add

'होम क्वारेन्टाइन' मा नबस्ने पक्राउ






ActPro Nepal

|

१६ वैशाख, २०७७

|
667

खोटाङ । ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् । 

कोरोना सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा उलङ्घन गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको हो । 

घरबाट निस्केर डुलिरहने, मादक पदार्थ सेवन गर्ने र होहल्ला गर्दै हिँडेको अवस्थामा वडा–४ बडहरेका २० वर्षीय एक युवकलाई गएराति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक दिनेशप्रसाद खरेलले बताए ।

‘पक्राउ परेका युवकलाई छुटाउन राजनीतिक दलकै कार्यकर्ताबाट दबाब आइरहेको छ’, उनले भने, ‘आफूले गरेको कबुलियतनामा उलङ्घन गर्नेलाई सम्बन्धित वडाध्यक्षको रोहबरमा वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा राखिनेछ ।’

गत शनिबार वडा नम्बर–८ धितुङका दुई युवतीले पनि होम क्वारेन्टाइन उलङ्घन गरेकामा पक्राउ परेका थिए । पक्राउ परेका १७ वर्षीया र २१ वर्षीया दुई युवतीलाई वडाध्यक्षको रोहबरमा वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा १६ दिनका लागि राखिएको छ ।

बन्दाबन्दीका कारण काठमाडौँबाट घर फर्कन नपाएकालाई नगरपालिकाले गत बिहीबार र शुक्रबार २५ वटा बस रिजर्भ गरेर एक हजार २६७ जनालाई घर फर्काएको थियो । 

ती नगरवासीलाई १४ दिनसम्म होम क्वारेन्टाइन बस्ने, सामाजिक दुरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका दश बुँदे कबुलियतनामा गराएर ल्याइएको नगरप्रमुख इवन राईले बताए ।

‘सङ्क्रमण फैलिन नदिनका लागि नगरपालिका सचेत छ’, उनले भने, ‘कबुलियतनामा उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही हुन्छ ।’ शहरबाट घर प्रवेश गर्ने व्यक्तिसँगै सङ्क्रमण पनि भित्रिने खतरा छ । 

शहरबाट गाउँ फर्किएकाहरु भेला भएर खोलामा माछा मार्ने, वनभोज खाने तथा डाँडा घुम्न जान थालेपछि त्रास फैलिएको हो ।

हाल जिल्लाको रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाले पनि आफ्नो नागरिकलाई काठमाडौँबाट घर ल्याउने तयारी गरिरहेको छ । 

हलेसी तुवाचुङ नगरपालिकाले शहरमा बसिरहेका स्थानीयलाई आफैले गाउँमा ल्याए पनि जिल्लाकै अन्य स्थानीय तहका सर्वसाधारण समेत आफै घर भित्रिरहेको जयरामघाट नाकामा स्थापना गरिएको हेल्थडेस्कको तथ्याङ्कमा उल्लेख छ ।– रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.