काठमाडौं । नेपाल वितरक संघ काठमाडौंको पश्चिम क्षेत्रीय भेला शनिवार काठमाडौंको हलचोक स्थित स्टार बैंक्वेटमा सम्पन्न भएको छ ।
नेपाल वितरक संघ, काठमाडौंका अध्यक्ष राजेन्द्र्र सिंखडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त भेलामा वितरण पेशामा संलग्न ठूलो संख्याका व्यवसायीहरु सहभागि थिए ।
नेपाली वितरक व्यवसायीहरुको अवस्था, यस क्षेत्रका समस्याहरु एवं ती समस्या समाधानको लागि व्यवसायी एवं राज्य पक्षले निर्वाह गर्नुपर्ने भूमिकाको सम्बन्धमा व्यापक चर्चा भएको छ ।
कार्यक्रममा नेपाल वितरक संघका सल्लाहकार न्हुक्षेनारायण मानन्धर सहित पदाधिकारीहरु राजेन्द्र सिंखडा, लव कुमार श्रेष्ठ, रामहरि घिमिरे, यमनाथ पौडेल, नवराज दाहाल लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा धारणा राख्ने क्रममा वक्ताहरुले व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनको लागि व्यवसायीहरु कानुनी प्रावधान बमोजिम नै व्यावसायिक गतिविधिहरुमा संलग्न हुनुपर्ने र कर तथा नीतिगत व्यवस्थाको सम्बन्धमा जानकार हुनुपर्ने धारणा राखेका थिए ।
सरकारी दण्ड जरिवानाबाट बच्न व्यवसायी आफैं सचेत हुनुपर्ने, ड्यामेज र एक्सपायरी सामानहरु तुरुन्तै नष्ट गर्नुपर्ने, बिलविजक जारी गर्नुपर्ने, व्यवस्थित रुपमा कारोवार गर्नुपर्ने र आफूले पूरा गर्नुपर्ने दायित्व पूरा गर्नुपर्नेमा सबैजसो वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रमको सहजीकरण नेपाल वितरक संघका सदस्य लोकेश्वरमान जोशीले गरेका थिए । कार्यक्रमका सभापति पश्चिम क्षेत्रीय संयोजक सुरेश ढुंगाना रहेका थिए ।
कार्यक्रममा वक्ताहरुले वितरक व्यवसायीहरुले यस क्षेत्रका विभिन्न उतारचढावहरु नेपाल वितरक संघको पहलमा समाधान भएका र आगामी दिनमा पनि संघले अझ सशक्त भूमिका निर्वाह गर्ने बताएका थिए ।
स्मरण रहोस्, नेपाल वितरक संघ वितरण व्यवसायमा संलग्न व्यवसायीहरुलाई संगठित गरी व्यावसायिक हकहितको उद्धेश्यले स्थापना भएको संस्था हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।