add

फूलमा आत्मनिर्भर बन्यो नेपाल, तिहारको लागि भारतबाट नल्याइने






ActPro Nepal

|

१६ कार्तिक, २०७७

|
1041

काठमाडौं । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी देश भारतबाट फूल आयात नहुने भएको छ ।

गएको वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ ।

तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गएको वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो ।

विश्वभरि फैलिएको कोरोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ । स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यवसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुनाले उत्पादन राम्रो रहेको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए ।

अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्छ । एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म तिर्नुपर्ने देखिन्छ ।

गत वर्ष ५० देखि ६० रुपैयाँ बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको एशोसिएशनलेका अध्यक्ष श्रेष्ठले बताए । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरको छ ।

विगतका वर्षमा तिहारमा मात्रै १५ करोड रुपैयाँको फूल कारोवार हुने गरेको थियो । श्रेष्ठले भने, “यस वर्ष भने बजारमा माग कमी भएकाले कारोवारमा केही कमी हुन्छ ।”

अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा करिब १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।

यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि काठमाण्डौ उपत्यकामा नै सबैभन्दा बढी ६० प्रतिशत मालाको माग छ ।

अघिल्ला वर्षको तुलनामा कारोवारमा कमी


यस वर्ष फूलको कारोबारमा कमी आउने पक्का भएको छ । कोरोनाका कारण गत चैतदेखि असारसम्म फूलको कारोबार शून्य रहेको र पछिल्लो समय नगन्य मात्रामा कारोवार भएकाले अपेक्षाअनुरुप कारोवार नहुने भएको हो ।

अघिल्ला वर्षमा रु दुई अर्ब ४२ करोडको फूलको कारोवार हुने गरेको थियो । चालू आवमा रु तीन अर्ब फूलको कारोवार हुने अनुमान गरे पनि कारोनाका कारण बजारमा चहलपहल नहुँदा अनुमानभन्दा कम हुने निश्चित छ ।

तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । यसअघि कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्ट्रेलिया र मलेशियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए ।

नेपालमा व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । यहाँ लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सातसय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ । काठमाडौं उपत्यकामा मात्रै तीन सय व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६ सय ७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।- रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.