add

निको भइसकेका व्यक्तिमा कोरोना भाइरस दोहोरिने सम्भावनाबारे यसो भन्छन् विज्ञ






ActPro Nepal

|

२२ वैशाख, २०७७

|
658

काठमाडौं । नेपालमा कोरोना भाइरसको उपचारपछि चिकित्सकहरूका अनुसार निको भइसकेका दुई जनालाई एक हप्ताभित्रै फेरि अस्पताल भर्ना गर्नुपर्ने भएपछि भाइरस दोहोरिने सम्भावनालाई लिएर प्रश्नहरू उठ्न थालेका छन्।

रौतहटका १९ वर्षीय युवक र अर्का भारतिय जमातीको स्वास्थ्यमा समस्या देखिएपछि  वीरगञ्जस्थित नारायणी अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए।

‘उनीहरुलाई फेरि पनि कोरोना भाइरस सङ्क्रमण नै भएको हो भनेर अहिले भन्न सक्ने अवस्था छैन, रिपोर्ट आएपछि मात्रै पुष्टि हुनेछ,’ उपाध्यायले थपे। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चौथो पीसीआर रिपोर्ट निगेटिभ भएको पठाएपछि अस्पतालले उनलाई वैशाख १४ गते डिस्चार्ज गरेको थियो।

अस्पतालका अनुसार आइशोलेनशमा १२ दिनसम्म राखिएका युवकलाई केही दिन घरमै क्वारन्टीनमा बस्नेगरी घर पठाइएको थियो। वैशाख २ गते उनलाई पहिलो पटक अस्पताल भर्ना गरिएको थियो।

यसै सन्दर्भमा बीबीसी नेपालीका गनी अन्सारीले दुईजना विज्ञसँग सङ्क्रमण भएर उपचारपछि निको भइसकेका व्यक्तिमा कोरोना भाइरस दोहोरिने सम्भावनाबारे कुराकानी गरेका छन्।

सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी

"रौतहटका १९ वर्षीय युवक र अर्का भारतिय जमातीलाई निको भयो भन्ने कसरी निर्क्योल गरियो र अस्पताल बसिरहँदा उनमा रोगको जटिलता देखाउने सूचकाङ्क कस्ता देखिए लयागतका कुरा नबुझी मैले टिप्पणी गर्न मिलेन। उनलाई साँच्चै निको भएको थियो वा थिएन? त्यही रोगको निरन्तरता हो कि अर्को समस्या भएको हो?

चीन र दक्षिण कोरियाबाट डेढ-दुई सय जनाको त्यस्तो रिपोर्ट आएका छन्। नेगेटिभ देखिएका व्यक्तिहरूमा एक-दुई हप्तापछि पोजिटिभ देखिएको कुरा त्यसमा छ। त्यसकारण कोरोनाभाइरसबारे धेरै दुविधा देखिएको हो।

भाइरसले हाम्रो शरीरमा आक्रमण गरिसकेपछि शरीरले रोगप्रतिरोधी क्षमता बनाउन नसकेको हो कि भन्ने शङ्का गर्ने हिसाबले यसबारे चर्चा भएको हो। तर यो एकदमै सानो समूह हो। अर्को कुरा पोजेटिभ आउनुपर्ने व्यक्तिमा कुनै तरिकाले निगेटिभ आएको सम्भावना पनि हुन सक्छ।

अनि पीसीआर आफैँमा रोगको सूचक होइन। उदाहरणका लागि क्षयरोग निको भइसकेका मानिसमा छ महिनापछि पनि खकार परीक्षण गर्दा कहिलेकाहीँ पीसीआर पोजिटिभ आउँछ। मरिसकेका भाइरसका टुक्रा पछिसम्म शरीरमा रहिरहन सक्छन्। त्यसो हुनाले पीसीआर देखिँदैमा भाइरस फर्किन्छ भनिहाल्न मिल्दैन।

पछि पीसीआर पोजिटिभ देखिएका व्यक्तिहरूमा सङ्क्रमणका लक्षण चाहिँ देखिएका छैनन्। एउटा कुरा के छ भने यो भाइरसप्रति रोगप्रतिरोधी क्षमता कत्तिको बलियो हुन्छ, कत्ति लामो समय रहने भन्ने कुरा हामीलाई अहिलेसम्म थाहा भइसकेको छैन। अरू भाइरसहरूको अनुभवबाट के देखिन्छ भन्ने तुरुन्तै फर्किहाल्दैन, कम्तीमा दुई-चार हप्तादेखि दुई-चार महिनासम्म पटक्कै फर्किँदैन।

रौतहटको घटनामा पुनः फर्किएको पक्कै होइन होला। बरू बिरामीलाई पहिला नै निको भइसकेको थिएन कि? अथवा अरू नयाँ कारण हो कि? त्यतातिर हामीले सोच्नुपर्ने हुन्छ। अर्को कुरा यो नयाँ कोरोनाभाइरस आएको समय पनि धेरै भइनसकेकोले अरू भाइरससँग तुलना गर्न समस्या भएको हो।

अलि राम्ररी जानकारी हुनका निम्ति कम्तीमा ६-७ महिना लाग्छ। गत डिसेम्बर महिनाको अन्त्यतिर नयाँ कोरोनाभाइरस चीनको वुहानमा पहिलो पटक पाइएको बताइन्छ।"

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन

"५-६ महिना वा एक वर्षपछि त्यसको 'रेजिड्यू'का कारण (बाँकी रहेको कुनै अंश) कुनै समस्या देखिन्छ भने बेग्लै कुरा हो।उदाहरणका लागि चिकनगुनिया भाइरसले वर्षसम्म हाडजोर्नी दुखाउने समस्या निम्त्याइराख्छ भन्ने अनुसन्धानले देखाएको छ।

त्यस्तो खालको कारणले त्यसको प्रभाव पछिसम्म रहन्छ भने आगामी दिनमा अध्ययन-अनुसन्धानको विषय बन्न सक्छ। तर अहिले कोरोनाभाइरस सङ्क्रमित लाखौँ व्यक्ति निको भएर गइसकेका छन्। उनीहरूमा तत्काल समस्या उत्पन्न भएर फर्केर आएको देखिएको छैन।

कोरिया र चीनमा केही मानिसमा चाहिँ निको भइसकेर पछि पोजिटिभ देखिएको विवरण आएका छन्। त्यसबारे विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को पनि चासो रहेको देखिएको छ।

नभए कोरोनाभाइरसको उपचारपछि निको भएर गइसकेको मान्छेमा त्यस्तो समस्या देखिएको छैन। अर्को कुरा यो भाइरस कुन समयमा बढी सक्रिय हुन्छ र कुन बेला निष्क्रिय हुन्छ अथवा यसको सङ्क्रमण कति लम्बिन सक्छ भन्ने कुरा यकिनका साथ अहिल्यै भन्न सक्ने अवस्था छैन।" बीबीसी 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.