बादल र उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग इशारा गरेर सांकेतिक कुरा गरे। राष्ट्रपति आइपुगेपछि सबैले उठेर नमस्कार गरे। तर राष्ट्रपतिको आगमनले पनि त्यहाँको वातावरण सौहार्दपूर्ण बनाएन। करिब आधा घण्टा बस्दा तीनैजनाबीच बोलचाल नै भएन।

माघ शुक्ल पञ्चमीका अवसरमा हरेक वर्ष वसन्तपुरमा वसन्त श्रवण कार्यक्रम हुने गरेको छ। नेपाली समाजमा सरस्वती पूजा, वसन्त पञ्चमी, श्रीपञ्चमी जस्ता नामले सम्बोधन हुने यो पर्वमा वसन्त श्रवणका लागि राष्ट्रप्रमुख तथा सरकार प्रमुखको समेत उपस्थिति हुने परम्परा छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.