ताप्लेजुङ । नजीकैको गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा निधन भएको छ । सिदिङ्वा गाउँपालिकास्थित सुरुम्खिममा भएको झगडा मिलाएर फर्कने क्रममा बाटैमा बिरामी परेका राईको गए राति निधन भएको हो ।
बुधबार दिउँसो झगडा मिलाएर फर्कने क्रममा बीच बाटामा नै अचानक बान्ता भएको र हिँड्न नसक्ने अवस्था भएकाले बाटैमा पर्ने खेवाङस्थित कुमार सार्कीको घरमा रहनुभएका राईको राति निधन भएको वडाध्यक्ष नरेन्द्र तिवारीले जानकारी दिए ।
राईसँग प्रहरीचौकीमा कार्यरत हवल्दार र एक जवानसमेत साथमा थिए । खेवाङ प्रहरी चैकीमा करिब दुई हप्ताअघि मात्रै इञ्चार्जको जिम्मेवारी सम्हाल्न पुग्नुभएका राईको घर भोजपुर रहेको र हाल दमकमा बसोबास रहेको बुझिएको अध्यक्ष तिवारीले बताए । सदरमुकामबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।