झापा। झापा गाउँपालिका-३ मा प्रहरीको गोली लागी बुधबार मृत्यु भएका रफिकुल आलमका परिवारलाई १० लाख क्षतिपूर्तिवापत रकम उपलब्ध गराउनेलगायत सातबुँदे सर्वपक्षीय सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा मृतकको परिवारलाई तत्काल काजकिरिया खर्चवापत गाउँपालिकाले ५० हजार उपलब्ध गराउने छ।
त्यस्तै छोराछोरीको शिक्षादीक्षाका लागि नेपाल सरकारसँग अनुरोध गर्ने, सामाजिक सद्भाव बिग्रन नदिन दुवै पक्ष सजग रहने, क्षतिपूर्तिवापत सङ्घीय र प्रदेश सरकारसँग १० लाख उपलब्ध गराउन पहल गर्ने, शव परिवारले बुझेर परीक्षण गरी अन्त्येष्टि गर्नेलगायत सहमति भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए।
सहमतिपछि शुक्रबार परिवारले शव बुझ्ने छ। सो घटनाको थप अनुसन्धान गर्नका लागि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुखसहितको तीन सदस्यीय छानबिन समिति गठन गरेको जनाइएको छ।
छलफलमा सङ्घीय सांसद, प्रदेशसभा सदस्यसहित स्थानीय जनप्रतिनिधि, पीडित परिवार, राजनीतिक दल र सामाजिक अगुवाको सहभागिता थियो। - रासस
यो पनि पढ्नुसः
गौहत्याका आरोपीलाई छुटाउन प्रहरीमाथि आक्रमण, झडपमा गाेली लागि एककाे मृत्यु
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।