दिनेश पाण्डे
नुवाकोट थानसिङ्-२ (हाल लिखु-६) मा जन्मी राजधानी काठमाडौंमा बसोबास गर्दै स्कुल तथा कलेजमा स्थायी शिक्षण पेसा सम्हाल्दै तथा समयसमयमा पौराणिक प्रवचन समेत गर्दै आउनुभएका कविताविधाका नवोदीयमान व्यक्तित्व दिनेश पाण्डे द्वारा यस कृतिमा अवधूत दत्तात्रेयको वेदान्तमय वाणीलाई सबैले बुझ्ने गरी नेपाली भाषामा समछन्दमा राखिदिनुभएको छ।
हुन त आजको भोगविलासको जमानामा यस्ता पुस्तक पढ्ने रुचि कमैमा मात्रै पाइन्छ । तथापि अहङ्कारबाट ओङ्कारतर्फ तथा संसारबाट परमात्मातर्फको यात्रामा गतिशील रूपले अघि बढ्न चाहनेहरूलाई भने यो कृतिले पक्कै पनि सहयोग गर्नेछ भन्ने विश्वास हामीलाई छ।
हाम्रो एक्ट प्रो नेपाल डट कम मार्फत यस कृतिलाई प्रत्येक हप्ता शनिवार प्रकाशित गरिँदैछ।
अवधूतगीताका केही रोचक श्लोकहरू गुनगुनाउँदै जाँदा सोको नेपाली गुनगुनाहट पनि सुरु भएपछि पूरा पुस्तककै नेपाली भावानुवाद गर्ने सोच मनमा आई यौटा सिङ्गो कृति नै तयार हुन पुगेकोमा लेखक आफूले कहिल्यै नसोचेको कुरा हुन गएको बताउनुहुन्छ । अनुष्टुप्, इन्द्रवज्रा, उपेन्द्रवज्रा, तोटक, वसन्ततिलका तथा मात्रिक शास्त्रीय समछन्दमा लेखिएको यो कृति प्रकाशोन्मुख कृति भएकोले यसमा आएका टीकाटिप्पणी तथा समीक्षाहरूलाई सम्मानपूर्वक ग्रहण गर्दै तिनलाई पुस्तक प्रकाशन गर्दा समेत ख्याल राखिने कुरा लेखकले बताउनुभएको छ।
हामीलाई विश्वास छ कि हाम्रा आध्यात्मिक तथा साहित्यप्रेमी पाठकहरूले यसलाई नियमित रूपमा पढी उचित सल्लाह समेत दिनुहुनेछ ।
लेखक परिचय
नाम- दिनेश पाण्डे
जन्म- २०३३-०१-१३
जन्मस्थान- नुवाकोट, थानसिङ्-२
हाल- काठमाडौं, टोखा-८, गोंगबु, बानियाटार
कार्यस्थल- मानसिङ् मा वि मनमैजू, ता न पा-१०, काठमाडौँ ।
अवधूतगीता (नेपाली भावानुवाद )
अध्याय २
अवधूत भन्दछन्
होस् बाल वा विषयभोगरतादि जे होस् ।
या मूर्ख सेवक कठोर गृहस्थ नै होस् ।
होस् जेसुकै गुरु कतै छ भने निमित्त ।
हीरा रछानबिच खस्छ त के अशुद्ध ।।१
शास्त्रादि ग्रन्थ गुरुले नपढून् पढून् वा ।
साना ठुला गुणहरू नपरून् परून् वा ।।
जस्तोसुकै रँग र तुच्छ मलीन नाउ।
होस् के भयो त सहजैसँग पार जाऊ।।२
चैतन्यले विना यत्न नभ झैँ यो चलाचल।
सहजै शान्तिले नित्य अँठ्याएको छ निश्चल।।३
सर्वत्र व्याप्त भै सृष्टि जो सञ्चालन गर्दछ।
मबाट भिन्न चैतन्य कसरी हुन सक्तछ ।।४
अजन्मा अविनाशी र विकल्प-भयमुक्त छु।
चैतन्यब्रह्मको झैँ म कल्याण-सूक्ष्मरूप छु।।५
पुज्दछन् देवता नित्य निराकार निरङ्ग छु।
देवता पदवी लिन्न आफैमा परिपूर्ण छु।।६
अन्तःकरणका वृत्ति जलबुद्बुद झैँ उसै।
उठ्दै ती फुट्दछन् नित्य शङ्का प्रमाद छैन क्यै।।७
मिस्रीको गुलियो साथै खुर्सानीको पिरोपन।
तीतो जो नीमको पानी साथको जो चिसोपन।।८
वस्तुबाट कसै हुन्नन् भिन्न आफ्ना गुणादिक ।
त्यस्तै प्रकृतिका साथ कहाँ पुरुष भिन्न छ।।९
नामले हीन जो ब्रह्म निष्कलङ्क जगत्पति।
बुद्धीन्द्रिय-मनोभिन्न चैतन्य सूक्ष्म हो अति ।।१०
यस्तो जो सहजावस्था जहाँ सम्पूर्ण विश्व छ।
कुनै भेद जहाँ छैन कहाँ तिमी कहाँ म छ?।।११
गगनोपम जो हुन्छ हुन्छ आकाशको सम।
दोषहीन छ चैतन्य सर्वज्ञ पूर्ण वा सम ।।१२
पृथ्वीमा पाउ टेक्दैन उड्दैन वायुमा पनि।
पानीमा पनि गल्दैन तेज-स्वरूपको धनी ।।१३
आकाश व्याप्छ सर्वत्र आफू व्यापिन्न ऊ तर।
भित्र बाहिर यो नित्य अविच्छिन्न निरन्तर ।।१४
सूक्ष्म वा निर्गुणी आत्मा देखिन्न यो कसै गरी ।
फेला पार्दछ योगीले क्रमशः साधना गरी ।।१५
निरालम्ब छ जो योगी साधनामा निरन्तर।
गुणदोष सबै त्यागी लीन हुन्छ सधैँभर।।१६
मोहमूर्च्छा दिने रौद्र संसारविषवृक्षको ।
विषप्रभावनाशार्थ यही अमृत एक हो।।१७
भावगम्य निराकार साकार दृष्टिगम्य हो ।
अभाव-भावले मुक्त अवस्था अन्तराल हो।।१८
बाहिरी विश्वको बोक्रो जटाप्रकृति भित्र छ।
पानी झैँ ब्रह्म त्यो भित्र नारिकेल समान छ।।१९
भ्रान्तिज्ञान भए बोक्रो सम्यक् ज्ञान भयो फल।
आत्मज्ञान अझै पानी मानौँ यो छ जटाफल।।२०
यौटै छ पूर्णिमा-चन्द्र झल्झलाकार निर्मल ।
देख्नमा दुइटा आए दृष्टि नै बन्छ निष्फल ।।२१
यस्ता प्रकारले बुद्धि-भेदको छैन कल्पना ।
दाता त्यो धैर्यधारी हो करोडौं गर जल्पना ।।२२
गुरुज्ञानकृपा पाए मूर्ख वा यदि पण्डित ।
वैरागी ज्ञानवान् बन्दै संसार घुम्दछन् नित।।२३
राग द्वेष दुवै त्यागी प्राणीको हितमा रत।
धैर्यवान् दृढज्ञानीले भेट्दछन् ब्रह्मको पद।।२४
फुटे घैंटो घटाकाश बहिराकाशमा मिल्यो ।
त्यस्तै देह ढले योगी ब्रह्मस्वरूपमा मिल्यो।।२५
संसारी जीवका लागि अन्तिमा मति नै गति ।
योगीको ऐनमा छैन अन्त्यको मतिको गति।।२६
सकिन्छ मुखले भन्न विषयी व्यक्तिको गति।
मनले पनि जानिन्न योगीको परमा गति ।।२७
योगीको मार्ग यो जो छ कल्पनाले अगम्य छ।
विकल्प यसको छैन स्वयंमा सिद्धिप्राप्य छ।।२८
उत्कृष्ट तीर्थ निकृष्ट क्षेत्रमा वा मरे पनि।
योगीले गर्भ धर्दैन ब्रह्मलीन भयो अनि।।२९
सहज अझ अचिन्त्य स्पष्ट जो देख्छ रूप
यदि विधि र निषेध त्यागिए छैन दोष।।
अलिक पनि क्रिया क्यै जे गरोस् वा त्यजोस् जो
जनम मरण छैनन् संयमी ब्रह्मवित्को ।।३०
निरामयी निष्प्रतिमा निराकृति ।
निराश्रयी वा अशरीर अक्षयी ।।
निर्द्वन्द्व निर्मोह अलुप्तशक्ति छ ।
चैतन्यमा मिल्दछ जीव वास्तव ।।३१
न मन्त्र दीक्षा न क्रिया न मुण्डन ।
न शिष्य आचार्य न यन्त्रभूषण।।
न हस्तमुद्रा उसको छ वस्तुतः।
चैतन्यमा मिल्दछ जीव वास्तव ।।३२
न शाम्भवी शक्ति छ मानवी न वा।
न पूर्व निर्माण न व्यक्त नै जहाँ ।।
आरम्भ निष्पत्ति कहाँ वहाँ तब।
चैतन्यमा मिल्दछ जीव वास्तव ।।३३
स्वरूप जो यो छ जगत् चराचर ।
उत्पत्ति मध्यान्त सबै सरासर।।
उठ्ने र फुट्ने जलबुद्बुदा बुझ।
चैतन्यमा मिल्दछ जीव वास्तव ।।३४
निरोध नासाग्र न दृष्टि आसन।
अज्ञान वा ज्ञान कुनै छ भास न।।
के चल्छ नाडी जब जो छ शाश्वत ।
चैतन्यमा मिल्दछ जीव वास्तव ।।३५
नानापना एकपना न शून्यता ।
अणुत्व दीर्घत्व महत्त्व मेयता ।
धेरै न थोरै न समत्वभाव छ।
चैतन्यमा मिल्दछ जीव वास्तव ।।३६
न संयमी हो न त वा असंयमी ।
न सङ्ग्रही हो न त वा असङ्ग्रही ।
निष्काम हो वा न सकाम वस्तुतः।
चैतन्यमा मिल्दछ जीव वास्तव ।।३७
न बुद्धिवाला न शरीर इन्द्रिय ।
तन्मात्र नै छैन न पञ्चभूत छ।।
न ता अहङ्कार नभःस्वरूप छ।
चैतन्यमा वास्तव जीव मिल्दछ।।३८
निषेध अर्थात् विधि छैन केही ।
ब्रह्मस्वरूपी जब हुन्छ योगी।।
न लिङ्गको भेद न शुद्धिभावना ।
छैनन् कुनै वास्तव ऐन कानुन।।३९
जानिन्न आत्मा मनले कदापि
गरिन्न व्याख्या मुखले तथापि।
जहाँसुकै मिल्छ गुरूपदेशता
एकै छ आत्मा सबमा जतातता।।४०
इति दिनेशपाण्डेयकृते दत्तात्रेयावधूतगीतानुवादे द्वितीयोsध्याय:।।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।