जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार एक हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र महोत्तरीबाट चार गरी २९ थपिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी गराउनुभयो ।
यस प्रदेशबाट पछिल्लो २४ घण्टामा ८२ सङ्क्रमित उपचारपश्चात निको भएर घर फर्केका छन् । सोअनुरुप रौतहटको गौर नगरपालिकास्थित गौर नर्सिङ क्याम्पसमा सञ्चालित आइसोलेसनाबाट बिहीबार चार महिलासहित १७ निको भएर घर फर्केका छन् । त्यस्तै गरुडा नगरपालिकामा नेपाल प्रहरी विद्यालयको आइसोलेसनकक्षबाट ईश्नाथ नगरपालिकाका तीन महिलासहित ४०, बोधीमाई नगरपालिकाका तीन, मौलापुर नगरपालिकाका चार, कटहरिया नगरपालिकाका तीन र राजदेवी नगरपालिकाका एक महिलासहित तीन जना निको भएर घर फर्केका छन् । अहिलेसम्म यस प्रदेशबाट ३८१ स्वस्थ्य भएर घर फर्किसकेका छन् ।
स्वाब र क्वारेन्टिनको अवस्था:-
यस प्रदेशमा ३० हजार ५४३ को स्वाब सङ्कलन गरिएकामा १३ हजार ८४२ को रिपोर्ट नेगेटिभ आएको छ भने १५ हजार ९९ जनाको स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ । त्यस्तै १३ हजार ७१६ को आरडिटीबाट परीक्षण गर्दा ६३९ को रिपोर्ट पोजिटिभ र १३ हजार ७७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यस प्रदेशमा ४२८ क्वारेन्टिनमा १८ हजार ८९४, होम क्वारेन्टिनमा आठ हजार ८१२ र आइसोलेसनमा ७०१ जना बसेका छन् ।
१७ जनाले जिते कोरोना:-
सप्तरी– कोरोना भाइरसको सङ्क्रमण देखिएका सप्तरीका १७ जना एकैपटक निको भएर बिहीबार घर फर्किएका छन् । भारतको दिल्ली, गुडगाँव, हरियाणा, पञ्जाब, महाराष्ट्र, चण्डीगढ, गुजरात, राजस्थानमा मजदुरी गरी फर्किएका एक किशोरीसहित १५ युवा र क्वारेन्टिनमा खटिँदा सङ्क्रमित दुई प्रहरी आइसोलेसनबाट बिहीबार साँझ बिदा भएका हुन् ।
हरियाणाबाट आएका बोदेबर्साइन नगरपालिका–९ का ४१ वर्षीय छुतहरु रामले गाउँ आएको एक महिनापछि घर जाँदा खुशी लागेको बताउनुभयो । आफ्ना कारणले घरपरिवार, समाजमा कोरोना फैलिन दिनु हुँदैन भनेर हरियाणाबाट गाउँ आए पनि सोझै क्वारेन्टिनमा गएको उहाँले बताउनुभयो । आइसोलेसनमा बसेको १५ दिनमा पिसीआर रिपोर्ट नेगेटिभ आएपछि खुशी भएर घर फर्किन लागेको उहाँले जानकारी दिनुभयो ।
रामसहित बोदेबर्साइन नगरपालिकाका आठ, राजविराज नगरपालिका–१० का तीन, बलानबिहुल गाउँपालिकाका दुई, खडक र बिष्णुपुरका एकरएक तथा सुरुङ्गाको क्वारेन्टिनमा खटिएका सिरहा धनगढी–१० का प्रहरी सहायक निरीक्षक र बोदेबर्साइन क्वारेन्टिनमा खटिएका पर्सा जगरनाथपुर–६ का प्रहरी हबल्दारले कोरोना जितेका हुन् ।
उनीहरुलाई राजविराजस्थित साइकष्णा कलेज एण्ड हस्पिटलमा बनाइएको आइसोलेसनमा राखिएको थियो । अस्पतालमा उपस्थित गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास, कोभिड–१९ व्यवस्थापन इन्चार्ज डा रणजीतकुमार झा, डा जितेन्द्र यादवले बिदाइ गर्नुभयो ।
स्वाब सङ्कलन स्थगित:-
धनुषा– प्रदेश नं २ को विभिन्न जिल्लामा सङ्कलन गरिएको स्वाबमध्ये आधा जतिको परीक्षण परिणाम नआएकाले बिहीबारदेखि नयाँ स्वाबको सङ्कलन स्थगन गरिएको छ । प्रदेश नं २ सरकारले विभिन्न क्वारेन्टिनमा रहेका र शङ्कास्पद व्यक्तिको सङ्कलन गरिएको स्वाबमध्ये आधाको परिणाम आउन नसकेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश नं २ मा हालसम्म ३० हजार ५४३ को स्वाब सङ्कलन गरेकामा १५ हजार ९९ जनाको स्वाबको परिणाम नआएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका उपनिर्देशक एवं वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो । अहिले प्रदेश नं २ का विभिन्न क्वारेन्टिनमा १८ हजार ८९४ छन् भने होमक्वारेन्टिनमा आठ हजार ८१२ रहेको बेलामा स्वाब परीक्षणमा भएको ढिलाइका कारणले हालका लागि स्वाब सङ्कलन रोकिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।–रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।