सुनसरी। कोरोना सङ्क्रमित व्यक्तिले नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरेकाे भन्दै आवश्यक कारबाही गर्न सुनसरी प्रहरीलाई निर्देशन दिइएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार सूचना जारी गर्दै निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।
सङ्क्रमित व्यक्ति घरमै बस्ने बहानामा गाउँघर डुल्ने र नेपाल सरकारले जारी गरेको स्वास्थ्य सावधानीका उपाय समेत अवलम्बन नगर्ने गरेको गुनासो बढेको भन्दै त्यस्ता व्यक्तिको हकमा कारबाही गर्ने निर्णय गरेको सहायक प्रजिअ पोखरेलले बताए।
समाजका प्रतिष्ठित व्यक्तिले समेत स्वास्थ्य सावधानीका उपाय अवलम्बन गरेको नपाइएको उनको भनाइ छ। समाजमा सङ्क्रमण बढ्दो क्रममा रहेको अवस्थामा बढ्दो असावधानीले थप जोखिम बढाउने निष्कर्षसहित उक्त निर्णय कार्यान्वयनमा ल्याउन प्रहरीलाई निर्देशन दिइएको उनले बताए।
सङ्क्रमित व्यक्तिले हेलचेक्र्याइँ गरेको पाइए सो विषयमा जानकारी गराउन सुनसरी प्रशासनले स्थानीयवासीलाई समेत आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालयमार्फत् मातहतका सबै युनिटलाई उक्त निर्णय कडाइका साथ कार्यान्वयनमा ल्याउन भनेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। -रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।