add

प्रसारणलाइन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु






ActPro Nepal

|

२४ पुष, २०७७

|
1101

दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारणलाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिने भएको छ। आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माणका लागि आयोजनाले तनहुँतर्फ उक्त जग्गा अधिग्रहण गर्न लागेको हो।

टावर पर्ने जग्गा अधिग्रहणका लागि १५ दिने सूचना प्रकाशित गरिएको छ। आयोजनाका प्रमुख अच्युत घिमिरेले ६० वटा कित्ताका जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढेको जानकारी दिए। “टावर राख्नका लागि ५३ व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ, जग्गा प्राप्तिका लागि सूचना प्रकाशित भइसकेको छ,” घिमिरेले भने।

घिमिरेका अनुसार जग्गाको रकम निर्धारणका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले अध्ययन सुरु गरेको छ। “स्थानीय तह, मालपोत कार्यालय, सम्बन्धित क्षेत्रमा रहेका बैंकसँग जग्गाको चलनचल्तीको दर बुझ्ने काम भइरहेको छ,” घिमिरेले भने, “उपसमितिले अध्ययन सकेपछि प्रतिवेदन मूल समितिसमक्ष पेश गर्नेछ।” प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले प्रतिवेदन अध्ययन गरेर जग्गाको मुआब्जा निर्धारण गर्नेछ।

आयोजनाको प्रसारणलाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिनेछ भने तार तान्नका लागि २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइने घिमिरेले बताए। उनले भने, “क्षतिपूर्ति तिर्ने जग्गा सम्बन्धित व्यक्तिको हुन्छ, उक्त जग्गामा संरचना निर्माण गर्न भने पाइने छैन।”

प्रसारणलाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन्। तनहुँतर्फ ३० हेक्टर वन क्षेत्रको रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ। “तनहुँतर्फको वन क्षेत्र टुङ्गो लागेर सहमतिका लागि विभागमा पठाएका छौँ, चितवनतर्फको भने बाँकी छ,” घिमिरेले भने।

दमौलीबाट भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ। चालु आर्थिक वर्षमा प्रसारणलाइनका लागि ३० टावर निर्माण गरिनेछ। प्रसारणलाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको प्याकेज दुईअन्तर्गतको विद्युतगृहको काम पनि भइरहेको छ। ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै विद्युतगृहको काम भइरहेको घिमिरेले बताए।

आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युतगृहका लागि ‘केवल टनेल’ खन्ने काम सुरु गरेको थियो। सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ। पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन कम्पनीको बोलपत्र परेको र ती बोलपत्रउपर मूल्याङ्‍कनको काम भइरहेको आयोजनाले जनाएको छ। पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ।

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ। खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन हुनेछ। आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ। जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि १८ करोड ४० लाख डलर बेहोर्ने छ। रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.