नुवाकोट थानसिङ्-२ (हाल लिखु-६) मा जन्मी राजधानी काठमाडौंमा बसोबास गर्दै स्कुल तथा कलेजमा स्थायी शिक्षण पेसा सम्हाल्दै तथा समयसमयमा पौराणिक प्रवचन समेत गर्दै आउनुभएका कविताविधाका नवोदीयमान व्यक्तित्व दिनेश पाण्डे द्वारा यस कृतिमा अवधूत दत्तात्रेयको वेदान्तमय वाणीलाई सबैले बुझ्ने गरी नेपाली भाषामा समछन्दमा राखिदिनुभएको छ।
हुन त आजको भोगविलासको जमानामा यस्ता पुस्तक पढ्ने रुचि कमैमा मात्रै पाइन्छ । तथापि अहङ्कारबाट ओङ्कारतर्फ तथा संसारबाट परमात्मातर्फको यात्रामा गतिशील रूपले अघि बढ्न चाहनेहरूलाई भने यो कृतिले पक्कै पनि सहयोग गर्नेछ भन्ने विश्वास हामीलाई छ।
हाम्रो एक्ट प्रो नेपाल डट कम मार्फत यस कृतिलाई प्रत्येक हप्ता शनिवार प्रकाशित गरिँदैछ।
अवधूतगीताका केही रोचक श्लोकहरू गुनगुनाउँदै जाँदा सोको नेपाली गुनगुनाहट पनि सुरु भएपछि पूरा पुस्तककै नेपाली भावानुवाद गर्ने सोच मनमा आई यौटा सिङ्गो कृति नै तयार हुन पुगेकोमा लेखक आफूले कहिल्यै नसोचेको कुरा हुन गएको बताउनुहुन्छ । अनुष्टुप्, इन्द्रवज्रा, उपेन्द्रवज्रा, तोटक, वसन्ततिलका तथा मात्रिक शास्त्रीय समछन्दमा लेखिएको यो कृति प्रकाशोन्मुख कृति भएकोले यसमा आएका टीकाटिप्पणी तथा समीक्षाहरूलाई सम्मानपूर्वक ग्रहण गर्दै तिनलाई पुस्तक प्रकाशन गर्दा समेत ख्याल राखिने कुरा लेखकले बताउनुभएको छ।
हामीलाई विश्वास छ कि हाम्रा आध्यात्मिक तथा साहित्यप्रेमी पाठकहरूले यसलाई नियमित रूपमा पढी उचित सल्लाह समेत दिनुहुनेछ ।
लेखक परिचय
नाम- दिनेश पाण्डे
जन्म- २०३३-०१-१३
जन्मस्थान- नुवाकोट, थानसिङ्-२
हाल- काठमाडौं, टोखा-८, गोंगबु, बानियाटार
कार्यस्थल- मानसिङ् मा वि मनमैजू, ता न पा-१०, काठमाडौँ ।
अवधूतगीता (नेपाली भावानुवाद )
अत्यन्त क्षोभित हुँदा पढिहेर गीता
संसारका वश हुँदा पढिहेर गीता ।।
वैराग्यबीज नगढे मन भाँडिए वा
अध्यात्म जान्नु छ भने पढिहेर गीता ।। क
नैराश्यले पिरलिँदा पढिहेर गीता
योगादिमार्ग नबुझे पढिहेर गीता ।
षड्शत्रुका वश परी मन आँत्तिँदा वा
षड्यन्त्र-का-रण परे पढिहेर गीता ।। ख
निष्काम बन्नु छ भने पढिहेर गीता
सत्कर्म सिक्नु छ भने पढिहेर गीता ।
पाइन्न मानुष जुनी पछि फेरि फेरी
साँच्चै मनुष्य अब बन्नु छ हेर गीता ।। ग
अध्याय १
उल्था : अवधूतगीता
भयमुक्त बनूँ भन्ने जो हो अद्वैतवासना।
भगवान्को कृपाबाटै उत्पत्ति हुन्छ खासमा ।। १
जो आफैमा छ सम्पूर्ण आफैबाट अभिन्न छ।
वन्दना के गरूँ मैले जो निराकार नित्य छ।। २
यो पञ्चभूतको सृष्टि मरीचिजलको सम।
वन्दना कसको होला आफै जो छ निरञ्जन।। ३
आत्माव्याप्त जगत् सारा के भेद वा अभेद छ।
छ वा छैन कुनै छैन यही आश्चर्य लाग्दछ।। ४
वेदान्तसारसर्वस्व ज्ञान-विज्ञानसम्मत।
आफै आत्मा निराकार सर्वव्यापी स्वभावतः।। ५
यौटै हो सबको आत्मा आकाशसम निष्कल।
म हुँ त्यै छैन शंका क्यै स्वभावशुद्ध निर्मल ।। ६
अक्षयी र हुँ अव्यक्त शुद्धविज्ञानविग्रह।
दुनियाँको म के जानूँ सुखदुःखादि संग्रह।। ७
न शुभाशुभ कर्मादि मन बुद्धि शरीरका ।
शुद्धज्ञानामृतावस्था अतीन्द्रिय हुँदा सदा ।। ८
मन आकाश जस्तै छ सर्वतोमुख नित्यशः।
आफै ऊ सृष्टिकर्ता हो सदा चैतन्यभिन्न छ।। ९
नभभन्दा अझै सूक्ष्म आफै सम्पूर्ण सृष्टि छ।
प्रत्यक्ष कसरी देखूँ जो आफैभित्र नित्य छ ।। १०
समभाव लिई सारा प्राणीमा वास गर्दछौ ।
सदा प्रकाशवान् आफै के रात दिन गन्दछौ। ११
सर्वत्र सृष्टिमा व्याप्त आत्मा एक निरन्तर ।
ध्याता यो ध्येय यो भन्ने कसरी भेद हुन्छ र। १२
जन्मियौ न मर्यौ कैल्यै शरीर कसरी भयो ।
‘सर्वं खलु इदं ब्रह्म’ मानेमा वेदवाक्य यो।। १३
तिमी बाहिर वा भित्र बस्छौ पूर्ण जतासुकै ।
यताउता कता डुल्छौ भ्रान्त बन्दै पिशाच झैँ ।। १४
न तिम्रो न त वा मेरो संयोग वा वियोग छ।
म तिम्रो न तिमी मेरो आत्मस्वरूप मात्र छ।। १५
शब्दादि पञ्चतन्मात्रा विना सम्बन्ध धर्दछौ।
आफै पूर्ण परं तत्त्व चिन्ता बेकार गर्दछौ।। १६
हे जीव ! जन्मने मर्ने बन्धमोक्ष शुभाशुभ ।
सबै हुन् मनका धर्म बुझी आनन्दमा डुब।। १७
रे चित्त ! किन छौ भ्रान्त पिशाच झैँ छ धावन ।
सबैमा टम्म आफै छौ त्यागी राग सुखी बन।। १८
बन्धमोक्षादि निष्कम्प सारा विकारवर्जित ।
विराग रागले मुक्त छौ न संत्रस्त हर्षित ।। १९
चारै वेद यही भन्छन् शुद्ध निर्गुण अद्वय ।
अशरीर छ जो तत्त्व आफै हौ जान निश्चय ।। २०
साकार सब झूटा हुन् निराकार निरन्तर ।
यति जाने सबै जान्यौ पुनर्जन्म कहाँ छ र।। २१
सबैमा सम यो तत्त्व भन्दछन् ज्ञानवान् नर।
रागत्याग गरे पश्चात् द्वैताद्वैत कहाँ छ र।। २२
अनात्म जो रूप कहाँ समाधि।
स्वरूप आत्मा छ कहाँ समाधि ।
एकाग्रमा बद्ध र मुक्तमा झन्।
आवश्यकै छैन यहाँ समाधि ।। २३
विशुद्ध अव्ययी साथै अजन्मा छौ विदेह छौ।
आत्मा जानिन्छ जानिन्न अझै यो किन भन्दछौ ।। २४
‘तत् त्वम् असि’ पढी आत्मा गराऊ प्रतिपादित ।
‘नेति नेति’ भनी जान्नू संसार पाञ्चभौतिक ।।
आत्मस्वरूप आफै छौ ब्रह्माण्ड पूर्ण पार्दछौ।
ध्याता र ध्येय आफै छौ निर्लज्ज ध्यान गर्दछौ ।। २६
ज्ञाता म आत्मा परमार्थतत्त्व ।
ज्ञेयस्वरूपी गगनोपमत्व।
ज्ञाता र ज्ञेय द्वय एक टम्म ।
यो दिव्य आत्मा कसरी भजूँ म।। २७
समान भिन्न यो छैन कल्पनाहेतु हैन यो ।
ग्राह्य ग्राहक यो हैन स्वसंवेद्य कहाँ छ यो। २८
छैनन् यहाँ वस्तु अनन्तरूपी ।
पदार्थ पो के छ र तत्त्वरूपी।
आत्मा छ यौटै परमार्थतत्त्व ।
मार्ने न मर्ने न त मृत्युरूपी।। २९
फुटे घैँटो घटाकाश महाकाश अभिन्न छ।
मनशुद्धि भए पश्चात् कहाँ जीव र ब्रह्म छ।। ३०
न घडा न घटाकाश न जीव वा शरीर छ।
वेद्य वेदक के होलान् जहाँ केवल ब्रह्म छ।। ३१
अविनाशी छ जो ब्रह्म जहाँतहीँ सदा छ यो।
शून्याशून्य दुवैभित्र साक्षीस्वरूप जान यो।। ३२
न वेद वा लोक न यज्ञ देवता।
न जाति वर्णाश्रम वा कुलीनता ।।
न धूम वा दीप्ति अनेकमार्ग।
सम्पूर्णमा श्रेष्ठ छ ब्रह्ममार्ग।। ३३
अपरोक्ष परोक्षादि जहाँसम्म तँ मान्दछस् ।
व्याप्य-व्यापकको भाव त्यागी के मुक्त बन्दछस् ।। ३४
समतत्त्व नजान्ने जो द्वैताद्वैत-विवर्जित।
कैयौँ छन् द्वैतका प्यारा कय्यौँ अद्वैत-पण्डित।। ३५
जो तत्त्व रङ्गशब्दादि तथैव गुणरिक्त छ।
बोली वा मनले व्याख्या को यहाँ गर्न सक्दछ ।। ३६
आकाशवत् सबै शून्य देहादि दृष्टिगोचर ।
जान्दछन् जसले ब्रह्म अनि द्वैत कहाँ छ र ।। ३७
ब्रह्म वा जीवचैतन्य अभिन्न प्रतिभासमा ।
नभ झैँ ब्रह्म यो जाने ध्याता ध्यान कहाँ वहाँ ।। ३८
म जे गर्दछु जे खान्छु दान वा होम गर्दछु ।
कुनै ती होइनन् मेरा जन्म-अन्त्यविहीन छु।।३ ९
आकारले हीन छ सृष्टि सारा ।
विकारले हीन छ सृष्टि सारा ।
यो मात्र यौटा छ विशुद्ध देह।
शिवस्वरूपी बुझ सृष्टि सारा ।। ४०
स्वयं तत्त्व तिमी नै हौ शंका छैन कुनै सुन ।
स्वसंवेद्य असंवेद्य मान्दछौ कसरी भन।। ४१
तिमी छौ एउटै तत्त्व व्योमाकार निरञ्जन ।
माया छाया अमाया वा अछाया छ यहाँ कुन।। ४२
म छैन कहिल्यै बद्ध आदिमध्यान्तमुक्त छु।
हो निश्चय स्वभावैले सदा निर्मल शुद्ध छु।। ४३
कार्यरूप छ जो सृष्टि आभास छैन क्यै ममा ।
संसारै ब्रह्मको रूप वर्णाश्रम ममा कहाँ ।। ४४
पाञ्चभौतिक जो सृष्टि शून्य नै हो सधैंभर।
आफू एक निरालम्ब छु अशून्य निरन्तर ।। ४५
न बोध कल्पनारूप पुं स्त्री वा न नपुंसक।
निरानन्द न सानन्द हौ चैतन्य तिमी बुझ। ४६
षडङ्गले यो पनि हुन्न शुद्ध ।
बनोस् अझै निर्मन हुन्न शुद्ध ।
के शुद्ध गर्ला र गुरूपदेश ।
स्वयं छ यो तत्त्व सदा विशुद्ध ।। ४७
देहधारी हुँदै हैन विदेह पनि हैन रे।
संसार उसकै रूप छैनन् तीनै तुरीय के । ४८
न यो बद्ध न वा मुक्त न ब्रह्मबाट भिन्न छ।
न कर्ता हो न भोक्ता हो व्याप्यव्यापकवर्जित।। ४९
मिसाऊ वारिमा वारि वारिमा भेद हुन्छ के।
त्यस्तै प्रकृतिका साथ होलान् पुरुष भिन्न के।। ५०
जो बद्ध कहिल्यै छैन होला मुक्त कसो गरी।
निराकार र साकार मान्छौ के यो कठैबरी । ५१
परं स्वरूप यो तिम्रो प्रत्यक्ष गगनोपम।
देखिने सृष्टिको रूप मरीचिजलको सम।। ५२
छैनन् गुरु न निर्देश न वा उपाधि कर्म छ।
आकाशवत् छ निर्देह स्वभावैले विशुद्ध छ।। ५३
चित्तमा छैन सम्बन्ध छौ विशुद्ध विदेह छौ ।
अझै आत्मा परं तत्त्व मै हुँ निर्लज्ज भन्दछौ ।। ५४
नरोऊ चित्त के रून्छौ आफ्नो स्वरूपमा बस।
कलातीत र अद्वैत पिऊ अमृतको रस।। ५५
अबोध न त वा बोध न बोधाबोध नै छ यो ।
जसमा यो भयो बोध जान त्यै आत्मज्ञान हो।। ५६
न ज्ञानतर्कादि समाधिवेश।
न देशकालादि गुरूपदेश।
म हैन ती नित्य छु ज्ञानरूप ।
आकाशजस्तै सहजस्वरूप।। ५७
जन्म मृत्यु कहाँ मेरा कर्मै छैनन् शुभाशुभ ।
बद्ध वा मुक्त के होला जो निराकार निर्गुण ।। ५८
स्वयं प्रकाशवान् आत्मा व्याप्त पूर्ण चराचर ।
निरन्तर छ जो ब्रह्म कहाँ भित्र र बाहिर ।। ५९
उही चेतनसत्तामा अखण्ड सृष्टि खासमा ।
फुर्छन् माया र मोहादि द्वैताद्वैतविकल्पना ।। ६०
साकार र निराकार सर्वथा नेति नेति छ।
चैतन्यब्रह्म यो जान अभेदभेदभिन्न छ।। ६१
तेरो न माता न पिता न मित्र ।
पत्नी न वा पुत्र छ यो विचित्र ।।
न पक्षपाती न विपक्षपाती ।
तथापि चिन्ता किन हो नजाती।। ६२
दिनरात जहाँ छैन उदयास्त कहाँ भयो ।
कल्पना गर्छ को ज्ञानी? देहमा छ विदेह जो।। ६३
जान अव्यय आत्माको न असर्व र सर्व छ।
न टुक्रन्छ न सिङ्गो छ न वा दुःखसुखादि छ। ६४
अकर्ता र अभोक्ता जो कहाँ के कर्म गर्दछ ।
न आफ्नो न कुनै अर्को न वा देह विदेह छ।। ६५
देहादि दुःख के होला रागादि दोष नै नभै।
गगनोपम आत्मा यो व्याप्त जो छ जताततै।। ६६
साथी तिमीमा कति धेर भन्नु ।
यो सृष्टि सारा छ वितर्क्य जान्नू।
जो सार हो हे मन! त्यो भनेँ लौ।
चैतन्य त्यो ब्रह्म स्वयं तिमी हौ।। ६७
जो कुनै भावले होस् वा जहाँसुकै मरे भयो ।
योगीको जो घटाकाश महाकाशसँगै मिल्यो।। ६८
चाण्डालगृहमै होस् वा बेहोसी भो त के भयो।
नष्टकर्मी छ जो योगी मरेमा ब्रह्ममा गयो ।। ६९
धर्मार्थकाममोक्षादि तथा चराचरादि यी ।
मान्छन् सम्पूर्ण योगीले मरीचिवारिको सरि।। ७०
भविष्य भूत वा चल्दै गरेका सब कर्मको ।
भोग्दैनन् फल योगीले यसैमा स्थिरबुद्धि जो।। ७१
शून्यस्थलमा समरसपूत ।
एक्लै बस्दछ बुझ अवधूत।।
अहंकार त्यागी छविचित्र ।
हेर्दछ सब ऊ आफैभित्र ।। ७२
चार अवस्था छैन जहाँ तब।
स्वरूप आत्मा मात्र छ अनुभव ।
के हो धर्म र के छ अधर्म ।
बद्ध र मुक्त रहन्छ कहाँ तब।। ७३
छन्द न लक्षण यन्त्र न मन्त्र ।
समरसमग्न कहाँ अब तन्त्र ।
बन्दछ अन्तःकरण पवित्र ।
अनुभव बोल्दछ चित्र-विचित्र ।। ७४
ब्रह्म शून्य जगत् शून्य सत्य के र असत्य के ।
भन्छन् अनुभवी ज्ञानी यही बोल्दछ शास्त्रले।। ७५
इति प्रथमोध्याय
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला।
फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो
*युटुब च्यानल पनि हेर्नु होला।