add

किन माग्यो प्रेस काउन्सिल नेपालले ३६ वटा मिडियासंग स्पष्टीकरण ?






ActPro Nepal

|

१९ चैत, २०७६

|
1006

काठमाडौं । प्रेस काउन्सिल नेपालले यही चैत १० देखि १७ गतेसम्मको अवधिमा कोरोना रोगजनित घटनाक्रमको रिपोर्टिङ क्रममा पत्रकार आचारसंहिता उल्लंघन गर्ने ३६ वटा सञ्चारमाध्यमसँग स्पष्टीकरण सोधेको छ ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३, (पहिलो संशोधन २०७४) बमोजिम दर्ता नभएका १७ वेबपोर्टलले अफवाह फैलाउने किसिमको सामग्री निरन्तर सम्प्रेषण गरेको गुनासो र उजुरी आउनाका साथै स्वअनुगमनबाट समेत सोको पुष्टि भएको जनाउँदै काउन्सिसले त्यस्ता वेबपोर्टललाई मात्र नेपालभित्र प्रकाशन/प्रसारण हुन नसक्ने व्यवस्था मिलाइएको बताएको छ ।

कोरोना भाइरस सङ्क्रमणसम्बन्धी समाचार प्रकाशनप्रसारण गरेकै भरमा केही अनलाइन सञ्चारमाध्यमलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी बन्द गराएको भन्ने प्रचारबाजीप्रति काउन्सिलले खण्डन गर्दै अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्दे्शिका,२०७३ को दफा ३,उपदफा ४ मा “दर्ता नभई अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न पाइनेछैन “ भन्ने उल्लेख गरेको छ ।

त्यसैगरी दफा १० को क मा नेपालको संविधान र प्रचलित कानूनबमोजिम प्रकाशन वा प्रसारण गर्न नहुने सामग्री र ख मा पत्रकार आचारसंहिता विपरीत सामग्री प्रकाशनप्रसारण गर्न पाइने छैन भनिएको छ । त्यस्तै दफा १८ मा–दफा १० को विपरीत प्रकाशित वा प्रसारित सामग्री नेपालभित्र प्रकाशन वा प्रसारण हुन नसक्ने व्यवस्थाका लागि काउन्सिलले सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ र सोबमोजिम काउन्सिलबाट लेखिआएमा सम्बन्धित निकायले त्यस्तो सामग्रीलाई नेपालभित्र प्रकाशन वा प्रसारण हुन नसक्ने गरी आवश्यक व्यवस्था गर्नुपर्नेछ भन्ने व्यवस्था छ ।

नेपाल पत्रकार महासंघसमेतको परामर्शमा जारी पत्रकार आचारसंहिता २०७३ मा पत्रकार तथा सञ्चार माध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसङ्ग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी अतिरञ्जित तवरमा कोहीकसैका बारेमा पनि सम्प्रेषण गर्न हुँदैन भन्ने प्रावधान छ ।

नेपालमा दर्ता वा सूचीकृत भएका दुई हजार १७९ अनलाइनको प्रकाशनमा कुनै पनि किसिमको रोक नलगाइएको जनाउँदै काउन्सिलले पटकपटक पत्रकार आचारसंहिता पालनामा सचेत रहन, दर्ता एवं सूचीकरण नभएकाहरुको हकमा नियमानुसार दर्ता एवं सूचीकरणमा आउनसमेत आह्वान गरेको छ ।

सबै अनलाइन सञ्चारमाध्यमलाई बन्द गरिएको भन्ने भ्रम सिर्जना गर्न खोजिएको बताउँदै काउन्सिलले हल्लाको पछि नलाग्न र आमसञ्चारमाध्यम, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित हुँदै थप जिम्मेवारीका साथ तथ्यपरक र उत्साहवद्र्धक सामग्री सूचना सम्प्रेषणमा जुट्न पत्रकारलाई पुनःआग्रह गरेको छ । रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.