add

दशैंको नवौं दिन : दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइदैं






ActPro Nepal

|

९ कार्तिक, २०७७

|
818

काठमाडौं। आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गाभवानीको पूजाआराधना गरी बलि दिएर मनाइँदै छ।

महानवमीका दिनमा गरिने दुर्गापूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैँघर र कोतलगायत राज्यका विभिन्न देवीमन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गाभवानीको विशेष पूजाआराधना, दुर्गा सप्तशती, श्रीमदेवीभागवत एवं देवीस्तोत्र पाठ गरिन्छ।

पशुबलि नदिनेहरूले भने आज आ-आफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको (वध)ले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गीनिशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ।

प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने गरेकामा यो वर्ष कोरोनाभाइरस सङ्क्रमणका कारण नदिइने निर्णय सरोकार भएका निकायको बैठकले गरेको छ। घटस्थापनादेखिको नित्य पूजा र बलिको कार्यक्रम भने भइरहेको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनाल बताउँछन्।

कोरोनाका कारण तलेजु भवानी मन्दिर नखुल्ने

हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि यो वर्ष कोरोनाकै कारण नखोलिने उनले बताए। तुलजाभवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा गरिनेछ।

वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ। वर्षमा एक दिन मात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेको थियो। तलेजु भवानीको दर्शन गर्न चाहने भक्तजन महानवमीका दिन बिहानै लाममा बस्ने गरेका थिए।

लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिने गरिन्छ। महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने परम्परा छ। -रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.