काठमाडौं । सरकारले कोरोनाविरुद्ध लड्न खेलाडी, युवा तथा स्काउटहरुलाई स्वयंसेवकको रुपमा खटाउने भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले खेलाडी, युवा तथा स्काटहरुलाई कोरोना विरुद्धको अभियानमा स्वयंसेवक खटाउन समिति बनाएको छ । मंगलबार मन्त्रालयमा बसेको बैठकले युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन तथा परिचालन समिति बनाएको हो ।
मन्त्रालयले बुधबार बैठकका निर्णयबारे विज्ञप्ति निकालेर साे जानकारी दिएको हाे । विज्ञप्तिमा राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन लगायत काममा युवा, खेलाडी तथा स्काउटलाई स्वयंमसेवकको रुपमा परिचालन गर्ने निर्णय भएको उल्लेख छ ।
समितिमा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, युवा विज्ञ माधव ढुङ्गेल, राखेप सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारी, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुङ्गाना छन् ।
त्यस्तै युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतम र मन्त्रीले तोकेका एक जना विज्ञ रहनेछन् ।समिति सदस्य सचिवमा मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्मा रहेका विज्ञप्तिमा उल्लेख छ ।
कोरोना रोकथाम लागि समुदायमा स्वयंसेवक परिचालन सम्बन्धी मागदर्शन ०७६ अनुसार काम गर्न स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरी स्वंयसेवक व्यवस्थापन तथा परिचालन गर्न युवा परिचालनको जिम्मा राष्ट्रिय युवा परिषद्, खेलाडी परिचालनकाे राखेप, स्काउट परिचालनको जिम्मा नेपाल स्काउटलाई दिइने विज्ञप्तिमा उल्लेख छ ।
कोरोना विरुद्धको अभियानमा सामाजिक दुरी कायम राखेर सावधानीपूर्वक परिचालित हुन युवा, खेलाडी तथा नेपाल स्काउटलाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ । स्वयसेवकहरुले सामाजिक दूरी कायम गरेर क्वारेन्टाइन व्यवस्थापन, राहत सामग्री वितरण, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिकाे हेरचाह लगायत ताेकिएका काम गर्नुपर्नेछ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथामका लागि स्वयंसेवकको परिचालन व्यवस्थापन गर्ने जिम्मा मन्त्री विश्वकर्मालाई दिएको थियो । सोही अनुसार काम थालिएको समेत विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा कोरोना रोकथामका लागि खटिने चिकित्सक, सुरक्षाकर्मी, पत्रकार लगायतलाई समेत धन्यवाद् दिइको छ ।
विज्ञप्ति:
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।