add

उपत्यकामा पटके कर लगाएर नदी दोहन, रातिराति हुन्छ बालुवा ओसारपसार






ActPro Nepal

|

९ असोज, २०७७

|
1177

काठमाडौं । काठमाडौँ उपत्यकाका नदी नालामा उत्खनन् गरी नदीजन्य पदार्थ ओसारपसार गर्न नपाइने व्यवस्था भएपनि तीव्ररुपमा बालुवा व्यापार फस्टाएको छ । 

स्थानीय तहले बालुवालगायत नदीजन्य पदार्थको पटके कर लगाएर उत्खनन् गरिरहेका छन् । वासिङ र खानीबाट निस्कने बालुवाका लागि ठेक्का दिएको भनेपनि नदीको बालुवासमेत चोरी निकासी बढिरहेको छ । 

वाग्मती, मनोहरा, रुद्रमती, विष्णुमतीलगायत नदीको मुहानस्थलका दायाँबायाँका नगरपालिका क्षेत्रमा बालुवाका चाङ भेटिन्छ । अवैध रुपमा उत्खनन् गरिएको बालुवा राति ओसारपसार हुन्छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना बालुवाको यस्तो व्यापार हुने गरेको स्वीकार गर्दै यो विषय आफूले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको बैठकमा उठाए पनि सुधार हुन नसकेको स्वीकार्छन् । 

थप कुरा आफूलाई थाहा नभएकाले नगर प्रमुख सन्तोष चालिसेसँग सम्पर्क गर्न उहाँले सुझाव दिनुभयो । यससम्बन्धमा प्रतिक्रिया लिन नगरप्रमुख चालिसेसँग पटकपटक सम्पर्क गर्दा पनि उहाँ उपलब्ध हुनुभएन । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख नविन कार्की राजधानीमा नदीजन्य पदार्थ निकाल्न नपाइने भए पनि सबै नगरपालिकाले ठेक्का लगाएको बताउँछन् । शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठलगायत नगरपालिकाले पटके करको ठेक्का लगाएका छन् ।

“नदीजन्य सामग्री निकाल्न नै पाइँदैन भनेपछि कसरी ठेक्का लगाइएको हो, ५० वटा जति अवैध ओसारपसारमा सक्रिय सवारीलाई समाएर कारबाही प्रक्रिया अघि बढायौँ, डेढ दर्जनलाई मुद्दा चलायौँ, नगरपालिकाले पटके कर काटेकाले कारबाही गर्नुपर्दैन भनी लेखी पठाए, नदीमा बालुवा निकाली रहेका बेला रङ्गेहात पक्रँदा खल्तीमा नगरपालिकाले थमाएको चिट देखाएर उम्केका छन्”, उनले भने । अवैध रुपमा बालुवा लिएर हिँडेकामध्ये गोकर्णेश्वरबाट बढी सवारी समातिने गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । गोकर्णेश्वर–२ मा वाग्मतीसम्म जाने सडकमा नगरपालिकाको बजेटबाट सडक स्तरोन्नति गरिएको छ ।

ठेकेदारलाई छुट

कागेश्वरी मनोहरामा गत वर्ष बालुवाको ठेक्कामा ठेकेदारलाई रु तीन करोड छुट दिएर अनियमितता भएको नगर प्रमुखका प्रत्यासी उपेन्द्र कार्कीले बताए ।  अग्रिम रु नौ करोडको ठेक्का गरेकामा विभिन्न बहानामा रु तीन करोड छुट दिइएको हो । 

आफ्ना मान्छेलाई ठेक्का परेपछि नगरपालिकाले करोडौँ छुट दिएर राजश्व काम गरेको उनको आरोप छ । “स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायिक समितिका रुपमा न्यायपालिकाको पनि व्यवस्था भयो, वैधानिक रुपमा प्रतिपक्षीको व्यवस्था नहुँदा स्थानीय सरकार पारदर्शी र जवाफदेही हुन सकेको छैन, विपक्षी दलले उठाएका विषयको सुनुवाइ समेत हुँदैन”, नेपाली काँग्रेस काठमाडौँ २ नं. क्षेत्रीय सभापति समेत रहनुभएका नेता कार्कीले भने । 

शङ्खरापुर र कागेश्वरी मनोहरा नगरपालिकाले गत आवमा बालुवाको कर उठाउन संयुक्त ठेक्का गरेका हुन् । दुवै नगरपालिकालाई समेट्ने गरी कागेश्वरीले नै ठेक्का गरेको शङ्खरापुर नगरपालिकाका प्रवक्ता हितमान तामाङले बताए । 

त्यसको कागजात सबै कागेश्वरीसँगै भएकाले आफूलाई यस विषयमा थप जानकारी नभएको उहाँको भनाइ छ । ठेक्काबाट उठेको रकमको ६० प्रतिशत वाग्मती प्रदेश सरकारलाई जाने व्यवस्था छ । बाँकीको ६० प्रतिशत शङ्खरापुर र ४० प्रतिशत कागेश्वरीमा रहने नगर प्रमुख कृष्णहरि थापाले बताए । ठेक्का सम्झौता ढिला भएकाले ठेकेदारले कर नउठाएको समयमा भने छुट दिइएको उनको दाबी छ ।

कागेश्वरीले वाग्मती र मनोहरा दुवै नदीलाई छुन्छ । नगर प्रवक्ता राजाराम पुडासैनी स्थानीयवासीले घर बनाउन नदीमा जग्गा जोडिएका कारण बालुवा निकाल्ने गरेको स्वीकार्छन । 

बालुवा निकालेकालाई घर बनाउन नक्सा पास गर्न नआए कानूनी कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । व्यावसायिक रुपमा निकाल्नेलाई भने कारबाही गरिने नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा वाग्मती र मनोहरा किनारमा व्यावसायिक रुपमा समेत बालुवाको थुप्रो लगाएको भेटिएको उनले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.