add

प्रधानमन्त्री ओलीसँग ‘रअ’का प्रमुखको भेटबारे उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक गरे यी ६-बुँदे धारणा






ActPro Nepal

|

१० कार्तिक, २०७७

|
1427

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग भएको भेटबारे उपप्रधानमन्त्री इश्वर पोखरेलले ६ बुँदे धारणा सार्वजनिक गरेका छन् ।

रक्षा मन्त्रीबाट प्रधानमन्त्री कार्यालयका मामिला हेर्ने जिम्मेवारीमा तानिएका पोखरेलले ‘रअ’ प्रमुखसँग भेट गर्दा प्रधानमन्त्रीबाट कुनै गल्ति नभएको दाबी गरे । ‘रअ’ प्रमुख परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा नेपाल आएको तथा काठमाडौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको उनको भनाई छ ।

भेटकबा क्रममा भएको वार्ताको औपचारिक टिपोट परराष्ट्र मन्त्रालयमा समेत सुरक्षित रहेको उपप्रधानमन्त्री पोखरेलको दाबी छ । वार्ता केही समयदेखि असहज बन्न पुगेको नेपाल-भारत सबन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको उनले जिकिर गरे ।

यस्तो छ पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको ६ बुँदे धारणा


१. भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट तथा संवादका लागि आए र फर्किए ।

२. नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा उनी नेपाल आएका हुन् । काठमाडाैंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको थियो ।

३. प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्त गोयलको टोलीसित के–के विषयमा कुरा गर्नुभएको थियो ? बातचितमा प्रम ओलीसित रहनुभएका प्रतिनिधिहरूले जिम्मेवारीपूर्वक सुनेका छन्– टिपोट गरेका छन् । परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित छ ।

४. बातचितमा प्रम ओलीले विगत केही समयदेखि असहज बन्न पुगेको नेपाल–भारत सम्बन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको थियो । त्यहाँ नेपालले राख्दै आएका अडानहरू पुनः जानकारी गराइएको थियो र समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो । र, वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो । त्यहाँ गोयल (हरू)का तर्फबाट नेपालका प्रमको प्रस्तुतिलाई सकारात्मक रूपमा लिँदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखिएको थियो । नेपाल–भारतका बीचमा कुनै समस्या छन् भने तिनलाई संवादका माध्यमबाट हल गर्न सकिन्छ भन्ने अकाट्य निष्कर्षमा पुगिएको थियो ।

५. विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल–भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ ? तिनीहरूले किन विरोध गरिरहेका छन् ? यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिँदै छन्– ती मानिसहरू र कारणहरू राम्ररी बुझिएको छैन ।

अहिले धेरै कुरा किन गर्ने १ उहाँहरूले वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनुभएको छ भन्ने कुरा ठोकेर भन्न सकिन्छ । प्रोटोकललाई ख्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासुसी संस्थाको योजनामा सञ्चालित हुन खोजेको, वार्ताका विषयलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पुऱ्याइएको आदि भनेर आरोप लगाउने कोसिस भइरहेको छ । अर्थात्, यी सबै कुरा गरेर कम्युनिस्ट पार्टीको सरकारविरुद्धमा एउटा गलत खालको बहस सिर्जना गर्न खोजिँदै छ । दुर्भाग्य ! कम्युनिस्ट पार्टीकै कतिपय नेताहरूसमेत यस अभियानमा संलग्न हुन खोजेका देखिँदै छन् ।

६. यतिबेला एउटा कुरा सबैले ख्याल गरौँ– केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको यस सरकारविरूद्ध ती मानिसहरू अहिले विशेष निर्लज्जतापूर्वक लागेका छन्, जो विगतमा छिमेकीको न्यानो काखमा सुतेर देशका विरूद्ध गतिविधिहरू गरिरहेका थिए ! विगतमा भारतको ‘रअ’ का हाकिमहरूसित भेट गर्न तँछाड–मछाड गर्दै यिनै मान्छेहरू छिमेकी मुलुक पुग्दथे , त्यहाँ खुसामदका बिन्ती –बोली बिसाउँथे । विडम्बना ! अहिले उनीहरूसमेत राष्ट्रियताको बोलीमा लोली मिसाउँदै ओलीले नेतृत्व गरेको सरकारका विरुद्ध बृहत् गोलबन्दीको नायक बन्ने प्रयत्न गरिरहेका छन् ! !

याद रहोस् ! राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, स्वाभिमानमा आँच पुग्ने कुनै पनि कुरासित सम्झौता हुन सक्तैन । यिनै कुरालाई शिरमा राखी राष्ट्रको दीर्घकालीन हितमा लाग्ने कुरामा कहीँकतैबाट पनि आँच पुग्न दिइने छैन । विदेशीको काखको न्यानोमा सुत्न पल्केकाहरूको कथित राष्ट्रवादलाई चिनौँ, सजग होऔँ र सरकारले चालेका सही कदमहरूलाई साथ र समर्थन गरौँ !!!प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयलसँग गरेको गोप्य भेटप्रति नागरिक अगुवाहरूले आपत्ति जनाएका छन् । शनिबार २३ नागरिक अगुवाले संयुक्त अपिलपत्र सार्वजनिक गर्दै ‘रअ’ प्रमुख गोयलले कूटनीतिक पदाधिकारीसँग भेट नगर्नु र गुप्तचर निकायसँग नेपालले एकदमै अपर्झट कुरा गर्नुपर्ने विषय के थियो ? भन्ने प्रश्न सोधेका छन् ।

साथै सत्तारुढ दलका केहि नेताले समेत भेट अस्वाभाविक भएको टिप्पणी गरेका छन् भने प्रतिपक्ष दलका नेताले पनि भेटको आलोचजना गर्दै आएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.