Right side from logo

नेपालको अनलाइन कक्षा र कागजविहीन संसारको परिकल्पना : डा. गोकर्ण ज्ञवाली




ActPro Nepal

303

2021 Jan 12








डा.गोकर्ण ज्ञवाली उप-प्राध्यापक, त्रि.वि.

कोभिड–१९ को विश्वव्यापी महामारीले सबै  भन्दा बढी असर गरेको क्षेत्र हो शिक्षा । यो महामारीले विश्वका दुइ सय सोह्र मुलुकका एक अर्ब ५४ करोड भन्दा बढी बालबालिका र युवायुवतीलाई स्कुल कलेज बाहिरै रहन बाध्य बनाएको छ । युनिसेफ (२०२०) को प्रतिवेदनअनुसार यो संख्या विद्यालय र कलेजमा भर्ना भएका विश्वभरका करिब ९० प्रतिशत विद्यार्थीको हो । राष्ट्र बैंकले हालै ७७ जिल्लामा गरेको अध्ययन र सो क्षेत्रका जिल्ला शिक्षा कार्यालयहरूबाट प्राप्त शैक्षिक सत्र २०७५/७६ को तथ्यांकअनुसार नेपालमा सरकारी (सामुदायिक) विद्यालयको संख्या र विद्यार्थी संख्या घट्दै गएको भएपनि कोविडको असर यिनीहरुमा झन् बढी देखिएको छ  ।

हाल नेपालमा सरकारी (सामुदायिक) र संस्थागत (निजी) गरी कुल विद्यालय संख्या उच्च माविसहित २९ हजार ९ सय २६ रहेको अध्ययनमा उल्लेख छ । यसमध्ये २२ हजार १ सय २१ सामुदायिक र ७ हजार ८ सय ५ संस्थागत विद्यालय रहेका छन् । त्यस्तै गरि उच शिक्षा तर्फ देशमा अहिले भर्खरै खुलेको राजश्री जनक र खुला विश्वविद्यालय समेत गरी ११ विश्वविद्यालय र ६ वटा विश्वविद्यालयस्तरका स्वायत्त प्राज्ञिक संस्था छन् । जसअन्तर्गत १३७ आंगिक क्याम्पस, ५०८ सामुदायिक र ७८० निजी क्याम्पस गरी कुल १ हजार ४२५ क्याम्पस रहेका छन् । विगत केही वर्षयता साधारण शिक्षाको तुलनामा प्राविधिक शिक्षा लिने विद्यार्थीको संख्या बढेको छ जसको कारण प्राविधिक शिक्षालयहरूको संख्यामा पनि निरन्तर बृद्धि भैरहेको छ ।  जसको कारणले हाल प्राविधिक शिक्षालयहरूको संख्या १५ प्रतिशतले वृद्धि भई ५ सय ५१ पुगेको छ, जसबाट कुल ६१ हजार ९ सय ७७ जनाले प्राविधिक शिक्षा प्राप्त गर्न सक्ने देखिन्छ ।  शिक्षा मन्त्रालय को २०७६ तथ्यांक अनुसार, मुलुकको सामुदायिकतर्फ प्राथमिक तहमा १,०२,३८७, निम्नमाध्यमिक तहमा २४,८६४, माध्यमिक तहमा १८,३५८ र उच्च माध्यमिक तहमा ६,००० शिक्षक छन् । विद्यालय तहको कक्षा १ देखि १० सम्म हाल कार्यरत शिक्षक संख्या १,४५,६०९ छन् । यो तथ्यांकमा पछिल्लो अवधिमा केहि परिवर्तन आइ शिक्षक र विधार्थीको संख्यामा पनि ठुलो परिवर्तन आएको देखिन्छ ।

त्यस्तै गरि , विश्वविद्यालय अनुदान आयोगको रिपोर्टअनुसार स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको कुल संख्या तीन लाख ६४ हजार सात सय २९ छन् भने स्नातकोत्तर तहमा कुल ५६ हजार तीन सय चार विद्यार्थी रहेका छन् । यसैगरी, एमफिलमा छात्र सात सय ५८ र छात्रा एक सय ५८ छन् र  पिएचडी अध्ययन गर्ने छात्र एक हजार पाँच सय ८४ रहेकामा छात्राको संख्या भने तीन सय २२ मात्र छ । यी सबै संस्था र विद्यार्थी कोभिड – १९ को चपेटामा पर्दा उच्च शिक्षाका करिब ७ लाख विद्यार्थी पठनपाठनबाट प्रभावित भएका छन् । यी सबै विधार्थी र शिक्षक तथा त्यहा कार्यरत कर्मचारी को ठुलो संख्या पनि कोभिड को प्रभावले घरमै रहन वाध्य रहेको छ । विश्व विधालयमा निर्भर यो ठुलो जमातलाइ कोभिड यो अवसरमा विश्व विधालयले कुनै काम दिन सकेको देखिदैन र ठुलो शैक्षिक जनशक्तिलाइ कार्य विहिन पारिएको अवस्था रहेको छ ।

इन्टरनेटको पहुँच

इन्टरनेट वर्ल्ड स्टाटको सन् २०२० अक्टुबर सम्मको तथ्यांक अनुसार विश्वमा ४.६६ विलियन मानिसहरुले अर्थात् विश्वको ५९ प्रतिसत जनसंख्याले इन्टरनेटको प्रयोग गर्दछन । यो मध्ये विकासोन्मुख रास्त्रमा ४७ % र विकसित रास्त्रमा ८६.६ % ले इन्टरनेटको प्रयोग गर्दछन । यी इन्टरनेट प्रयोगकर्ता मध्ये ९१ प्रतिसत मानिसहरुले मोबाइल इन्टरनेटको प्रयोग गरेका छन् ।  त्यस्तै गरि  अन्तरास्ट्रिय दुरसंचार संघ का अनुसार, विश्वको कुल  जनसंख्या मध्ये एशिया – ५१ % , युरोप – ८२.५  %, अफ्रिका – २८.२  %, अमेरिका – ७७.२  % , अरब – ५१.६  %, अस्ट्रेलिया- ८६.५%  र कमन वेल्थ  – ७२.२  % ले मात्र इन्टर नेटको प्रयोग गर्दछन l साउथ एसियामा भारत – ५४.४०% , बंगलादेश-६२.७%, पाकिस्थान – ४०.९%, श्रीलंका – ३४.११% लगायतका विभिन्न देशहरुमा इन्टरनेटको पहुँच राम्रै रहेको छ जसले यो कोभिडको महामारीमा शैक्षिक गतिविधिहरुलाई निरन्तरता दिन सफल रहेका छन् ।

नेपालको सन्दर्भमा पनि यो तथ्यांक त्यति धेरै फरक रहेको छैन तर इन्टरनेट पहुचको हिसाबले नेपाल यी रास्ट्रको तुलनामा अलि अघि नै रहेको छ । नेपाल दूरसंचार प्राधिकरणको २०७६ पुस महिनाको एमआईएस रिपोर्टअनुसार नेपालमा जनसंख्याको अनुपातमा मोबाइल फोन १४३ प्रतिशत छ भने ब्रोडब्यान्ड इन्टरनेट ७२ प्रतिशत छ । हालैमात्र सेयरकास्ट इनिसियटिभ नेपालले गरेको नेपाल मिडिया सर्वेक्षण, २०१९ का अनुसार ९६ प्रतिशत घरपरिवारसँग मोबाइल फोन सुविधा छ र तीमध्य ६१ प्रतिशतले स्मार्ट फोन प्रयोग गर्छन् । यस्तै ५९ प्रतिशतले मोबाइल फोनबाट इन्टरनेट चलाउँछन् र ३४ प्रतिशतले ब्रोडब्यान्ड र वाईफाई प्रयोग गर्छन् । युट्युब प्रयोगकर्ता गत वर्षभन्दा दोब्बर हुन पुगेको छ भने रेडियो र टेलिभिजनबाट सूचना लिने करिब ५० प्रतिशत छन्। सन् २०२० को मे सम्ममा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या १६, १९०, ००० रहेको छ । मोबाइल डाटाको प्रयोग सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश (८० प्रतिशत) र प्रदेश २ मा (७६ प्रतिशत) हुने गरेको देखिन्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा युट्युब कम प्रयोग भएपनि रेडियोमार्फत क्रमशः ७५ र ६२ प्रतिशतले सूचना लिन्छन् ।

आगामी युग भनेको आधुनिक प्रविधिको युग हो जसलाई कोभिड्को महामारीले झन् प्रविधि मैत्री बनाउन मद्त गर्यो । डिजिटल रिभोलुसन भनिएको आगामी शताब्दीको तयारीको लागि सामाजिक जीवनका सम्पूर्ण क्षेत्रमा आमुल परिवर्तन हुन शुरु भएको समेत छ । विश्वका ठुला ठुला विश्व विद्यालयहरुले आफ्नो शिक्षा प्रणालीलाई त्यहि अनुरुप विकसित गर्ने तयारी पनि गरिरहेका छन् । नेपालमा पनि दुर शिक्षा प्रणाली, खुला विश्व विद्यालय आदिले आफ्नो शिक्षा प्रणालीलाई आधुनिक प्रविधि मैत्री बनाउन विभिन्न तौर तरिका अवलंबन गरि रहेका छन् ।

सूचनाका लागि रेडियो सुन्ने श्रोता २९ प्रतिशत छन् भने ग्रामीण भेगका बासिन्दाले सहरमा बसोबास गर्नेलाई फेसबुक प्रयोगमा १.१ प्रतिशतले उछिनेको देखिन्छ । यसले के सावित गर्दछ भने नेपालमा इन्टरनेट प्रयोग गर्ने जनसंख्या अत्यधिक रहेको छ तर त्यो शिक्षा मा भन्दा फेसबुक र युट्युबमा मात्र सिमित रहेको छ जसलाई कोभिड को वेलामा शिक्षा लिने माध्यमको रुपमा प्रयोग गर्न सकिन्थ्यो तर त्यो भएन र यसका पछाडी धेरै कारणहरु रहेका छन् ।

अनलाइन कक्षा

अनलाइन शिक्षा भन्नाले सामान्यता इन्टरनेटको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्ने तरिका वा विधि भन्ने बुझिन्छ । यसलाई  दुर शिक्षाकै एक आयामको रुपमा पनि लिइन्छ । विकसित देशका धेरै विश्वविद्यालयहरुले कोभिड पुर्व नै अनलाईन कक्षा राम्रै गतिमा चलाएका थिए जसलाई कोभिड को समयमा झन् परिस्कृत गरि चलाइयो । दक्षिण एसियाका विभिन्न देशहरुले कोभिड को समयमा अनलाइन कक्षा अत्यन्तै राम्रो तवरले चलेका छन् । भारतले कोभीड–११ महामारीलगत्तै दीक्षा, ई–पाठशाला  ‘इलर्निङ’ प्रणाली अभ्यासमा ल्याएर देश भरि नै अनलाइन कक्षालाइ  भौतिक कक्षाको विकल्पमा प्रयोग गर्न सकिने उदाहरण प्रस्तुत गर्यो ।  भुटानको शिक्षा मन्त्रालयले एकदेखि बाह्र कक्षाका विद्यार्थीका लागि टेलिभिजन तथा युट्युबमार्फत ‘इलर्निङ’ कार्यक्रम सञ्चालनमा ल्यायो र भुटान टेलिकम र टासीसेल दूरसंचार कम्पनीले विद्यार्थीहरुका लागि थप डाटा पनि उपलब्ध गराउँदै आएका छन् ।  पाकिस्तानले शैक्षिक संस्थानहरुलाई शैक्षिक व्यवस्थापन प्रणाली प्रयोग गरी अनलाइन कक्षा संचालन गरिरहेको छ भने बंगलादेशले पनि देशभर अनलाइन कक्षा संचालन गरिरहेको  छ ।

नेपालमा पनि शिक्षा मन्त्रालयले सबै शैक्षिक संस्थाहरुलाई अनलाइन कक्षा संचालनका लागि निर्देशन दिएको छ । जसलाई निजी विद्यालय , कलेज , विश्वविद्यालय आदिले हाल अवलम्वन गर्दै आइरहेका छन् । देशकै सबैभन्दा ठूलो सरकारी विश्वविद्यालय  त्रिभुवन विश्वविद्यालयले पनि अनलाइन कक्षालाइ वैशाख १० गते संचालन गर्ने निर्णय गर्यो । यसलाई विश्वविद्यालयको कार्यकारी परिषदबाट विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालनसम्बन्धी निर्देशिका, २०७७ मार्फत कार्यन्वयन गरिएको छ, जसमा कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालन चरण, आचार संहिता र कारबाहीबारे व्यवस्था गरिएको छ ।

नेपालजस्तो भौगोलिक र आर्थिक विविधता भएको देशमा सूचना तथा संचार प्रविधिमार्फत ‘इ–लर्निङ’ अथवा अनलाइन कक्षाहरु सफलतापूर्वक संचालन गर्न निकै चुनौतीपूर्ण छ तर असम्भव भने छैन । हाल त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय , पुर्वान्चल , पोखरा , पश्चिमान्चल सुदूरपश्चिम विश्वविद्यालय र विभिन्न निजी क्याम्पसहरुले समेत विभिन्न संकायमा अनलाइन कक्षा सञ्चालन गरेका छन् । कतिपय विश्वविद्यालयहरुले निर्णय गरेरभन्दा पनि अनौपचारिक रुपमा विभिन्न संकाय एवं कार्यक्रममा यस्तो कक्षा सञ्चालन हुने गरेका छन् । सरकारले अनलाइन कक्षा सञ्चालन गर्न ६ बुँदे जरुरी निर्देशन दिँदै एकदेखि बाह्र कक्षासम्मका विद्यार्थीका लागि टेलिभिजनमार्फत कक्षा संचालनमा ल्याएको छ । नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयहरुबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायहरुसँग परामर्शको आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिश गरिएका मोबाइल नम्बरहरुलाई विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दरमा डाटा सेवा उपलब्ध गराउन विशेष ई–शिक्षा प्याकेज ल्याएको छ  । ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रिजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने छ । यी सुविधाहरुले  अनलाइन कक्षालाई संचालन गर्न निकै सघाउ पुराएको पनि छ तर उपर्युक्त नीति र त्यसको कार्यान्वयन पक्ष कमजोर भएकोले यसमा सुधार भने हुन सकेको छैन ।

अनलाइन कक्षाको आवश्यकता र यसको भविष्य

विभिन्न वैज्ञानिक र विज्ञानको नविन आविष्कारहरुले भविष्यमा विद्यालय र विश्वविद्यालय  तहका वर्तमान खाले  शिक्षाको औचित्यता समाप्त हुने भविष्यवाणी गरेका छन् । उनीहरुले भविष्यको दुनियाँ पुस्तक विनाको , भौतिक रुपले हुने विद्यालय र विश्वविद्यालय  बिनाको र कागज बिनाको हुने (Paperless world) र यसलाई आधुनिक प्रविधि मार्फत विस्थापित गरिने उल्लेख गरेका छन् । यो खाले शिक्षाले समय , पैसा , कार्य क्षेत्र र प्रशासनिक झन्झट अन्त्य गरि सहज ढंगले शिक्षा लिने र दिने वातारण बन्ने विश्वास गरिएको छ जसका लागि इलेक्ट्रोनिक डकुमेन्ट को निर्माण, इ-ब्यस्बस्थापन प्रणाली, डाटाबेस प्रणाली, वर्कफ्लो प्लेटफर्म, इ-मेल, डिजिटल हस्ताक्षर र वेबसर्भरको विकास द्रुत गतिमा भैरहेको मानिन्छ ।

टेस्लाका प्रमुख इलन मस्कले त केही वर्षमै शिक्षाको यो तरिका मात्र नभएर भाषाको उपयोगिता नै समाप्त हुने अनुमान गरेका छन् । उनको न्युरो टेक्नोलोजीसम्बन्धी कम्पनी न्युराटेकले मानिसको दिमागमा चिप राख्ने प्रविधिको विकास गरिरहेको र त्यसले चिप्स मार्फत ज्ञान एक व्यक्तिबाट अर्कोमा सजिलै सार्न सकिने र त्यसको प्रयोगले बोल्नुपर्ने आवश्यकतै नरहने उनको भनाइ छ । यो प्रविधिलाई स्वास्थ्य, शिक्षा र अन्य विभिन्न क्षेत्रमा प्रयोग गर्न सकिने उनको धारणा रहेको छ । आगामी युग भनेको आधुनिक प्रविधिको युग हो जसलाई कोभिड्को महामारीले झन् प्रविधि मैत्री बनाउन मद्त गर्यो । डिजिटल रिभोलुसन भनिएको आगामी शताब्दीको तयारीको लागि सामाजिक जीवनका सम्पूर्ण क्षेत्रमा आमुल परिवर्तन हुन शुरु भएको समेत छ । विश्वका ठुला ठुला विश्व विद्यालयहरुले आफ्नो शिक्षा प्रणालीलाई त्यहि अनुरुप विकसित गर्ने तयारी पनि गरिरहेका छन् । नेपालमा पनि दुर शिक्षा प्रणाली, खुला विश्व विद्यालय आदिले आफ्नो शिक्षा प्रणालीलाई आधुनिक प्रविधि मैत्री बनाउन विभिन्न तौरतरिका अवलंबन गरिरहेका छन् ।

कोभिडको यो महामारीले करिव एक वर्ष देखि विद्यालय र विश्व विद्यालय लगायत अन्य शैक्षिक संस्थाहरु बन्द प्राय छन् जसले शिक्षाको वैकल्पिक तरिकाको माग पनि गरि रहेको छ । यो अवस्थाको फाइदा उठाएर सरकार र विश्व विद्यालयले अनलाइन कक्षाहरुलाइ थप ब्यबस्थित बनाउन नीतिगत र प्रविधिगत दुवै तरिकाले तयार हुनु पर्दथ्यो तर त्यो हुन सकेन । कम्तिमा पनि पठनपाठन , परिक्षा र सोधहरुको परिक्षा गर्न सकिन्थ्यो र भविष्यमा यो खाले शिक्षाको आधार तयार गर्न सकिन्थ्यो तर शिक्षा मन्त्रालय यो कार्य गर्न त परै जाओस गरेकालाई पनि प्रोत्साहित गर्न सकेन । विश्वका विभिन्न विश्व विद्यालयहरुले अभ्यास गरेको अनलाइन कक्षाका निम्न फाइदाहरुलाई नेपालको शैक्षिक क्षेत्रले पनि प्रयोग गरि फाइदा उठाउन सक्नु पर्दछ  :


  • भौतिक पूर्वाधारको निर्माण र यसको खर्चवाट हुने फाइदा
  • भौतिक पूर्वाधारको आवश्यकता नै नपर्ने
  • स्थानीय शिक्षालाइ विश्वब्यापी शिक्षा संग जोड्ने अवसर
  • वातावरणीय हिसावले उपयोगी
  • समयमै पाठ्यसामग्रीको उपलब्धता,रिजल्ट प्रकाशन आदिले समयको वचत भ्रस्टाचार, ठगि,अराजकता आदि वाट मुक्ति
  • शिक्षक र विधार्थी विचको सम्वन्धमा निरन्तरता
  • जागिर र अन्य पेशामा आवद्ध व्यक्तिहरुको पनि सहज पहुच
  • आधुनिक प्रविधिको प्रयोग र उन्नत शैक्षिक विधिको प्रयोग
  • विश्वस्तरीय शिक्षाको सहज उपलब्धताले वाहिर पढ्न जाने विधार्थीलाइ रोक्न सकिने 


माथिका विभिन्न फाइदाहरु भए पनि तत्काललाइ यसलाई अनिवार्य गर्न भने सकिदैन तर भविष्यको लागि पुर्व तयारी भने गर्न सकिन्थ्यो । अनलाइन कक्षालाइ सफलता पुर्वक कार्यान्वयन गरि रहेको नेपालकै खुला विश्व विद्यालय र अन्य दुर शिक्षाका कार्यक्रमहरुले पनि यसलाई बैकल्पिक शिक्षा बनाउन सकिने वाटो खोलि सकेका छन् । त्रि.वि. बाहेकका अन्य विश्वविद्यालयहरुले अनलाइनबाटै परिक्षा लिने, नतिजा प्रकाशन गर्ने र अर्को कक्षा संचालन गर्ने कार्य समेत सफलतापूर्वक सम्पन्न गरिरहेका छन् । यसले अनलाइन कक्षालाइ ब्यबस्थित गराई भविष्यमा दुइ खाले कक्षाहरु संचालन गर्न बाटो खोल्ने सम्भावना प्रशस्त गराएको पनि छ तर यो अवसरलाई शिक्षा मन्त्रालय र त्रि.वि.ले सदुपयोग गर्न सकेको  भने देखिँदैन ।

मास्टर , एम.फिल.र पी.एच.डी. तहलाई दुवै तरिकाको प्रयोग गरी कक्षा संचालन गर्न अनलाइनको पूर्वाधार विकासले मद्धत गर्दथ्यो र जागिर खाने, भौतिक रुपले कक्षा लिन नसक्ने विधार्थीका लागि यो निकै फलदायी पनि हुने थियो । यसले दक्ष र प्राविधिक रुपले योग्य विधार्थीको उत्पादनमा पनि सघाउ पुर्याउने थियो, यसका लागि त्रि.वि. ले मातहतका क्याम्पसहरुलाई भौतिक रुपले सम्पन्न गराउदै सम्बन्धित क्याम्पस र विषय शिक्षकलाइ जिम्मेवार बनाउन समेत जरुरी देखिन्छ । अझै पनि यसको लागि तयारी गर्न सकिन्छ र गर्नु पर्दछ जसले पढ्न विदेश जाने विधार्थीहरुलाई रोक्न , काम गरेर पढ्ने विधार्थी र माथिल्लो तहमा अध्ययन गर्ने विधार्थीहरुलाई गुणस्थरिय शिक्षाको  ग्यारेन्टी गर्न सघाउ पुराउने कुरामा दुइ मत नहोला ।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया