add

पेट्रोलियम पाइपलाइनले जोगायो डेढ अर्ब, आयल निगम पाँच वर्षदेखि नाफामा






ActPro Nepal

|

१७ पुष, २०७७

|
1022

काठमाडौं । नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट साढे एक अर्ब बचत गरेको छ ।

निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको रु एक अर्ब ४७ करोड बचत भएको हो ।

उक्त प्रतिवेदन अनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा रु १४ करोड ७० लाख बचत हुँदै आएको छ । गत वर्षको भदौ २४ गतेबाट मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेका थियो ।

पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो ।

इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । पाइपलाइन सञ्चालनको शुरुआती दिनमा कम मात्रामा डिजेल आयात भएकामा हाल उल्लेख्य मात्रामा आयात भएको निगमले जनाएको छ ।

पाँच वर्षदेखि नाफामा

लामो समयदेखि घाटामा रहेको निगम आर्थिक वर्ष २०७२/०७३ देखि (पाँच वर्ष यता) नाफामा सञ्चालन भइरहेको छ । निगमले आव २०७२/०७३ मा १९ अर्ब ३६ करोड रुपैयाँ, आव २०७३/०७४ मा नौ अर्ब ४५ करोड रुपैयाँ, २०७४/०७५ मा तीन अर्ब ५८ करोड रुपैयाँ, २०७५/०७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६०७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको छ ।

निगमले आर्थिक वर्ष २०७५/७६ मा २९ करोड रुपैयाँ रहेको चुक्ता पूँजीलाई दश अर्ब रुपैयाँ पूँजी वृद्धि गरेर एघार अर्ब रुपैयाँ पुर्याएको थियो । आर्थिक वर्ष २०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको जनाइएको छ । रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.