add

जाजरकाेट घटना - फेरि अर्का युवककाे शव भेटियाे, वडाध्यक्षसहित १२ जना पक्राउ






ActPro Nepal

|

१३ जेठ, २०७७

|
1427

जाजरकाेट । शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँले बीचमा भएको झडपमा परी बेपत्ता तीन युवाको शव भेटिएको छ ।

अझै चार जना बेपता रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए ।

सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको शव फेला परेको छ  ।

सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् ।

घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिनुभयो ।

घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेद्कारी गालीगलौज गर्दै ढुङ्गामुढा गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो,-'हामीलाई देख्ने बित्तिकै केटीकी आमाले यिनीहरु कुटाइ नपुगेर फेरि आएको भन्दै गाली गर्न थालिन् ।'

उहाँले आफूहरुलाई बेसरी गाली गर्न थालेपछि फर्किएको बताउँदै भन्नुभयो,‘फर्किइसकेपछि गाउँलेहरु ढुङ्गामुढा गर्दै लखेट्दै आएपछि हामी भाग्यौँ, कोही कता कोही कता भयौँ, कतिजना भेरी नदीमा हाम्फाल्यौँ ।' करिब चार किलोमिटरभन्दा बढीको दूरीसम्म लखेटेको प्रत्यक्षदर्शी उर्मिला घर्तीले जानकारी दिनुभयो । 

भेरी नगरपालिकाबाट १९ युवा नवराजकी प्रेमिका १७ वर्षीया युवतीलाई भगाउन भनी गएका थिए । तीमध्ये १२ जना घाइते छन् । यो समाचार तयार पार्दासम्म जाजरकोट जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दोषीमाथि कारवाहीको माग गर्दै धर्ना दिइरहेका छन् ।

जिल्ला अस्पतालमा राखिएको शव परिवारले बुझ्न मानेका छैनन् । रुकुम पश्चिम जातीय छुवाछुत जिल्ला घोषणा भइसकेको छ । -रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.