रुपन्देही । प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालको ठाडो आदेशमा लुम्बिनी प्रादेशिक अस्पतालले ५ जना चिकित्सकहरुलाई बर्खास्त गरेको छ ।
अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विना जानकारी करीब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट बुधबार हटाइएको सूचना दिइएको अस्पतालले जानकारी दिएको छ ।
कोरोनाको महामारी संक्रमणका बेला जनतालाई सेवा दिनुपर्नेमा सेवा छाडेर अस्पतालमा समेत जानकारी नदिएकाले उनीहरूलाई सेवाबाट हटाउने निर्णय गरिएको हो ।
सेवाबाट हटाइएकामा रेडियोलोजी विभागका डा.वरदान वली र डा.ताराप्रसाद शर्मा छन् । त्यस्तै नाक, कान, घाँटी विभागका डा.प्रकाश न्यौपाने र युरो सर्जन डा.सुवासचन्द्र चौधरी छन् । भने आकस्मिक विभागका डा.प्रकृति कार्की छन् ।
उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित भएका थिए । हटाइएकाहरु करारमा नियुक्त चिकित्सक हुन् । यस्तो महासंकटको बेलामा जस्तोसुकै कठिन अवस्थामा पनि सेवा दिन तयार रहनुपर्नेमा सम्पर्कविहीन भएपछि तिनलाई हटाउनुको विकल्प नभएकाे अस्पलताले जनाएकाे छ ।
सामाजिक विकासमन्त्री सुदर्शन बरालले महामारीका बेलामा पनि सेवामा नखटिने चिकित्सकलाई कारवाही गर्न मन्त्रालयले दिएको निर्देशन अनुसार नै अस्पतालबाट कारवाही गरिएको बताएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।