add

कास्कीमा थपिए १० हजार मतदाता






ActPro Nepal

|

१५ माघ, २०७७

|
1225

कास्की। सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा गरेपछि कास्की जिल्लामा पनि निर्वाचनको तयारी सुरु गरिएको छ।

प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन कार्यालयले आसन्‍न निर्वाचनको तयारीस्वरुप मतदानस्थल सिफारिस, मतदाता नामावली अद्यावधिक दाबी विरोधका कार्यक्रम सञ्‍चालन तथा राजनीतिक दलसँग अन्तरक्रियाका कार्यक्रम गरिएको कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले बताए।

कास्कीमा वि.सं. २०७४ मा सम्पन्‍न प्रतिनिधिसभा निर्वाचनमा दुई लाख ५५ हजार चार सय ५४ मतदाता रहेकामा यसपटक नौ हजार नाै सय ४२ मतदाता बढेका छन्। मतदातामा पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ। महिला एक लाख ४० हजार सात सय ६१ र पुरुष एक लाख २४ हजार ३१ गरी दाबी विरोध अगाडि कूल मतदाता दुई लाख ६५ हजार तीन सय ९६ छन्।

पाँच स्थानीय तह रहेको जिल्लामा पोखरा महानगरपालिकामा दाबी विरोध अघि एक लाख ९८ हजार छ सय ६३, माछापुच्छ्रेमा १८ हजार छ सय ५४, अन्‍नपूर्णमा १८ हजार तीन सय ४९, मादीमा १६ हजार चार सय ८७ र रुपा गाउँपालिकामा १३ हजार दुई सय ४३ मतदाता छन्।

कार्यालयले निर्वाचन तयारीस्वरुप माघ १६, १७ र १८ गते जिल्लाका पाँचवटै स्थानीय तहको केन्द्रमा मतदाता नामावली उपर दाबी विरोधका कार्यक्रम सञ्‍चालन हुने जनाएको छ। मतदाता नामावलीमा त्रुटि सच्याउने, दाबी विरोध गर्ने, दोहोरो नाम भएकालाई हटाउने र मृत्यु भएकालाई मतदाता सूचीबाट हटाएर अद्यावधिक मतदाता नामावली तयार गरिने कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। अन्तिम मतदाता नामावली निर्वाचन आयोगले फागुन पहिलो साता प्रकाशित गर्नेछ।

जिल्लामा यस पटक मतदानस्थल र केन्द्र थप गरिएको छैन। साविकको एक सय ५० मतदानस्थल र तीन सय १७ मतदान केन्द्रलाई यथावत् राखी केही मतदानस्थलको स्थानमात्र सारिएको न्यौपानेले बताए।

उनले भने, “विगतमा तोकिएका मतदानस्थल र केन्द्रलाई यथावत् राखिएको छ, सङ्ख्या थप्‍न सिफारिस भएको छैन। निर्वाचन आयोगले पछि मतदाता सङ्ख्या हेरेर मतदानस्थल र केन्द्र थपघट गर्न सक्दछ।”

पोखरा महानगरपालिकामा ९८ मतदानस्थल र दुई सय ३० मतदान केन्द्र छन्। यसैगरी मादीमा १७ मतदानस्थल र २५ मतदान केन्द्र, अन्‍नपूर्णमा १५ मतदानस्थलमा २३ केन्द्र, माछापुच्छ्रेमा १२ मतदानस्थल र २३ केन्द्र र रुपा गाउँपालिकामा आठ मतदानस्थल तथा १६ मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ। रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.