add

एकै दिन ३०९ स्थानीय तह र तीन वटा प्रदेशमा अस्पताल भवनको शिलान्यास






ActPro Nepal

|

१५ मंसिर, २०७७

|
1150

काठमाडाैं। सरकारको स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ आज ३०९ स्थानीय तहमा अस्पताल भवन र तीन वटा प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको छ। स्वास्थ्य तथा जनसड्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तहमध्ये ३०९ वटा र तीन वटा प्रदेशमा सरुवा अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरेको हो।

स्थानीय तहमा बन्ने अस्पतालको भवन पाँचदेखि १५ शय्याका र सरुवा अस्पताल ५० शय्याका रहेका छन्। प्रदेश २, बागमती र कर्णाली प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि भवन शिलान्यास गरिएको छ।


अहिले सङ्‍घमा एक मात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा रहेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ३०९ स्थानीय तहमा आधारभूत अस्पताल, तीन वटा सरुवा रोग अस्पताल र एक वटा अस्पतालको आकस्मिक विभागको भवनको शिलान्यास गरिएको जानकारी दिए।

शिलान्यास भएका अस्पतालको भवनको उद्घाटन पूर्वप्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, सांसद र स्थानीय तहका प्रमुखले एकैसाथ आज गरेका थिए। सात सय ५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन्। तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गरिएको हो।


सहप्रवक्ता डा. अधिकारीले शिलान्यास हुन बाँकी रहेका स्थानीय तहमा अस्पतालको भवन यही महिनाभित्र गरिने जानकारी दिए। “जग्गा प्राप्तिका विषयहरु समाधान गरेर यहीँ मङ्सिरभित्र शिलान्यास हुने छ,” उनले भने, “८७ स्थानीय तहमा आधारभूत भवन र चार वटा प्रदेशमा सरुवा अस्पतालको भवनको शिलान्यास जग्गा प्राप्ति गरेपछि हुनेछ।”

सरकारले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न यसै आर्थिक वर्षको नीति तथा कार्यक्रममा अस्पताल नभएका सबै स्थानीय तहमा जनसङ्ख्या, बिरामी दर, स्थानीय तहको माग र आवश्यकता एवं क्षमतासमेतलाई मध्यनगर गर्दै पाँचदेखि १५ शय्याको आधारभूत अस्पताल, सातवटै प्रदेशमा सरुवा रोग अस्पताल र अस्पतालमा आकस्मिक कक्षहरु स्थापना गर्ने कार्यक्रम रहेको थियो।

यही कात्तिक २ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालबीच भएको बैठकले आज एकैसाथ जग्गा प्राप्त भएका स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्ने निर्णय गरेकाे थियो। सोहीअनुसार आजै अर्थमन्त्री पौडेलले ललितपुरकाे गोदावरी नगरपालिकाको १५ शय्याको अस्पताल भवन, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पताल भवनको शिलान्यास गरेका थिए। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेका थिए।


सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो। सहप्रवक्ता डा. अधिकारीले ३९६ स्थानीय तहका लागि ५८ अर्ब र सरुवा रोग अस्पताल र आकस्मिक उपचार विभागसहितका सबै अस्पतालका लागि अर्थमन्त्रालयबाट स्रोत सुनिश्चितता भई बहुवर्षीय ठेक्का प्रणालीअनुसार आवश्यक व्यवस्था मिलाइसकेको जानकारी दिए।

निर्माण हुन बाँकी रहेका अस्पतालको हकमा आगामी वर्षको बजेटमा रकम विनियोजन गरिने छ। उनले शिलान्यास भएका ३०९ र शिलान्यास हुन बाँकी भएका ८७ स्थानीय तहका अस्पतालको भवन आगामी दुई वर्षभित्र बनिसक्ने बताए।

आज शिलान्यास भएकासँगै स्थानीय तहमा कूल चार हजार ८७५ शय्या, ९७५ चिकित्सकसहित ९७ हजार ६५२ जनशक्ति हुने छन्। गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रवाह भई स्वास्थ्य सेवाको पहुँचबाट सबै नागरिकलाई सेवा प्रदान हुने विश्वास लिइएको छ। मन्त्रालयले नगरपालिकामा १५ शय्या र गाउँपालिकामा हेरेर पाँच र १० शय्याको अस्पताल भवन बनाउन थालेको हो। पाँच शय्याको लागि आठ करोड, १० शय्याका लागि ११ करोड र १५ शय्याका लागि १८ करोड रुपैयाँ विनियोजन गरिएको छ।

अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ। सातवटा प्रदेशमा सरुवा रोग नियन्त्रणका लागि ५०/५० शय्याका अस्पताल निर्माणको प्रारम्भिक कार्य अघि बढाउन ५६ करोड रुपैयाँको व्यवस्था गरिएको छ।-रासस

सम्बन्धित समाचार :

नुवाकोटको पन्चकन्या गाउँपालिकामा १० शैय्याको अस्पताल भवन शिलान्यास

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुँदैन : अर्थमन्त्री पौडेल

७२ प्रतिशत जनतालाई कोभिड खोप उपलब्ध गराउँछौँ : स्वास्थ्यमन्त्री ढकाल


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.