add

कोरोना प्रभाव : नुवाकोटको सिन्दुरे जात्रा स्थगित






ActPro Nepal

|

२६ चैत, २०७६

|
922

नुवाकोट । कोरोना भाइरस (कोेभिड–१९) को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष नुवाकोटको प्रसिद्ध सिन्दुरेजात्रा स्थगन गरिएको छ ।

सामान्य दिनचर्या भएको भए अहिले नुवाकोटको भैरवी मन्दिर परिसरमा पुजारी, गुभाजु, द्वारे, स्थानीय नेवार समुदाय, लच्याङका तामाङ समुदाय र नेपाली  सेनालाई भ्याइनभ्याइ हुन्थ्यो । चैत शुक्लपूर्णिमामा सञ्चालन हुने नुवाकोटको सबैभन्दा ठूलो मेला सिन्दुरे जात्रा सञ्चालनको चाँचोपाँचो मिलाउन उनीहरु व्यस्त हुन्थे । 

तर यो वर्ष कोभिङ–१९ को सङ्क्रमण फैलन सक्ने जोखिमले सरकारले लकडाउन गरेका कारण सिन्दुरे जात्रा स्थगित गरिएकाले जात्रासँग सम्बन्धित सबै आआफ्नो घरघरमा लकडाउनलाई पालना गरी बसिरहेका छन् । यो वर्ष जात्रा चैत २८ गते परेको थियो भने चैत २६ गते चैत शुक्लपूर्णिमा तिथि रहेको छ ।

जात्राको सुरु देखिको सबै प्रक्रिया स्थगित गरिएको भैरवी मन्दिरका द्वारे महेन्द्रकुमार शाहीले बताए । ‘सिन्दुरे जात्रा भनेर प्रमुख जात्रा भए पनि चैते दसैँको भोलिपल्ट देखिनै यसको विभिन्न विधि सुरु हुन्छ । यो वर्ष देवीघाट जाने, अक्षता उठाउने, महाबली लिनेजस्ता कुनै पनि कामहरु गरिएनन्’, द्वारे शाहीले भने ।    

नुवाकोटको भैरवी मन्दिर र देविघाटको जालपा मन्दिरमा सञ्चालन हुने यो जात्रा नेपालकै धेरै दिनसम्म चल्ने जात्रामध्ये एक हो । लामो रथयात्रा हुने मेलामा पनि यहाँको भैरवीको रथयात्रालाई लिने गरिन्छ । त्रैयोदशीमा लिंगो उठाउने, चतुर्दशीको दिन भैरवीको रथ यात्रासहित देविघाटको जालपा मन्दिर जाने, त्यहाँ पूर्णिमाको दिन बिहान पूजालगायत भोग खाने, परेवाको दिन खाल्चा र द्वितीयको दिन नुवाकोटको भैरवी मन्दिरमा सिन्दुरे जात्रा गरिने यो अवसरमा हजारौँको सहभागिता हुने गर्दथ्यो । रथयात्राको क्रममा बाटोमा रथपूजा र धामीधमिनीको पूजाका लागि हजारौँ सहभागी हुने गर्दथे । 

कोरोनाको जोखिम बढ्ने भएकाले स्थागित गरिएको जात्रा गुभाजुलाई हेराएर वैशाख शुक्ल पूर्णिमामा पनि गर्न सकिने भएकाले स्थिति सामान्य भए वैशाखमा मेला गर्न सकिने द्वारे शाहीले बताए । सिन्दुरे जात्रा २०११ सालमा तत्कालीन राजा त्रिभुवनको निधन हुँदा स्थागित भएको थियो ।

हजारौँ जात्रालु जिल्लाभर र अन्य जिल्लाबाट पनि आउने मेला भएकाले अहिलेको अवस्थामा स्थगित गर्नुको विकल्प नभएको नुवाकोट सम्पदा मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले बताए । रासस



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.