add

बजार अनुगमन : फलफुलको खुद्रा बिक्रीमा व्यापारीकाे मनलाग्दी भाउ, उपभाेक्ता ठगीमा






ActPro Nepal

|

१८ असोज, २०७७

|
1101

काठमाडौं । काठमाडौंका फलफुल पसलमा अहिले भारतीय स्याउको मूल्य २०० देखि २५० रुपैयाँसम्म छ । यो स्याउ कुलेश्वर फलफुल बजारमा आउँदा १२० रुपैयाँमा आइपुग्छ । कुलेश्वरमा यही स्याउको मूल्य १८० देखि १९० रुपैयाँसम्म पनि पर्थ्याे ।

त्यतिबेला लगेको स्याउ बिक्री गर्दा खुद्रा व्यापारीले जुन मुल्यमा बेचेका थिए, अहिले भाउ घटेका बेला पनि उही मूल्यमा बेचिरहेका छन् । खुद्रा व्यापार गर्नेको खरिद मूल्य कसले सोध्ने ? थाहै नपाइ उपभोक्ताले खुरुखुरु बढी मूल्य तिरिरहेका छन् । व्यापारीले जति भन्यो फलफुलको मूल्य उति नै हो !

बजारको स्टल ७ मा तिवारी फ्रुट सेन्टर छ । यस सेन्टरमा स्टल १५ को कृष फ्रुट सेन्टरबाट असोज १३ र १४ गते क्रमशः ८१ ह्जार ९०० र ८७ हजार ३६० रुपैयाँ मूल्यका फलफुल पठाइयो । यो विवरण उनीहरुले कागजको पानामा टिपे तर बिल बनाएनन् । बजारको नन्द फ्रुटले २०७४ सालमा आय कर ५ हजार बुझायो । कसैले माग्दा उनले अहिले देखाउने कागज त्यही हो । बजारमा मुल्य सूची अद्यावधिक छैन । खरिद बिक्री बिल जारी छैन ।

एकजनाका नाममा पसल दर्ता गरेर अरुले नै चलाइरहेका छन् । त्यहाँ १६२ सटरमा व्यापार चलेको छ । तीमध्ये केही सटर कृषि सामाग्री व्यापार लिमिटेडका हुन् भने अन्य निजी क्षेत्रले निर्माण गरेका हुन् । निजी क्षेत्रबाट निर्माण भएका सटरको मासिक भाडा ५ हजारदेखि १५ हजार रुपैयाँसम्म र कृषि सामाग्री व्यापार लिमिटेडका सटरको भाडा न्युनतम ४८ हजार देखि अधिकतम ६० हजार रुपैयाँसम्म छ । फलफुल व्यापारीको संघ, नेपाल फलफुल थोक व्यवसायी संघकाअनुसार त्यस क्षेत्रमा दैनिक करीब ५० लाख रुपैयाँ देखि ५ करोड रुपैयाँसम्मको व्यापार हुन्छ ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले आइतबार कुलेश्वरमा रहेको फलफुल बजारमा अनुगमन गरेपछि देखिएको यो अवस्थापछि प्रतिक्रिया दिँदै कृषि विभागका प्रमुख हरिबहादुर भण्डारी भन्छन्- ‘फलफुलको मूल्य निर्धारण गर्ने आधार कागज देखिएन । दर्ता नविकरण, खरिद-बिक्री बिल कसैले देखाउन सकेनन् । बिल माग्दा कसैले मेरो अडिटरसँग छ भने । कसैले घरमा छ भने । अवस्था सुधारका लागि हामीले समितिमार्फत् अनुरोध गरेका छाैँ ।’

‘गल्ती भएकै हो । यसलाई सुधार गर्ने प्रयास गर्छाैँ’, अनुगमनपछिको प्रतिक्रियामा नेपाल फलफुल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले भने । यस्तै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्छन्, ‘फलफुलको थोक र खुद्रा पसलमा कति मूल्य फरक छ ? छुट्याउने आधार भएन । व्यापारीले जति भन्यो उति मूल्य तिर्नुबाहेक उपभोक्तासँग विकल्प छैन । यहाँ ठूलो ठगी भइरहेको छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.