नुवाकोट । नेपाल र चीनको एक मात्र खुला नाका रसुवागढी फेरि बन्द भएको छ ।
निरन्तर परेको वर्षाका कारण चीनतर्फको बाटोमा ठूलो पहिरो जाँदा तीन दिनयता नाका अबरुद्ध भएको हो । चिनियाँ पक्षसँग भएको सम्झौता अनुसार दैनिक ५ कन्टेनर नेपाल भित्र्याउने भनेपनि पहिरो तथा अन्य कारणले नाका अबरुद्ध हुँदै आएको छ ।
पछिल्लो समय दैनिक एक दुई वटा कन्टेनर आउने गरेकोमा पहिरोका कारण तीन दिनदेखि नाका बन्द भएको नाका प्रमुख पुण्डबिक्रम खड्का बताउँछन् ।
आज चिनियाँ टोली पहिरोका कारण अवरुद्ध भएको बाटोको अवलोकन गर्न आएको छ । अवलोकन गरेको दुई दिनभित्र नाका पुनः सञ्चालन भैसक्ने उनीहरुले दाबी गरेको प्रमुख खड्काले जानकारी दिए । चिनियाँ पक्षले नाकामा नै पीसीआर परीक्षण भएमात्र सहज रुपमा नाका सञ्चालन गर्ने भन्दै नाकामा अबरोध गर्दै आएका थिए । चिनियाँ पक्षको मागअनुसार भन्सार कार्यालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा जानकारी गराईसकेको छ ।
नाकाका विषयमा हुने छलफलमा चिनियाँ अधिकारीको उपस्थिति नहुनेमा परराष्ट्र मन्त्रालयले नाका सहज नभए भारतमा निर्भर हुने चेतावनी दिएपछि केही दिनअधि भएको छलफलमा चिनियाँ अधिकारीहरु सहभागी भएका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार नेपालको चेतावनीपछि चिनियाँ अधिकारीले पीसीआर परीक्षणको सहज नहुनु र पूर्वाधारका कारण नाकामा अबरोध आएको बताएका थिए ।
नेपाली पक्षले नै पूर्वाधार निर्माणमा ध्यान नदिँदा नाकामा अबरोध आउने गरेको भन्दै उनीहरुले पूर्वाधार निर्माणमा पहल गर्न नेपाली पक्षलाई आग्रह गरेका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।