काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ‘ई-सेवा’ १२औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २५ जनवरी २०१० देखि सेवा सुरु गरेको ई-सेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्त्वपूर्ण माध्यम बन्न सफल भएको छ ।
१२औँ वर्षमा प्रवेश गर्दैगर्दा हालसम्म ई-सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको ई-सेवाले जानकारी दिएकाे छ । त्यसैगरी, अप्रत्यक्ष रूपमा करिब १ करोड ५० लाख जनसंख्याले ई-सेवामार्फत सेवा लिइरहेका छन् ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई-सेवाका देशभर करिब १ लाख भन्दा बढी एजेन्ट (ई-सेवा जोन तथा पोइन्ट) छन् भने मर्चेन्टको संख्या १ लाख ८५ हजार नाघिसकेका छन् ।
१२औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ई-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘कुराकानीका लागि मात्र सीमित भएको मोबाइललाई हामीले वित्तीय कारोबार गर्ने महत्त्वपूर्ण माध्यम बनाउन सफल भएका छौँ । आगामी दिनमा हामीले ई-सेवालाई भुक्तानीका लागि मात्र नभएर आर्थिक कारोबारको वान स्टप सोलुसनका रूपमा विकास गर्दै लैजानेछौँ ।’
तीन जना युवाको परिकल्पनाबाट सुरु भएको एफवानसफ्ट कम्पनीअन्तर्गत ई-सेवासँगै करिब एक दर्जन कम्पनी सञ्चालनमा छन् । यस ग्रुपले अहिले १ हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी दिन सफल भएको छ ।
ई-सेवाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक काम पनि गर्दै आएको छ । कम्पनीले हालसम्म विभिन्न विद्यालयलाई डिजिटल बनाउने उदेश्यले करिब ६ सयवटा कम्प्युटर वितरण गरिसकेको छ भने ई-लाइब्रेरी स्थापना, नि:शुल्क रूपमा अत्याधुनिक किसिमका शैक्षिक सफ्टवेयरसमेत वितरण गरेको छ ।
यस्तै, नेपालको खेलक्षेत्रको विकासका लागि विभिन्न किसिमका सहयोग, खेल तथा खेलाडी प्रायोजन तथा अन्य विभिन्न सामाजिक गतिविधिसमेत गर्दै आएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।