add

खोटाङका १२७ युवाले गाउँमै पाए राेजगारी






ActPro Nepal

|

२९ जेठ, २०७७

|
542

खोटाङ । रावाबेँसी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि १२७   युवाले गाउँमै रोजगारी पाएका छन् ।

गरिबीको रेखामुनि परेका र लामो समयदेखि बेरोजगार रहेका व्यक्ति तथा परिवार छनोट गरेर उनीहरुको जीविकोपार्जनका लागि गाउँमै रोजगारी दिइएको हो । 

ती युवालाई प्रतिव्यक्ति जनही दैनिक  ५१७ रूपैयाँ पारिश्रमिक दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । 'हरेक टोलमा रोजगार उपभोक्ता समिति बनाएर युवा परिचालन गरिएको छ', उहाँले भन्नुभयो, 'कार्यक्रममार्फत गाउँमै रोजगार पाएपछि स्थानीय बासिन्दा पनि उत्साहित भएका छन् ।'

ती युवालाई सम्बन्धित वडाभित्रको कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय भवनको रङगरोगन गर्ने, विद्यालय वरपर बगैँचा निर्माण गर्ने, विद्यालय तथा सार्वजनिकस्थल नजिक खाली रहेको जग्गामा फलफूलका बिरुवा रोप्नेलगायतका काममा खटाइएको छ । यही जेठ १ गतेबाट परिचालन गरिएका युवालाई रोजगार उपभोक्ता समितिले काममा खटाउने तथा हाजिरी राख्नेलगायतका काम गर्दै आएको रोजगार कोषका संयोजक कुमारप्रसाद दाहालले बताउनुभयो ।

छ वडा रहेको उक्त गाउँपालिकामा सो कार्यक्रमका लागि  २० लाख  दुई हजार रूपैयाँ बजेट रहेको जनाइएको छ । कोरोनाको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा सामाजिक दूरी कायम गर्दै वडा नं ५ मा २२ र अन्य वडामा २१–२१ का दरले युवा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ । 

हरेक दिन बिहान ९ देखि बेलुका ५ बजेसम्म काममा खटिने युवाले गरेका कामलाई प्रभावकारी बनाउन अनुगमन समेत गर्ने गरिएको अनुगमन समितिका संयोजक एवं गाउँपालिकाका उपप्रमुख समला राईले जानकारी दिनुभयो । अनुगमनका क्रममा कार्यक्रम प्रभावकारी भएको पाइएको संयोजक उहाँले बताउनुभयो ।

सो कार्यक्रममा रोजगार गुमाएर जिल्ला फर्किएका युवालाई समेत सहभागी गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले जानकारी दिनुभयो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सो गाउँपालिकामा बन्दाबन्दीको मारमा परेका व्यक्ति तथा परिवारलाई राहत वितरण गर्ने काम पनि भइरहेको जनाइएको छ । 

११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा प्रतिवडा  तीन लाख ५० हजार रूपैयँका दरले हरेक वडा कार्यालयमा बजेट पठाएर कार्यक्रम शुरु गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा समेत उक्त कार्यक्रम लागू भएको जनाइएको छ ।– रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.