काठमाडौं । सर्लाहीमा स्थानीय र प्रहरीबीच झडप भएको छ।
दलित हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा हुँदा दुई डिएसपीसहित २२ प्रहरी घाइते भएका छन् ।
गत २२ गते सिसौट रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्या भएको थियो । टोल–टोलबीच ढुंगामुढा हुँदा रामको ढुंगाले लागेर मृत्यु भएको हो । उनको हत्यामा संलग्न तीन जना अहिले पक्राउ परिसकेका छन् ।
तर आफन्तले भने १० लाख क्षतिपूर्तिसहित अन्य ९ जनाको नाम पनि समावेश गरेर जाहेरी दरखास्त दर्ता गर्नुपर्ने दबाब दिएका छन् । आफन्तले शव समेत अझै बुझ्न मानेका छैनन् । मृतककाे शव वीरगन्जस्थित प्रादेशिक अस्पतालमा छ ।
आफन्तले जाहेरी दरखास्त दर्ता गर्नुपर्ने भनेका थप नामहरू घटनामा संलग्न नभएकाहरूको रहेकाले जाहेरी दर्ता गर्न नसकिने प्रहरीले बताउँदै आएको छ । यद्यपी आफन्तले मानेका छैनन् ।
साेही घटनालाई लिएर बुधबार कांग्रेस सांसद अमरेशकुमार सिंहको नेतृत्वमा सयौं मानिस जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए । त्यसक्रममा उनीहरूले जिल्ला प्रहरी कार्यालयमा ढुंगा प्रहार गर्दा डिएसपी मदन कुँवर, इलाका प्रहरी कार्यालय बरहठवाका डिएसपी उद्धवसिंह भाट, सशस्त्र प्रहरीका इन्सपेक्टर राजकुमार झासहित २२ प्रहरी घाइते भएका हुन् ।
ढुंगामुढा हुँदा प्रहरी कार्यालयकाे सिसा समेत फुटेका छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।