add

छिटोका लागि विश्वसनीयता नै नभएको ‘एन्टिजेन टेष्ट’ गर्दै सरकार






ActPro Nepal

|

२८ असोज, २०७७

|
1363

काठमाडौं । सरकारले परीक्षणको दायरालाई फराकिलो र सहज बनाउने उद्देश्यले पीसीआर भन्दा छिटो नतिजा दिने एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्न अनुमति दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ राष्ट्रिय टेस्टिङ गाइडलाइनलाई चौथो पटक संशोधन गरी कोरोना परीक्षणमा एन्टिजेन किट प्रयोग गर्न सकिने स्वीकृति प्रदान गरेको जानकारी दिए।

जसबाट धेरै व्यक्तिको एकैपटक परीक्षण गर्नुपरे, छिटो निर्क्योल गर्नुपर्ने अवस्था रहे तथा एकै स्थानमा धेरैजना बसोबास गर्ने स्थान जस्तै ब्यारेक, कारागार तथा वृद्धाश्रम लगायतका स्थानमा एन्टिजेनमा आधारित द्रुत परीक्षण किटबाट परीक्षण गर्न सकिने छ ।

एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण गर्न राष्ट्रिय प्रयोगशालाले अनुमति दिएका प्रयोगशालाहरुले पाउनेछन्। स्वास्थ्य सेवा विभाग र एफडिएबाट स्वीकृति प्राप्त किट मात्रै प्रयोग गर्न पाइनेछ। गौतमले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम एक हजारमात्रै शुल्क लिने व्यवस्था गरिएको बताए।

परीक्षण पोजिटिभ आएमा काठमाडौंमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने र नेगेटिभ आएमा सम्बन्धित व्यक्तिलाई रिपोर्ट दिइने मन्त्रालयले जनाएको छ।

के हो एन्टिजेन किट ?

एन्टिजेन टेष्ट कोरोना भाइरस पत्ता लगाउने विधि हो। पीसीआरले जीन पत्ता लगाउँछ भने यसले भाइरसमा भएको प्रोटिन पत्ता लगाउँछ। यो कोरोनाभाइरस नै पत्ता लगाउन बनाइएको परीक्षण विधि भएको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए।

“यसले आरएनए, डिएनए पत्ता लगाउँदैन। यसले भाइरस नै पत्ता लगाउँछ। तर, यसको प्रभावकारीता भने पीसीआरभन्दा कम छ। पीसीआरलाई त गोल्ड स्ट्यान्डर्ड नै भनिन्छ,” डा. पुनले भने, “तर एन्टिजेन विभिन्न कारणले परीक्षण गर्न सजिलो छ।”

छिटो र छरितो नतिजा आउने भएकाले सरकारले यो विधिमार्फत् परीक्षण गर्न लागेको जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. झाले बताइन्। “यसबाट १५ मिनेटमा नतिजा आउँछ र निर्माण कम्पनीअनुसार कहिलेकाहीँ ५-१० मिनेट तलमाथि हुनसक्छ,” निर्देशक झाले भनिन्।

कसरी हुन्छ परीक्षण?

नेपालमा कोरोनाभाइरसको सङ्क्रमण फैलिएसँगै सरकारले आरडीटी परीक्षण थालेको थियो, जसले आधा घण्टामै नतिजा आउँथ्यो। त्यसका लागि रगत निकालेर किटमा हालेर नतिजा हेरिन्थ्यो। विश्वसनीय नभएको भन्दै पछि यो बन्द गरियो। आरडीटीले शरीरभित्र भएको एन्टिबडी तयार भए/नभएको पत्ता लगाउने विधि हो। तर, एन्टिजेनले भने शरीरमा भएको कोरोनाभाइरस नै पत्ता लगाउने डा. पुनको भनाइ छ।

एन्टिजेन पनि स्वाब सङ्कलन गरेर किटमा १५ मिनेट जति राखिन्छ। त्यसबाट कोभिड-१९ को नतिजा आउने डा. पुन बताउँछन्, “यो पीसीआर परीक्षणजत्ति लामो समय कुर्नुपर्दैन।” उनी थप्छन्, “पीसीआर परीक्षण ल्याबका लागि अत्याधुनिक प्रयोगशालासमेत निर्माण गर्नुपर्छ। तर, यसलाई भने जता पनि बोकेर हिँड्न सकिन्छ। त्यही परीक्षण गर्न सकिन्छ र नतिजा १५ मिनेटमै आउँछ।”

नतिजमा भने पीसीआरभन्दा बढी विश्वास गर्न नसकिने डा. पुनको भनाइ छ। “पीसीआरबाट ७० प्रतिशत भरपर्दो नतिजा दिन्छ। तर, यसमा भने ५० प्रतिशत मात्र शुद्ध नतिजा दिने मान्न सकिन्छ,” डा. पुनले भने।

केही अवस्थामा भने यसले गलत नतिजा पनि दिनसक्ने उनी बताउँछन्। त्यस्तो अवस्थामा फेरी पीसीआर नै गर्नुपर्ने डा. पुनले बताए। “जस्तो कि कुनै मानिस कोरोना प्रभावित क्षेत्रबाट आएको छ। यसलाई सामान्य रुघाखोकी, ज्वरो आएको छ तर यस विधिले नतिजा नेगेटिभ देखायो भने त्योबेला पीसीआरकै सहायता लिनुपर्छ,” डा. पुनले भने।

भारतमा धेरै पहिलादेखि यो विधिमार्फत् परीक्षण भइरहेको छ। यस्तो अवस्थामा अरू देशमा राम्रो काम गरेको छ भनेर हामीले पनि त्यहीअनुसार परीक्षण गर्न खोज्दा राम्रो नतिजा नआउन पनि सक्ने उनी बताउँछन्। त्यसका लागि केही नमुना एन्टिजेनबाट परीक्षण गर्ने र पीसीआरमार्फत् पनि परीक्षण गराउँदा नेपालमा प्रभावकारिताबारे जानकारी लिन सजिलो हुने उनले बताए।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.