add

सङ्क्रमितहरूले चलाएको वीरगन्जस्थित नारायणी रेडियोको कथा






ActPro Nepal

|

१३ भदौ, २०७७

|
505



बीरगञ्ज । कोरोनाभाइरस महामारीमा नागरिकलाई निरन्तर सूचना उपलब्ध गराउनु आवश्यक रहेको भन्दै वीरगन्जमा रहेको नारायणी एफएमले सञ्चारकर्मीसहित सात कर्मचारीलाई कोभिड- १९ पुष्टि भए पनि आफ्नो प्रसारणलाई निरन्तरता दिएको छ ।

उक्त एफएम स्टेशन रहेको भवनमा नै आइसोलेशन बनाएर प्रसारणलाई निरन्तरता दिइएको सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का महासचिव पनि रहेका नारायणी एफएम १०३.८ मेगाहर्जका कार्यकारी निर्देशक गोविन्द देवकोटाले बताएका छन् ।

एकै पटक रेडियोमा कार्यरत धेरै जनामा सङ्क्रमण देखिएपछि उक्त एफएमले प्रसारण रोक्न सक्ने पनि ठानिएको थियो ।

तर आफूहरूमा सङ्क्रमणको लक्षण नदेखिएका अधिकांशले एफएम स्टेशनभित्रै सुरक्षित भएर बस्ने वातावरण बनाएर प्रसारणलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।

पर्सामा अहिलेसम्म २,१०० भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। तीध्ये ३२ जनाको ज्यान गइसकेको स्वास्थ्य तथा जनसङ्ख्याको तथ्याङ्कले देखाउँछ । वीरगन्जमा स्वास्थ्यकर्मीदेखि सञ्चारकर्मीसम्ममा सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी एफएममा सबैभन्दा पहिला त्यहाँका स्टेशन प्रमुख क्रान्ति शाहलाई साउन १८ गते कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो ।

त्यसपछि त्यहाँ कार्यरत सबै कर्मचारी क्वारन्टीनमा बसेका थिए। केवल एक प्राविधिकको भरमा प्रसारणलाई निरन्तरता दिइएको थियो ।

सम्भावित जोखिमलाई ध्यान दिँदै गरिएको पीसीआर परीक्षणमा साउन ३० गते एक प्राविधिकमा र भदौ ५ गते थप पाँच कर्मचारीमा सङ्क्रमण देखियो ।

त्यसअघि सङ्क्रमण नदेखिएका तीन जनाले प्रसारण हाँकिरहेको भएपनि धेरै जनामा सङ्क्रमण देखिएपछि रेडियो नै बन्द गर्नुपर्ने बाध्यकारी अवस्था आए जस्तो लागेको कार्यकारी निर्देशक देवकोटा बताउँछन् ।

उनले भने, “सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित रेडियोकर्मीलाई स्थानीय प्रशासनले फोन गरेर कोभिड अस्पतालमा लैजाने तयारी गरेको थियो ।"

"तर कर्मचारीहरूले 'महामारीमा नागरिकलाई निरन्तर समाचार तथा कार्यक्रममार्फत् सूचनाको जरुरी भएको हामीलाई थाहा छ। कुनै लक्षण नदेखिएकाले रेडियोमै आइसोलेशन बनाएर बस्छौँ' भन्नुभयो ।”

“सङ्क्रमितजतिले रेडियो प्रसारण गर्ने र अन्य साथीहरूले घरबाटै सहयोग गर्ने निर्णय भयो। उक्त हौसलापूर्ण निर्णयलाई मैले पनि नकार्न सकिनँ," उनले भने ।

"रेडियो सञ्चालन गर्छौँ भनेपछि मनमा थप ऊर्जा थपियो। अहिले रेडियो नियमित रूपमा सञ्चालनमा छ। सामुदायिक रेडियोको मूल मर्मअनुसार नेपालमा पहिलो पटक सङ्क्रमितले यस्तो सङ्कटपूर्ण परिस्थतिमा रेडियोमा नै खटिएर नागरिकलाई सूचना दिने काम गरिरहनुभएको छ ।”

नेपाली र भोजपुरी भाषामा समाचार तथा सूचनामूलक कार्यक्रम प्रसारण गर्ने उक्त एफएमका सबै रेडियोकर्मीहरूले आआफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको स्टेशन प्रमुख शाह बताउँछन् ।

चिकित्सकहरूको सुझावअनुसार घरमै अलग्गै बसिरहेका शाहले विभिन्न ठाउँका संवाददाताले पठाएका समाचारहरू सम्पादन गरेर पठाइदिने र एफएमभित्र रहेका समाचारवाचकले त्यसलाई प्रसारण गर्ने गरिरहेका छन् ।

सङ्क्रमितमध्येका समाचारवाचक शिवनाथ यादव भन्छन्, “सङ्क्रमण भएको जानकारी रेडियोमा कार्यरत रहेकै बेला थाहा पाएको थिएँ ।"

"केही दिनअघि मात्रै जोखिम तथा सङ्कटको बेलामा पनि उच्च मनोबलका साथ कसरी कामलाई निरन्तरता दिन सकिन्छ भनेर प्रशिक्षण पनि लिएको थिएँ। त्यसले परिस्थितिलाई सामना गर्न सहज भयो। अबको केही समय यस्तै हुने भएकाले सतर्कता अपनाएर जोखिमका माझ नै काम गर्न सक्ने मानसिकता बनाएर अघि बढ्न आवश्यक छ ।”

उनले थपे, “हामी पाँच जनामै कुनै स्वास्थ्य समस्या नदेखिएकाले नागरिकलाई झन् बढी सूचना अवश्यक रहेका बेला रेडियो बन्द गर्न उचित लागेन। अनि सबै सङक्रमितले मिलेर प्रसारणलाई निरन्तरता दिनुपर्ने धारणा राख्यौँ  ।”

तेह्र वर्षदेखि सञ्चालनमा रहेको एमएफ स्टेशनभित्र कोरोनाभाइरस सङ्क्रमण देखिएका व्यक्तिहरूका लागि बस्ने र सुत्ने ठाउँको व्यवस्था मिलाइएको छ ।

त्यहाँ पोषिलो आहार, आयुर्वेदिक औषधि, भिटामिन, खाद्यान्न, खाना पकाउने भाँडा र सरसफाइका सामग्रीको व्यवस्था गरिएको छ ।

पाँच जना सङ्क्रमित साथीहरू सँगै बस्दा अस्पतालको आइसोलेशनभन्दा फरक र सकारात्मक खालको वातावरण बनेको कार्यकारी निर्देशक देवकोटा बताउँछन् ।

दैनिक १८ घण्टा प्रसारणमा रहने उक्त रेडियोले आफ्ना सबै कर्मचारीका लागि एक लाख रुपैयाँ बराबरको बीमा गराएको र जोखिमपूर्ण काम गर्नेहरूलाई प्रोत्साहन भत्ता दिने निर्णय लिएको उनको भनाइ छ ।

एफएमको आइसोलेशनमा लेखा प्रशासन प्रमुख, कार्यालय सहयोगी र समाचारवाचक गरी तीन जना र दुई जना प्राविधिकहरू बसिरहेका छन्।

कार्यलयको जिम्मेवारी बाहेक नियमित शारीरिक व्यायाम गर्ने गरेको, पोषिलो खाने कुरा खाइरहेको र फुर्सदमा नाच्ने गाउने जस्ता मनोरञ्जनात्मक गतिविधि गरिरहेको उनीहरू बताउँछन् ।

वर्षौदेखि सँगै काम गर्ने क्रममा घरभन्दा बढी समय रेडियोमा बितेको उल्लेख गर्दै उनीहरूले अहिले पनि घरजस्तै वातावरण बनाएर बसिरहेको बताए ।

एफएमका प्रशासन प्रमुख विदुर गौतमले साथीहरूसँगै आइसोलेशनमा बस्दा आफूलाई सङ्क्रमित भएको अनुभव नभएको र चाँडै कोभिड-१९ मुक्त हुने विश्वास जागेको बताए ।

आइसोलेशनमा बसेका एफएमका कार्यालयका सहयोगी गणेश पौडेलले विभिन्न किसिमका परिकारहरू पकाउन र खुवाउन आफू व्यस्त हुने गरेको भन्दै त्यसबाट सकारात्मक सोच आइरहेको बताए ।

पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहान कोरोनाभाइरसको महामारीका क्रममा काममा खटिएका नारायणी एफएमका सञ्चारकर्मीले आफूलाई सङ्क्रमण भएको बेलामा खेलिरहेको भूमिकाको प्रशंसा गर्छन् ।

उनले नारायणी एफएमका रेडियोकर्मीले देखाएको आत्मबल र उनीहरूले खेलेको भूमिका गर्व गर्नयोग्य भएको बताए ।- बीबीसी


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.