तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्वलाई लक्षित गरी पाँच स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ।
यात्रुलाई पर्न सक्ने समस्या तत्कालै समाधान गर्ने उद्देश्यले प्रहरीले पृथ्वीराजमार्गका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनको तयारी गरेको हो।
मुग्लिङदेखि कोत्रेसम्मका पाँच ठाउँमा स्थापना हुने यात्रु सहायता कक्षले यात्रुहरुका गुनासो समाधान गर्ने प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। उनका अनुसार आँबुखैरेनीको पुलजीप, बन्दीपुरको डुम्रे, व्यासको दमौली, म्याग्देको थर्पु र शुक्लागण्डकीको कोत्रेमा यस्ता कक्ष स्थापना हुनेछन्।
“चाडपर्वमा घर फर्किने यात्रुहरुको चाप हुन्छ, जसले गर्दा यात्रु ठगिने र यात्रुले दुःख पाउन सक्छन्,” उनले भने, “सर्वसाधारणको यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गर्न लागेका हौँ।”
प्रहरीले चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा योजना समेत बनाएको छ। चाडपर्वको समयमा बढी आपराधिक घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।
चाडपर्वका समयमा बढी सवारीसाधन सञ्चालन हुने भएकाले यात्रुहरुलाई सुरक्षितरूपमा यात्रा गर्ने व्यवस्था मिलाउने, सचेतना लगायतका कार्यक्रम सञ्चालन गरिने बताइएको छ। -रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।