add

हस्तकलामा युवालाई सीप प्रवर्द्धन र तालिमको लागि राज्यबाट बजेट विनियोजन हुनुपर्छः अध्यक्ष शाक्य






ActPro Nepal

|

२७ असोज, २०७७

|
1474

नेपालका सम्पूर्ण हस्तकला व्यवसायीहरुको साझा संस्था नेपाल हस्तकला महासंघको नेतृत्व कलाकार सुरेन्द्रभाई शाक्यले गरिरहनु भएको छ । परम्परागत र मौलिक व्यवसायको रुपमा रहँदै आएको हस्तकला क्षेत्रमा बुबाबाट सीप सिकेर जोडिनुभएका शाक्य विगत ३८ बर्ष देखि यस व्यवसायमा संलग्न हुनुहुन्छ । शुरुका दिनमा आफ्नो घरमा नै मुर्तिकला सम्बन्धी सामानहरु उत्पादन गर्दै आउनुभएका शाक्य पछि भारत, बैंकक, युरोप फ्रान्स, जापान, जर्मनी, चीन लगायतका देशहरुमा हुने प्रदर्शनी तथा व्यापार मेलाहरुमा सहभागि भई त्यहाँको कला, सीप र बजार मागलाई बुझेर सोही बमोजिम आफ्नो व्यवसायमा पनि सुधार र परिमार्जन गर्दै आउनु भएको छ । शुरुका दिनमा सानो उद्योगबाट व्यवसाय संचालन गर्नुभएका शाक्य हाल मुख्यतः निर्यात व्यापारमा केन्द्रित हुनुहुन्छ । नेपाल सरकारले यस क्षेत्रलाई उचित रुपबाट सम्बोधन गर्नसके वैदेशिक रोजगारीबाट फर्किने धेरै व्यक्तिहरुलाई हस्तकलामा संलग्न गराउन सकिने धारणा राख्नुहुन्छ । यसको लागि ठाउँ र परिवेश बमोजिम सम्भावना रहेका क्षेत्रहरुमा युवाहरुलाई तालिम दिई त्यस सम्बन्धी काम गर्न युवाहरुलाई प्रोत्साहित गर्नुपर्ने र यस कार्यमा राज्यले निश्चित बजेट महासंघलाई उपलब्ध गराई सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार सहकार्य गर्ने अध्यक्ष शाक्यको धारणा छ ।

केही बर्ष पहिले देखि नेपालमा पनि हस्तकला क्षेत्रको शाख जोगाउँदै नयाँ पुस्ताहरुलाई यस क्षेत्रमा आकर्षित गर्नुपर्छ भन्ने मान्यता सहित नेपाल हस्तकला महासंघले विभिन्न संस्थाहरुको सहकार्यमा प्रशिक्षणहरु सञ्चालन गर्दै आएको छ । यसको अलावा महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा सार्क हस्तकला विकास केन्द्र (SHDC) समेत सञ्चालनको योजना अघि बढाएको छ ।


प्रस्तुत छ हस्तकला क्षेत्रको अवस्था, बजार सम्भावना, रोजगारी सृजना र यस क्षेत्रको थप प्रवर्द्धनको लागि गर्नुपर्ने कार्यहरु लगायतका विषयवस्तुहरु समेटेर गरिएको कुराकानीमा आधारित अन्तरवार्ताको सम्पादित अंशः

नेपालमा हस्तकला क्षेत्रको महत्व कस्तो छ ?

नेपालमा परम्परागत रुपमा चल्दै आएको हस्तकला व्यवसाय आफ्नै मौलिकता र विशिष्टता बोकेको उद्योग व्यवसाय हो । यो राम्रो सम्भावना भएको क्षेत्र पनि हो । कोभिड–१९ को असरबाट यस क्षेत्रमा पनि निकै परेको छ । विशेषगरी परम्परागत हस्तला उद्योग व्यवसाय धेरै प्रभावित भएका छन् । हस्तकलाको पौराणिक महत्व समेत रहँदै आएको छ । लिच्छवी र मल्लकालमा नै हस्तकला क्षेत्रमा थुप्रै महत्वपूर्ण कामहरु भएका पाइन्छन् । एक पुस्ताबाट अर्को पुस्तामा सीप हस्तान्तरण हुँदै अहिले सम्म आइपुगेको हस्तकला क्षेत्रमा अबका दिनमा भने सीप हस्तानान्तरण कार्य निकै चुनौतीपूर्ण देखिएको छ । कलाकार, कालिगढ र सिल्पकारहरुको सीप, अनुभव र विशिष्ट क्षमतालाई सम्मान गर्ने प्रचलन नेपालमा विकास हुन नसकेको कारण यस क्षेत्रमा नयाँ पुस्ता आकर्षित हुन सकेका छैनन् ।

हस्तकला क्षेत्रका मुख्य समस्याहरु के हुन् ?

यस क्षेत्रमा चाहिने आवश्यक स्वदेशी कच्चा पदार्थहरु प्राप्त गर्न सरकारी निकायहरु बीच आपसी समन्वय नहुँदा सहज रुपमा कच्चा पदार्थ प्राप्त गर्न सकिएको छैन । एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्न पनि कठिनाई रहेको छ । नेपाल सरकाले हस्तकला क्षेत्रलाई मात्र सम्बोधन गर्न हस्तकला नीति कार्यान्वयन नगरेकोले नीतिगत रुपमै यस क्षेत्रको समस्या सम्बोधन हुन नसकेको अवस्था छ । यस सन्दर्भमा महासंघले हस्तकला नीतिको मस्यौदा तयार गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिईसकेको छ ।

अहिले हस्तकलाजन्य वस्तुहरुको उत्पादन र निर्यातको अवस्था कस्तो छ ?

लकडाउनको ठूलो मार हस्तकला क्षेत्रमा पनि परेको छ । लकडाउन सँगै हाम्रो उत्पादन केवल १० प्रतिशतमा सीमित भएको छ । निर्यातमा ४० प्रतिशत भन्दा बढिले गिरावट आएको छ। निर्यातमा कार्गो शुल्क समेत निकै महँगो भएको छ । विगतका दिनमा साढे २ डलरमा पठाउने सामानको ढुवानी लागत अहिले बढेर साढे ६ डलर सम्म पुगेको छ । यसरी महँगो शुल्कमा केही सिमित सामानहरु मात्र पठाइएको छ । तर अवस्था सधैं यही रहने हो भने हाम्रो अवस्था निकै नै कमजोर हुने हामीले अनुमान गरेका छौं । सोहीकारण राज्यले यस सम्बन्धमा तत्काल उचित व्यवस्था गर्न पहल गरोस् भन्ने हामी चाहन्छौं ।

नयाँ पुस्तामा सीप हस्तान्तरण हुने अवस्था कस्तो छ ? यस कार्यको लागि तपाईंहरुले महासंघबाट के गर्दै हुनुहुन्छ ?
अहिलेको युवा पुस्तामा आफैं उद्यमी व्यवसायी हुने मानसिकता कम बन्दै गएको छ । उच्च शिक्षा अध्ययन गरी जागिर तर्फ आफू जोडिएको खण्डमा बाहिरबाट हेर्दा प्रतिष्ठित देखिने र जागिर सुरक्षित समेत रहने मान्यता सहित उद्योगी व्यवसायीहरुकै नयाँ पुस्ता समेत जागिरमा र हस्तकला भन्दा प्रत्यक क्षेत्रमा आकर्षित भएको वा राम्रा मानिने मुलुकहरुमा पलायन भएको पाउन सकिन्छ । हुुनतः हस्तकला राम्रो आर्थिक उपार्जनको उद्योग व्यवसाय हो । यद्यपि यस उद्योग व्यवसायमा संलग्न व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक बन्न सकेको छैन । सोही कारण यस क्षेत्रमा युवाहरु आकर्षित हुन नसकेको हाम्रो बुझाई छ ।

नयाँ पुस्तामा सीप हस्तान्तरण गर्न महासंघले नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँग सहकार्य गरी वरिष्ठ कलाकारहरुबाट प्रविधि तथा सिप हस्तान्तरणका कार्यक्रम विगत दुई बर्ष आयाेजना देखि गर्दै आएको छ ।

युवाहरुले पुर्ख्याैंंली व्यवसायलाई निरन्तरता दिन नचाहने कारणहरु के–के हुन सक्छन् ?
अहिलेका युवाहरु कम जोखिमयुक्त र बाहिरबाट हेर्दा सम्मानित काम गर्न बढी रुचाउँछन् । यस्तो अवस्थामा उनीहरुलाई नेपालमा नै राख्न कलाकार-कालिगढको विशेष प्रतिष्ठा स्थापना हुने किसिमको सम्मानजनक वातावरण सृजना गर्नु जरुरी छ । साथै अहिले सम्म कलाकारले आफूप्रति राज्यबाट विशेष सम्मान हुने स्थिति सृजना गर्न नसकेको महसुस गर्दै आएका छन् । जसले गर्दा उनीहरुलाई यस क्षेत्रमा रहेर काम गर्न थप प्रोत्साहन मिल्ने अनुमान गर्न सकिन्छ । हस्तकलाबाट युवाहरु बाहिरिनुको पछाडिको अर्को कारण भनेको यो काम आफैंमा गाह्रो हुनु पनि हो । राज्यले नेपाली मौलिक कलाको संरक्षण, प्रवर्द्धन, रोजगारी सृजना एवं राम्रो आर्थिक मेरुदण्डको रुपमा रहेको हस्तकला क्षेत्रलाई विशेष चासो सहित आफ्नो भूमिका निर्वाह नगर्दा व्यवसायीहरु अलि हतास भएको हाम्रो बुझाइ छ ।

युवा वर्गलाई यहाँले के भन्न चाहनुहुन्छ ?
अबका दिनमा नेपालका युवाहरुले पनि बुझ्नुपर्छ कि आफूले सिकेको सीप, आर्जन गरेको अनुभव र क्षमतालाई आफ्नै देशको माटोमा बगाउन सकेमात्र हामीहरुको दीर्घकालिन हित हुन सक्छ । क्षमतावान् व्यक्तिहरु नै राम्रो अवसरको खोजी भन्दै बाहिरिँदा नेपाल कमजोर, असक्त र बुढाबुढीको मात्र बसोबास भएको क्षेत्र भइरहेको छ । नेपाल आफैंमा राम्रो सम्भावना भएको देश समेत हो । यहीँ बसेर आफ्नो सीप र क्षमताबाटै राम्रो लाभ हासिल गर्न सकिन्छ । यहीँबाट नै नयाँ कुराहरु सिक्न र राम्रो आर्थिक लाभ र सामाजिक प्रतिष्ठा प्राप्त गर्न सकिन्छ । त्यसैले जे सकिन्छ, नेपालमा गरौं भन्ने मेरो युवा प्रस्ताव आग्रह छ ।

राज्यले यस क्षेत्रको थप प्रवर्द्धनको लागि के गर्नुपर्छ ?
राज्यले स्वदेशी उद्योगको संरक्षण र स्वदेशी उत्पादनको प्रवर्द्धनलाई विशेष जोड दिनु जरुरी छ । नेपाल कलाकौशलतामा सम्पन्न हुँदाहुँदै पनि थुप्रै कला र संस्कृतिहरु लोप हुने अवस्थामा रहेको कारण ती कला र संस्कृतिलाई बचाइराख्नको लागि राज्य पक्षले विशेष सहयोग गर्नु जरुरी छ ।

-नेपालमा आउने पर्यटकहरु हस्तकलायुक्त मुर्ति र चित्रहरु जडित मन्दिर गुम्बाहरु ज्स्ता सांस्कृति घरोहर र सम्पदाहरु हेर्न पनि ठूलो सङ्ख्यामा आउने गर्छन् । तर पछिल्ला पुस्ताहरु भने हाम्रो कलाकौशलता र पुरुषार्थ झल्काउने किसिमका ठूला मठमन्दिरहरु निर्माण र पृथक सृजनामा त्यति केन्द्रित भएको पाईंदैन ।

-अझैपनि भूकम्पले भत्काएका पौराणिक संरचनाहरु समेत पुनर्निमाण गर्न सकिएको छैन । यस्तो अवस्थालाई यस क्षेत्रमा नयाँ युवाहरुलाई कसरी भित्र्याउन सकिन्छ भन्ने सम्बन्धमा राज्य विशेष नीति सहित अघी बढ्नुपर्ने जरुरी छ ।

-राज्यले निजी क्षेत्रलाई सधैं नाफामूलक व्यवसायी भनेर उनीहरुका समस्या सम्बोधन गर्नबाट आनाकानी गर्दै आएको छ । निजी क्षेत्र पनि राज्यकै पूरक हो । मुनाफा केन्द्रित हुने भएपनि हाम्रो परम्परागत र सांस्कृतिक महत्व झल्काउने अलग विशेषता बोकेको हस्तकला क्षेत्रको थप विकासको लागि राज्य पक्ष सहकार्य गर्न तयार हुने हो भने यस क्षेत्रबाट ठूलो मात्रामा रोजगारी सृजना गर्न सकिन्छ । तत्काल नै राज्यले सहयोग गरेको खण्डमा देशभरबाट ठुलो संख्यामा युवाहरुलाई विभिन्न तहमा रोजगारी सृजना गर्न सकिन्छ ।

-राज्यले नेपाली हस्तकलाका बस्तुहरु सहज उपयोग गर्नु पर्ने साथै सरकारी निकायहरुले उपहार दिन नेपाली हस्कलाका बस्तुहरुको मात्र प्रयोग गर्नु पर्दछ । छिमेकी देश भारत, बंगलादेश तथा पाकिस्तानका सरकारबाट त्यहाँका ब्यवसायीहरुलाई विभिन्न अन्तर्राष्ट्रिय ब्यापार मेलामा स्टल भाडा, हवाई भाडा आदिमा अनुदान दिएझैं नेपाल सरकारबाट पनि हस्तकलाका ब्यवसायीहरुलाई पनि अन्तर्राष्ट्रिय ब्यापार मेलाहरुको लागि बिभिन्न अनुदान प्रदान गरी हस्तकला क्षेत्रको प्रवर्द्धन गर्नु पर्ने देखिन्छ ।

-निर्यातमा नगद प्रोत्साहनको दर बढाउने, सहुलियत रुपमा पुर्नकर्जाको व्यवस्था गर्ने, हस्तकला क्षेत्रका सीपमूलक, स्वरोजगारमूलक तालीमहरुमा जोड दिने र सोही अनुसार बजेट ब्यवस्था गर्नुपर्ने  जरूरी छ ।

पछिल्ला दिनहरुमा हस्तकला महासंघ के–कस्ता गतिविधिहरुमा संलग्न छ ?
पछिल्ला दिनहरुमा हामीले टे«निङ सेन्टर सञ्चालन गरी उपत्यका बाहिरका पोखरा, हेटौंडा, जनकपुर, म्याग्दी, दाङ्ग, बाजुरा, दैलेख लगायतका ठाउँहरुमा समेत तालिम सञ्चालन गर्दै आएका छौं । जुन ठाऊँमा जस्ता किसिमका उत्पादनहरुको सम्भावना रहन्छ, त्यस ठाउँमा त्यसै किसिमका तालिमहरु सञ्चालन गर्न हामी केन्द्रित छौं । काठ, बाँस, छ्वाली, पराल, अल्लो, ढुङ्गा, माटो लगायत प्र्राकृतिक । कृषि उपजका स्वदेशी वस्तुहरुमा आधारित रहेर उत्पादन गर्न सकिने वस्तु निर्माण सम्बन्धी तालिम उपलब्ध गराउनुपछ्र्र भन्ने हाम्रो धारणा छ । बाह्य मुलुकहरुमा पनि यस्ता प्राकृतिक स्रोतसाधनमा आधारित वस्तुहरुको माग बढ्दो छ । यस्तो अवस्थामा गाउँ–गाउँमा पुगेर हस्तकलाजन्य सीपमूलक तालिमहरु सञ्चालन गरेर सोही बमोजिम युवाहरुलाई रोजगार बनाउनु जरुरी छ । यसको लागि राज्यबाट नै निश्चित रकम बजेट विनियोजन हुनु जरुरी छ ।

हस्तकला क्षेत्रकोे फैलावट चाहिँ कस्तो छ ?
हस्तकला क्षेत्रको दायरा निकै नै फराकिलो छ । काष्ठकला, प्रस्तकला, फेल्ट, सुन, चाँदी, धातु, पश्मिना, थान्का प्राकृतिक रेसा, हाते कागज, जुत्ता लगायतका ४२ विधाहरुलाई हस्तकला क्षेत्र अन्तर्गत समेटिएको छ । यसरी बाहिर निर्यातको लागि राम्रो सम्भावना रहेका सामानहरु उत्पादनमा सहयोग गर्ने उद्देश्यले हामीले महासंघ मातहत बाह्य जिल्लाहरुबाट माग भए बमोजिम तालिमहरु सञ्चालन गर्न तयार छौं । अहिले पाटन, भक्तपुर, बुङ्मती लगायत स्थानहरुमा यस्ता तालिमहरु सञ्चालन गरिएको छ ।

हस्तकला महासंघ अहिले नेपालका १६ जिल्लामा विस्तार भएको छ । यसैगरी ११ वटा वस्तुगत संघहरु विस्तार भएका छन् । महासंघको तथ्याङ्क अनुसार अहिले नेपालबाट बार्षिक १० अर्ब रकम बराबरका सामानहरु निर्यात भएको देखिएपनि अनौपचारिक माध्यमबाट विदेश जाने वस्तुहरु समेत हेर्दा नेपालबाट बार्षिक रुपमा माथि उल्लेख भएको भन्दा धेरै परिमाणमा निर्यात भइरहेको अनुमान गर्न सकिन्छ ।

यस क्षेत्रका अन्य समस्याहरु के हुन् ?
यस क्षेत्रमा काम गर्ने दक्ष युवा कलाकार कालिगढ पाउन निकै गाह्रो छ । राज्यले महासंघसंग सहकार्य गर्न सकेको खण्डमा हस्तकला क्षेत्रबाट ठूलो सङ्ख्यामा ग्रामीण क्षेत्रका युवाहरुलाई रोजगारी सृजना गर्न सकिन्छ । नयाँ पिढीहरु परम्परागत शिप तथा कलामा कम रुची राख्ने हुनाले यस क्षेत्रमा नव कलाकार तथा कालिगढको अभाव हुँदै आएको छ । छिमेकी मूलुकहरुमा राज्यले दिंदै आएको बिभिन्न सुबिधा तथा प्रोत्साहनले गर्दा उनीहरुको लागत कम भएकोले हामीले छिमेकी मूलुकहरुसंग प्रतिस्पर्धा गर्न नसकको अवस्था छ ।
निकासी ब्यापारमा चाहिने बिभिन्न गुणस्तर प्रमाणित गर्न निकासीकर्ताहरुले लाखौं खर्च ब्यहोरेर विदेशमा गुणस्तर जाँचपासको लागि पठाउनुपर्ने भएकोले नेपाल सरकारले सबै वस्तुको विभिन्न गुणस्तर मापन गर्ने प्रविधि नेपालमै भित्र्याउनुपर्ने अवस्था छ ।

यहाँले अन्त्यमा के भन्नुहुन्छ ?
हामीले नेपाल हाउस निर्माणको लागि जापान, चीन लगायतका बाह्य देशहरुमा पनि पहल गरिहेका छौं । जहाँ नेपालमा उत्पादन भएका सबै हस्तकलाजन्य सामानहरु छाता मुनि प्रदर्शन गर्न सकिन्छ । यसबाट नेपालबारे अन्तराष्ट्रिय समुदायलाई चिनाउन र हाम्रो निर्यात व्यापार बढाउन पनि ठूलो सहयोग मिल्ने हामीले बुझेका छौं । साथै अबको हाम्र्रो ध्यान आयात घटाउन र निर्यात बढाउनमा केन्द्रित गरौं, हाम्रो समृद्धिको लागि निर्यात बढाऔं । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गरी मुलुकलाई साँच्ची नै समृद्धिको दिशामा अघी बढाउन सबै नेपालीले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौं ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.