काठमाडाैं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवर्द्धनका लागि नेपाल राष्ट्र बैंकले योजनाबद्ध प्रयास गरिरहेको बताएका छन्।
'सिङ्गापुर फिन्टेक महोत्सव-२०२०’ लाई श्रव्यदृश्यका माध्यमबाट आज सम्बोधन गर्दै उनले ‘डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकासमा राष्ट्र बैंक प्रतिबद्ध’ रहेको बताए। संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोष र सिङ्गापुर मनिटरी अथोरिटीले यही मङ्सिर २२ गतेदेखि उक्त महोत्सवको आयोजना गरेको हो।
'कृषि र खाद्य प्रणालीमा डिजिटल बैंकिङले पुर्याउन सक्ने सहयोग’ विषयमा मन्तव्य राख्दै गभर्नर अधिकारीले भने, “वित्तीय क्षेत्रको नेतृत्वदायी निकाय हुनुका नाताले नेपालमा डिजिटल अर्थतन्त्रको विकासका लागि राष्ट्र बैंकको अत्यन्तै ठूलो भूमिका रहेको तथ्यलाई हामीले महसुस गरेका छौँ। त्यसैले नेपालमा ‘डिजिटल पर्यावरण’को विकासको लागि हामी प्रतिबद्ध छौँ।”
नेपाल सरकारले डिजिटल अर्थतन्त्रको प्रवर्द्धनका निम्ति ‘डिजिटल नेपाल प्रारूप’को महत्वाकाङ्क्षी योजना अगाडि सारेको उल्लेख गर्दै गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र, शासकीय व्यवस्था र सामाजिक क्रियाकलापको रूपान्तरणमा यो अभियानले सार्थक भूमिका खेल्ने विश्वास व्यक्त गरे।
“यो प्रारूपलाई नेपालको ‘डिजिटल आधारशीला’का रूपमा लिइएको छ। यसको कार्यान्वयनबाट नेपालको कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधार विकाससँगै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासले एउटा फड्को मार्ने मेरो विश्वास छ,” उनले भने।
पछिल्लो समयमा नेपालमा विद्युतीय बैंकिङ र भुक्तानी प्रणालीको विकासलाई सरकार र राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै गभर्नर अधिकारीले यसको कार्यान्वयनका निम्ति कानुनी, नीतिगत एवं संस्थागत व्यवस्थालाई सबल तुल्याइएको उल्लेख गरे।
उनले त्यसैको परिणाम स्वरूप भुक्तानी प्रणालीको विकास तथा सञ्चालन, इजाजत प्रक्रिया, सम्बद्ध संस्थाको सुपरीवेक्षणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको उनको भनाइ थियो। डिजिटल बैंकिङको विस्तारसँगै यसको नियमन र सुपरीवेक्षणका क्षेत्रमा चुनौती थपिएको उल्लेख गर्दै उनले त्यसप्रति नियामक निकाय सजक रहनुपर्ने बताए। पछिल्लो समयमा विश्वव्यापीरूपमा देखापरेको कोभिड-१९ महामारीले डिजिटल बैंकिङको सान्दर्भिकतालाई थप सबल बनाएको उल्लेख गर्दै गभर्नर अधिकारीले कृषि तथा खाद्य प्रणालीलाई समेत डिजिटल प्रविधिसँग आबद्ध गराउनुपर्ने आवश्यकतामा जोड दिए।
उनले भने, “डिजिटल प्रविधिको प्रयोगबाट कृषिजन्य उत्पादन, उत्पादकत्व अभिवृद्धि, लगानी, मूल्य निर्धारण, बजार व्यवस्थापन र भुक्तानी कार्यलाई सहजीकरण गर्न सकिन्छ। यसबाट अन्ततः दिगो कृषि र खाद्य प्रणालीमा दूरगामी प्रभाव पार्नेछ।” सहरी क्षेत्रमा केन्द्रित रहेको डिजिटल प्रणालीलाई ग्रामीण क्षेत्रसम्म विस्तार गरी स्थानीय कृषक ‘ई-कमर्स’सँग जोड्नुपर्ने उनको सुझाव थियो।
डिजिटल प्रविधिको प्रयोगबाटै ग्रामीण कृषकलाई वित्तीय स्रोतको व्यवस्था, बीमा, कृषिसम्बन्धी सूचना÷जानकारी विद्युतीय भुक्तानी र लगानीका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता उनले औँल्याए। नेपालको कूल गार्हस्थ उत्पादनको करिब २८ प्रतिशत हिस्सा र झण्डै दुई तिहाई जनसङ्ख्याको जीविकोपार्जनको स्रोत कृषि नै रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले कृषकलाई थप व्यावसायिक बनाउन यसै वर्ष मौद्रिक नीतिमार्पmत कृषि ऋणपत्र र किसान क्रेडिट कार्डसम्बन्धी व्यवस्था कार्यान्वयनमा लगिएको जानकारी दिए। रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।