काठमाडौं । विजय दुगड नेपाल पश्मिना उद्योग संघका संस्थापक सदस्य हुन् । यस संस्थाका विभिन्न जिम्मेवारीमा रहँदै हाल उनी यस संस्थाको अध्यक्षको भूमिकामा पुगेका छन् । विगत अढाई दशक देखि पश्मिना उत्पादन कार्यमा संलग्न रहँदै आएका उनी पछिल्ला दिनहरुमा नेपालमा पश्मिनाको कारोबार घटेको बताउँछन् ।
पछिल्लो बर्ष नेपालबाट बाह्य बजारमा निर्यात हुने पश्मिनाको कारोबार घटेको छ । यसरी कारोबार घट्नुको पछाडि नेपालबाट निर्यात हुने देशहरुमा कोभिड–१९ ले पारेको प्रतिकूल प्रभाव नै बढी जिम्मेवार रहेको उनको धारणा छ ।
नेपाली पश्मिनाको बजार
नेपालबाट निर्यात हुने पश्मिनाको मुख्य बजार युरोप हो । नेपालबाट थोरै परिमाणमा चीनमा समेत पश्मिना निर्यात हुने गर्छ । कोभिड–१९ को कारण नेपालको पश्मिना निर्यात अहिलेको लागि घटेको भएपनि यसले खासै अप्ठ्यारो पारेको छैन । जसले गर्दा नेपाली पश्मिनाको आगामी सम्भावना भने राम्राे देखिन्छ ।
अबको अवस्था
नेपालबाट पश्मिना निर्यात कार्यमा संलग्न व्यवसायीहरुले यहाँ उत्पादित पश्मिनाको बजार विस्तारको लागि निकै प्रभावकारी तवरले काम गर्दै आएका छन् । नेपालका व्यवसायीहरुको अघिल्ला बर्षहरुमा यहाँ उत्पादित पश्मिनाको बजार प्रवद्धनको लापि निकै महत्वपूर्ण भूमिका खेलेका थिए । सोहीकारण यस बर्ष नेपाली पश्मिनाको व्यापार विश्व बजारमा राम्रो हुने व्यवसायीहरुको अनुमान थियो । तर अनपेक्षित रुपमा आएको कोभिड–१९ ले यो क्षेत्रका व्यवसायीहरुलाई निराश बनाएको छ । तैपनि व्यवसाय चल्नै नसक्ने अवस्थामा भने छैन । नेपालका व्यवसायीहरुले अघिल्ला बर्षमा गरेको बजार प्रवद्धनको कारण यो बर्षको निर्यात सन्तुलनमा सहयोग पुगेको हो ।
पश्मिनाको बजार
नेपालमा उत्पादन हुने पश्मिनाको बजार बाह्य बजार मात्र होइन । यसको आन्तरिक खपत पनि छ । जुन पर्यटकीय स्थानहरुबाट बिक्री हुने गर्छ । नेपालमा घुमफिरको लागि आएका पर्यटकहरुले व्यवसायीबाट किनेर लैजाने पश्मिनाको आधिकारिक तथ्याङ्क सङ्कलन गर्न सकिएको छैन । लागत बढेको छ ।
पश्मिना उत्पादनको तथ्याङ्क
नेपालमा पश्मिनाजन्य सामाग्रीहरुको उत्पादन र निर्यात बारे यकिन तथ्याङ्क संकलन गर्न सकिएको छैन । यद्यपि नेपालमा पश्मिना उत्पादनको लागि आयात गरिने कच्चा पदार्थको बारेमा भने तथ्याङ्क सङ्कलन गर्न सकिन्छ । सोही तथ्याङ्कको आधारमा नेपालमा कति पश्मिना उत्पादन हुन्छ र निर्यात हुन्छ भन्ने अनुमान भने गर्न सकिन्छ । साथै व्यापार तथा निकासी प्रवद्धन केन्द्रले उपलब्ध गराउने तथ्याङ्कलाई पश्मिनाको सही तथ्याङ्कको रुपमा लिन सकिने अवस्था पनि छैन । उक्त संस्थाले सलको मात्र तथ्याङ्क उपलब्ध गराउँछ । स्वेटरको उत्पादन पनि उक्त तथ्याङ्कमा समेट्नु जरुरी छ । नेपालमा सल उत्पादन गर्ने र स्वेटर पनि उत्पादन गर्ने कम्पनी एउटै रहेको अवस्थामा यकिन तथ्याङ्क संकलनमा समस्या हुने गरेको छ ।
अहिलेका चुनाैती
अहिले नेपाली पश्मिनाजन्य सामानको उत्पादन लागत बढेको छ । लजिष्टिक कस्ट बढेको र न्यून सङ्ख्यामा कर्मचारीहरु राखेर सामान उत्पादन गर्नुपर्ने अवस्था रहेको कारण उद्योगीहरुको उत्पादन लागत बढ्नुलाई व्यवसायीहरुले स्वभाविक रुपमा नै लिएका छन् । यसरी नेपालमा उत्पादन भएका सामानको उच्च लागतले हाम्रो अन्तर्राष्ट्रिय बजारमा पनि केही प्रभाव पर्न सक्ने देखिएको छ । साथै अहिलेको कोभिड–१९ पछाडि नेपाली पश्मिनाको उत्पादन र बजारले कुन मोड लिने हो भनेर अझै भन्न सक्ने अवस्था छैन ।
समस्या बनेकाे जनशक्ति
पश्मिना उत्पादनको लागि अहिले सम्म क्षमतावान् जनशक्तिको उपलब्धता एउटा ठूलो समस्या बनेको छ । नेपालमा तालिमप्राप्त जनशक्ति उपलब्ध हुन नसक्दा यस क्षेत्रमा काम गर्नको लागि बाह्य बजारबाट जनशक्ति ल्याउनुपर्ने अवस्था छ ।
लागत घटाउन जरुरी छ
उत्पादन लागत कम गर्नको लागि हामीले कुनै वैकल्पिक उपाय नखोज्ने हो भने हाम्रा सामानहरु विदेशी बजारमा बिक्री गर्न गाह्रो पर्न सक्ने मेरो अनुमान छ । यस बर्ष नेपालमा उत्पादन भई बाह्य बजारमा निर्यात हुने स्वेटर लगायतका बुनाई (निटिङ)सँग सम्बन्धित सामानहरुको माग बढेको छ । उक्त वृद्धिदर करिब २७ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । समग्रमा निर्यात बजार र माग भने घटेको छ । यस्तो अवस्थामा अब हामी एकपटक सामुहिक लाभको उद्देश्यले निश्चित योजना सहित अघी बढ्नुपर्ने आवश्यकता छ । राज्यले पनि नेपाली उत्पादन बढाउन र निर्यात प्रवद्धनको लागि उपयुक्त रणनीति सहित अघी बढ्नु जरुरी छ ।
याे सामाग्री विजय दुगड नेपाल पश्मिना उद्योग संघका अध्यक्ष सँगकाे कुराकानीमा तयार पारिएकाे हाे ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।