add

‘शेयर बजारमा डराउनु पर्ने अवस्था छैन, राम्रा कम्पनीमा लगानी गरी मुनाफा कमाउन सकिन्छ’






ActPro Nepal

|

२१ पुष, २०७७

|
1206

केही महिनायता शेयर बजारमा रौनक देखिएको छ । दुई साताअघिसम्म निरन्तरजसो बढिरहेको बजार पछिल्ला केही दिनयता भने घटन् थालेको छ ।

यद्यपि नेप्से परिसूचक, कारोबार रकम, कारोबार सँख्या, बजार पुँजीकरणलगायत सूचकले नयाँ रेकर्ड बनाएका छन् । यसकारण बजारमा उत्साह छ । यही सन्दर्भमा बजारको अवस्था, जोखिम, सम्भावना र लगानी मन्त्रलगायत विषयमा नेपाल स्टक ब्रोकर्स एशोसियसनका महासचिव गुणनिधि भुसालसँग गरेको कुराकानीको सारः

अहिलेको शेयर बजारलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

अहिले शेयर बजारले यसअघिको उच्च विन्दु पार गर्दै अघि बढेको छ । नेप्से परिसूचकसँगै, कारोबार रकम, कारोबार संख्यालगायत धेरै सूचकले नयाँ रेकर्ड बनाइरहेका छन् ।

यस आधारमा हेर्दा अब धेरै घट्दैन भन्ने सन्देश दिँदै केही तिब्र गतिमा अघि बढेको देखिन्छ । बाहिर हल्ला भएको जस्तो उच्च बिन्दुमा पुगेको भन्ने अवस्था भने छैन । तर, घट्न छाडेर आफ्नो निश्चित गतिमा अगाडी बढेको भने पक्कै हो ।

शेयर बजार उच्च अंकले बढ्नुको कारण के के देख्नुहुन्छ ?

हाम्रो बजार (परिसूचक) यसै पनि सानो छ । अहिले सबैको हात हातमा अनलाइन कारोबार पुगेको छ । अनलाइन सेवा पुगेसंगै ग्राहकले आफूले किन्न खोजेको कम्पनीको शेयर सजिलै किन्न सक्छन् ।

पहिले ब्रोकरले मात्रै कारोबार गर्दा एउटा निश्चित रेञ्जमा धेरै उत्साहित नभई विस्तारै कारोबार हुन्थ्यो । तर, अहिले ग्राहक आफैले कारोबार गर्न सक्छन् । यसकारण ग्राहक उत्साहित भएको अवस्था छ । यसले गर्दा उतारचढाव अलि धेरै भएको हो ।

कोभिड १९ का कारण अर्थतन्त्रका अधिकांश परिसूचक नकारात्मक अवस्थामा छन्, यस्तो अवस्थामा सेयर बजारमात्रै उच्च रुपमा बढेकाले जोखिम छ भनिन्छ नी ?

कोभिडको कारण अर्थतन्त्रमा केही असर परेको अवश्य नै हो । यस्तोमा निर्माण तथा अन्य धेरै क्षेत्र प्रभावित बन्यो । बैंकमा धेरै लगानीयोग्य पूँजी (अधिक तरलता) जम्मा भयो ।

बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने नयाँ ठाउँ खोज्न थाले । जसको कारण सेयर बजारमा आक्रामक रुपमा ऋण प्रवाह हुने वातावरण निर्माण भयो ।

यसविचमा पनि राष्ट्र बैंकले पनि शेयर धितोमा कर्जाको सीमा बढाएर ६५ प्रतिशतबाट ७० प्रतिशत पु¥याएको छ । यसको बजारमा सकारात्मक प्रभाव देखियो । बजारको सिधा असर ब्याजदरसंगै हुन्छ ।

अहिले ब्याजदर घटेकाले पनि शेयर बजारले आफ्नो रौनक देखाएको हो । यसलाई अश्वभाविक भन्दापनि ब्याजदर घट्नु र ऋणको प्रवाह बढेको रुपमा विश्लेषण गर्नुपर्छ । अहिले निष्क्रिय रुपमा पैसा राख्नुभन्दा शेयर बजारमा लगानी गर्दा बढि फाइदा हुन्छ । यसकारण शेयर बजारमा रौनक देखिएको हो ।

जोखिम कस्तो छ ?

शेयर बजार जोखिमरहित हुँदैन । जोखिमको मात्रा कति भन्ने हो । शेयर बजारमा आउने जोखिमसँंग खेल्न सक्ने मान्छे मात्रै हो । जोखिमसंँग खेल्न नचाहने वा नसक्ने मान्छेका लागि यो बजार होइन । उनीहरुका लागि लगानीका अन्य क्षेत्रहरु छन् । तर, जोखिम भन्दैमा बाहिर सुनिएको जस्तो जुवा घर हो, यसमा धेरै जोखिम छ भन्ने चाँही होइन् ।

यस्तो विचार राख्ने मान्छेले वास्तवमा शेयर बजार बुझेको हुँदैन् । यसकारण पहिले बजार , यसको अवस्था, कारोबार प्रणालीलगायत पक्ष राम्रोसँग बुझेरमात्र कारोबार सुरु गर्नुपर्छ ।

यो बजारमा केही सस्तोमा शेयर किनेर केही नाफा कमाएर बेच्न सक्नुहुन्छ । अथवा शेयर नबेचिकन राखेपनि वार्षिक औसत १० प्रतिशतभन्दा धेरै बोनस दिने कम्पनीको शेयर लिएर बस्नुभयो भने तपाईंलाई ५ वर्षमा कम्पनीले शतप्रतिशत रकम फिर्ता दिन्छ । तर, कहिलेकाँही कम्पनीले कारोबार गर्न नसक्ने, कम्पनी टाँट पल्टिने, कम्पनीमा समस्या आउने त्यो जोखिम त जहिलेपनि हुन्छ यो त विश्वभरि नै छ । तर, एउटा उचाईमा पुगेको बजार अहिल्यै तल झर्ने अवस्था भने छैन् ।

जलविद्यूत, बीमा, ट्रेडिङ जस्ता समुहका कम्पनीको शेयर मूल्य धेरै बढिसक्दा पनि बैकिङ समुहको अपेक्षित रुपमा बढ्न सकेको छैन् किन होला ?

शेयर बजारमा यस्ता कुरा भइरहन्छ । एकपटक जलविद्यूतको शेयर मूल्य फेसभ्यालु (अंकित मूल्य) भन्दा पनि तल आएको थियो । पाँच/दशवर्ष पहिले राखिएको अंकित मूल्य ५० प्रतिशतसम्म घटेको थियो ।

हाइड्रोको प्राथमिक निष्काशन (आईपीओ) नबिक्ने सम्मको अवस्था आएको थियो । त्यसपछि सरकारले केही नियम परिवर्तन ग¥यो । अधिक तरलताको कारण ब्याजदरमा कमी आयो । करिब १४/१५ प्रतिशतसम्म रहेको ब्याजदर एकैचोटी ६/७ प्रतिशतमा घट्दा लागत कम भयो । यस्ता विभिन्न कारणले जलविद्यूतको मूल्य बढ्यो ।

हाल ‘अन्य’ समूहमा सूचीकृत कम्पनीको संख्या निकै कम छ । यसकारण सानो कारोबारमा पनि यो समूहको सेयर मूल्य घटबढ भइहाल्छ । सबैभन्दा स्वस्थ रुपमा कारोबार हुने भनेको बैकिङ क्षेत्र हो ।

शेयर बजारमा बैकिङ क्षेत्रलाई धेरै महत्व पनि दिइएको छ । यो समूहको सेयर आपुर्ति र माग सन्तुलित छ । समग्र बजार बढ्दा बैंक नबढेको पनि होईन् । बैंक बढेको पनि छ, । केही समयअघि १९०/९६ सम्म आएका शेयर अहिले ३ सय रुपैयाँसम्म पुगेका छन् । यसलाई नबढेको भन्न मिल्दैन् । सोही कारण बैंकिङ क्षेत्रका शेयरधनी पनि आत्तिनुपर्ने, डराउनुपर्ने अवस्था छैन ।

यो अवस्थामा सर्वसाधारणले बैकिङ समूहको शेयर अझै बढ्दै छ भनेर बुझ्ने हो ?

पछिल्लो समय राष्ट्र बैंकको नियम परिवर्तन भएपछि बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसनमा लागे । पछिल्लो समय केही राम्रो व्यापार गर्न लागेको थियो ।

तर, कोभिडको कारण त्यो पनि रोकियो । हाल केही बैंकको संरचना, शाखा सञ्जाल, वित्तीय अवस्था निकै राम्रो छ । यसकारण बैंकले व्यवस्थापनमा ध्यान दिने हो भने र राम्रो व्यापार गर्ने हो भने वार्षिक ३० देखि ४० प्रतिशतसम्म प्रतिफल दिन सक्छ । त्यो नीतिबाट काम गर्ने हो भने बैंकको शेयर मूल्य ह्वात्तै बढ्छ ।

बजारमा चलखेल भयो भनेर नियामक निकायको अध्ययनले देखाएको भन्ने कुरा आएको छ, तपाईंलाई के लाग्छ ?

मलाई त यो विषय सुन्दापनि हाँसो लाग्छ । बजार चलखेल भनेर त्यस्तो खुलेयाम भएको पनि छैन । यसमा काम गर्ने व्यक्ति वा सस्थाहरु स्विकृती लिएर नै बसेका छन् ।

तर, कुनै व्यक्तिले त्यस्तो गरेको छ भने उसलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्नुपर्छ । यस्तो कामको लागि नै कानुन बनेको हो ।

चलखेल भनेर हावाको भरमा भन्नु भएन, त्यसो हो भने बजार बढ्दा चलखेल भयो भन्ने की घट्दा चलखेल भयो भन्ने । त्यसकारण यस्तो कुरा हास्यास्पद कुरा हुन् । शेयर बजारको विषयमान हल्का टिप्पणी गर्नु, मन्तव्य जारी गर्नु, कसैको अनुमान छाप्नु वा प्रकाशन गर्नु शेयर बजारको लागि घातक कुरा हो ।त्यसकारण यो विषय सरासर गलत छ । तर, अध्ययन अनुसन्धान गर्दा कुनै कमजोरी देखिएको भए नियामक निकायसँग कारबाहि गर्ने अधिकार छ । त्यस्तो भएको छ भने, त्यस्ता व्यक्ति वा संस्थालाई कारबाही तथा निरुत्साहित गर्नुपर्छ ।

विगतमा जस्तो अहिलेपनि सिमित व्यक्तिको कब्जामा शेयर बजार छ भन्ने सुनिन्छ नी, के यो सत्य हो ?

अहिलेको बजारको आकार झण्डै २७ खर्बको छ । दैनिक ७ देखि ९ अर्बसम्मको कारोबार भईरहेको छ । एक जना व्यक्तिसँग कति पैसा हुन्छ होला ? के एकजना वा २/४ जनाले बजारलाई कब्जा गर्नसक्छ ? तथ्यांक हेरौं न । त्यसकारण यो असम्भव कुरा हो ।

बजारमा एउटा धारणा चाँही हुन्छ, नियामक निकायको नीति नियम, कम्पनीको वार्षिक प्रतिवेदन, कम्पनीको व्यापारको कुरा, कम्पनीको आम्दानी र खर्चका कुराहरु यी सबै कुरा माग र मागको पूर्तिको लागि असर गर्छ । त्यसकारण सिमित व्यक्तिले शेयर बजार कब्जा गर्छ वा गरिरहेको छ भन्ने कुरा सत्य होईन ।

शेयर धेरै माथि पुगिसकेकाले अहिले शेयर बजारमा नयाँ लगानीकर्ता भित्रने समय होइन् भन्छन् ? बास्तविकता के हो ?

नेप्से परिसूचक ११ सय अंकमा आउनुअघि १ हजार ८ सय ८१ लाई एउटा मापदण्ड मान्ने भनिएको थियो । तर, यसमा के कुरा बुझ्नुपर्छ भने त्यो समयमा कति कम्पनी नेप्सेमा आवद्ध थियो र अहिले कति कम्पनी थपिएको छ । त्यसको कारोबार पनि त हेर्नुपर्यो नि । अहिलेपनि बैकिङ क्षेत्रका कम्पनीको शेयर मूल्य त्यस्तो धेरै छैन ।

शेयर बजारमा धेरै काराबार गर्ने वा मुख्य कम्पनीको शेयर मूल्य त्यतिधेरै माथि पुगेको छैन । त्यसकारण पहिलेको १ हजार ८ सय ८१ र अहिलेको २ हजार वा २१ सयको तथ्यांकलाई आधार मानेर हेर्ने हो भने अहिलेको परिसूचक कम हो ।

अहिले बजारमा धेरै नयाँ कम्पनी थपिएका छन् । त्यसकारण बजार जोखिमतिर गएको भन्दापनि बजार अब घट्न चाँही रोकिएको हो । यसले बजार स्थिरता तर्फ लागेको संकेत गर्छ ।

बढिरहेको बजारमा राम्रा कम्पनीहरु छनोट कसरी गर्ने ?

कम्पनी छनोटको विषयमा लगानीकर्ताले २/३ वटा कुरामा ध्यान दिनुपर्छ । पहिलो कुरा कम्पनीले आफ्नो स्थापना कालदेखि अहिलेसम्म कस्ता कामहरु गर्दै आएको छ, अर्को भनेको भविष्यमा कस्ता काम गर्ने योजना बनाएको छ त्यसमा ध्यान दिनुपर्छ । यसका अलवा संस्थाले आर्थिक रिपोर्टहरु सार्वजनिक गर्छ कि गर्दैन् त्यसलाई हेर्नुपर्छ । व्यवस्थापन कस्तो छ र बजारमा त्यो कम्पनीको शेयरको माग कस्तो छ कति बिक्छ यी कुरालाई हेरेर लगानी गर्दा राम्रो हुन्छ ।

नयाँ लगानीकर्ताले लगानी गर्दा के के कुरामा ध्यान दिनुपर्ला ?

कम्पनीको बारेमा अध्ययन गर्नुपर्छ, बजारको अवस्था कस्तो छ, आर्थिक क्षेत्र व्यवस्थापनको पक्ष, हिजोको दिनमा कम्पनीले के कस्ता काम गरेको थियो, कति नाफा दिन सकेको छ, आज के गरिरहेको छ र भविष्यमा के गर्दैछ वा कसरी चल्दैछ त्यो कम्पनी भन्ने विषयमा अध्ययन गर्दै कम्पनीको व्यापार योजनालाई हेरेर लगानी गर्दा नयाँ लगानीकर्तालाई फाइदा हुन्छ ।

ब्रोकहरुको शुल्क हटाउनु पर्ने कुरा आइरहेको छ, ब्रोकरहरुले लिने शुल्क धेरै नै भएको हो त ?

यसलाई अनुमान वा हचुवाको भरमा भन्नु भन्दापनि अध्ययन गरेर यस्ता विषयमा बोल्नुपर्छ । मिडिया वा सर्वसाधारणले ब्रोकर अफिस त लगानी बिना नै चलिरहेको छ कि भन्ने कुराहरु भनिरहेका हुन्छन् । तर, पहिलेको ब्रोकरहरुको काम र अहिलेका ब्रोकरहरुको काम, जनशक्ति, लागत, यसबाट हुने जोखिम यी सबै कुराहरुले गर्दा अहिले ब्रोकरहरुको लगानी बढेको छ । जोखिम बढेको छ ।

यी सबै कुरालाई बेवास्ता गर्दै अनुमान वा हचुवाको भरमा शुल्क धेरै भयो भन्ने गरिएको छ । दक्षिण एसियाली देशमा मापन गर्ने हो भने हाम्रो देशमा शेयर कारोबार शुल्क धेरै छैन् । अहिले चलिरहेका ब्रोकरहरुको व्यालेन्स सिट हामीले सम्बन्धित निकायमा पनि पठाएका छौं । निर्णय गर्ने सम्बन्धित निकायले नै हो, हामीले सुझाव मात्रै दिने हो ।

त्यसकारण १/२ वटाको कारोबार हेरेर सबै ब्रोकर त्यहि दाजोमा राख्नु भएन् । सुरुको ब्रोकरले कारोबार गर्ने र अन्तिमको ब्रोकरले कारोबार गर्ने सिमापनि हेर्नुपर्छ । हाम्रो ठाउँबाट हेर्दा त यो मूल्य महङ्गो हो जस्तो लाग्दैन । कमिसनले बजारलाई प्रभाव पारेको पनि देखिदैन । समय सान्दर्भिक रुपमा घट्ने बढ्ने भन्ने कुरा त नियामक निकायले गर्ने कुरा हो ।

ब्रोकर र बजारको सन्दर्भमा पहिले हाम्रो कमिसन एकैचोटी धेरै घटाउँदा ब्रोकर कमिसन घटेपछि दैनिक १० अर्बसम्मको कारोबार हुन्छ भनिएको थियो । तर, त्यो अवस्थामा ७८ लाखसम्मको पनि कारोबार भएको थियो ।

अहिले बल्ल त्यो मात्रामा कारोबार हुने वातावरण बनेको छ । त्यसकारण केही व्यक्तिले ब्रोकर कमिसन बढी भयो भनिरहेका छन् । त्यसकारण नियामक निकायले यस्ता अनावश्यक हल्लालाई रोक्न सक्नुपर्छ ।

बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कुरो आइरहेको छ, के हाल भएको ब्रोकरहरुले काम गर्न नसकेकै हो र ?

पहिलेको नेतृत्वले भईरहेको चिजलाई विकसित गरौं, त्यसको क्षमता बढाऔं भनेर यसलाई अर्को क्षेत्रमा लाने दुस्प्रयास गरियो । अहिलेको नेतृत्वले त्यसरी नगर्ला । आफ्नो क्षेत्रमा केही कमी कमजोरी छ भने, त्यहि क्षेत्रलाई विकास गर्ने हो, तर, एउटा क्षेत्रलाई अर्को क्षेत्रमा मिसाउन मिल्दैन ।

त्यसो भएमा आर्थिक रुपले पनि त्यो मिल्दैन । हाम्रो शेयर बजार सूचनाको आधारमा चल्ने हो । हाम्रोमा विदेशमा जस्तो दक्ष जनशक्ति, पेशागत मर्यादा कम छ । हुन त यो कुरा नियामक निकायले हेर्ने कुरा हो । त्यसकारण यो विषय उपयुक्त थिएन । त्यो गलत निर्णय हो । त्यो समयले प्रमाणित गर्ला ।

अन्त्यमा लगानीकर्तालाई के सुझाव दिनुहुन्छ ?

लगानीकर्तालाई शेयर बजारमा निर्धक्क भएर आवद्ध हुनको लागि आव्हान गर्छु । किनभने शेयर बजार भनेको तपाईको क्षमता अनुसार लगानी गर्ने र आफ्नो पुँजीलाई वृद्धि गर्ने ठाउँ हो । सचेत भई पर्याप्त अध्ययन गरेर भरपर्दो माध्यमबाट लगानी गर्दै आफ्नो खुबी वृद्धि गर्ने ठाउँ हो । शेयरमा आवद्ध हुनुभएकाले क्षमता अझै विकास गर्नुस्, नयाँ आउन लाग्नु भएका लगानीकर्ताले निर्धक्क भएर शेयर खरिदविक्रि गर्नुहोस ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.