काठमाडौं । सरकारी वार्ता टोली र डा. गोविन्द केसीका तर्फबाट बनेको टोलीबीच वार्ता शुरु भएको छ ।
सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेलगत्तै विहिबार शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो ।
डा. केसीको अनसनप्रति वेवास्ता गर्दै आएको सरकारले सर्वत्र दवाव भएपछि बुधबार २४औं दिनमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
डाक्टर केसी ६ बुँदे माग राखेर १९ औं अनसनमा बसेको २५ दिन पुगिसकेको छ ।
उनको स्वास्थ्यमा निकै समस्या आउन थालेकाले तत्काल आईसीयूमा सार्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् । तर डाक्टर केसीले आईसीयूमा जान अस्वीकार गरेका छन् ।
मैनालीको संयोजकत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।
सरकारले वार्ता टोली बनाएको केही समयपछि डा. केसीका तर्फबाट वार्ता गर्ने समिति बनेको थियो । डा.केसीका तर्फबाट डा.जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको छ ।
वार्ता टोलीका सदस्यहरूमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा।लोचन कार्की र अधिवक्ता ओम प्रकाश अर्याल छन् ।
केसीले सरकारसँग ०७५ साउन १० गते गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिएका नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग राखेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।