काठमाडौं । कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाउने भाइरल अडियोबारे नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ।
प्रहरीको साइबर ब्यूरोले उक्त अडियोबारे अनुसन्धान गरिररहेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए। 'अडियो अफवाह भएको पत्ता लागेपछि नर्भिक अस्पताललाई विज्ञप्ति जारी गर्न आग्रह गरेका छौं। साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको छ।
“अँ हिमाल,
तिमीलाई एउटा एकदम इम्पोर्टेन्ट कुरा सुनाउन फोन गरेको है”
यी वाक्यबाट सुरु हुने पुरुष आवाज रहेको अडियो तपाईँले पनि फेसबुकको मेसेन्जरमा पाउनु भयो होला। त्यो मेसेजमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखाएको र नेपालमा एकदमै फैलिसकेको भन्दै आतंक मच्चाउन खोजिएको छ।
उसले यो कुरा फेक हैन है भनेर सुन्नेहरुको दिमाग भुट्न खोजिएको छ। तर फेक हैन भन्दैमा त्यो फेक नहुने सर्टिफिकेट हैन। यस्ता कुरामा आँखा चिम्लेर विश्वास गर्नुभन्दा पनि यी तथ्यमा ध्यान दिएर त्यो अडियो गलत भएको बुझौँ र यसलाई फैलनबाट रोकौँ।
१) नर्भिक अस्पताल पुल्चोकमा छैन
अडियोमा नर्भिक अस्पतालमा काम गर्ने घर नजिकै बस्ने स्टाफले भनेको भनिएको छ। तर बिचरालाई नर्भिक अस्पताल कहाँ छ भन्ने नै थाहा रहेनछ। उसले पुल्चोकमा रहेको नर्भिक अस्पताल भनेको छ। नर्भिक पुल्चोकमा हैन थापाथलीमा छ। बिचरा नर्भिकमा कहिले गएको पनि छैन होला। त्यसैले उसलाई थापाथलीको प्रसुति गृह नजिकै नर्भिक अस्पताल रहेछ भन्ने नै थाहा रहेनछ। अस्पताल कहाँ छ भन्ने नै थाहा नभएको मान्छेले फेक हैन है यो खबर भन्यो भन्दैमा साँच्चैको हो भनी विश्वास गर्ने तपाईँ ?
२) फोन वार्ता रे एक जनाको मात्र आवाज
अडियोमा हिमाललाई फोन गरेर कुरा सुनाउन खोजेको जस्तो बनाइएको छ। तर यो फोन वार्ता भने हैन। किनभने फोनमा एकतर्फी कुरा मात्र छ। ‘अँ हिमाल’ भनेपछि ‘हजुर भन न’ वा त्यस्तै केही भन्नु पर्ने हो। तर यसमा त फोनमा कुरा गरेको नाटक मात्र गरिएको हो। फोन वार्ता हो भने एउटा कुरा भनिसकेपछि अर्को तर्फबाट केही जवाफ आउँछ त्यसका लागि पनि केही खाली ठाउँ हुनुपर्ने हो। तर एकोहोरो बोलेको छ बोलेको। यस्तो पनि फोन वार्ता हुन्छ कहीँ।
३) फोन नगरेको जस्तो अर्को अडियो
शायद फोन गरेको जस्तो गरे पनि त्यस्तो नसुनिएको जस्तो लागेर होला। अर्को खालको एउटा अडियो पनि फेसबुकमा फैलिएको छ। त्यही आवाज रहेको त्यो मान्छेले त्यही कुराहरु भन्छ। तर त्यसमा भने फोनमा कुरा गरेको जस्तो बनाइएको छैन। आफ्नो गल्ती पत्ता लाग्यो भनेर नै उसले अर्को अडियो पनि बनाएको हुनुपर्छ।
४) लुकाउन सम्भव छैन
के कोरोना भाइरस लागेर मान्छे मरिसकेको, ९ जनालाई चेक गर्दा ६ जनालाई लागेको टेस्टमा देखिसकेको जस्ता कुरा सत्य होलान् ? के सरकारले यो कुरा लुकाएको होला ? के मिडियाले पनि यो कुरा लुकाएको होला ?
यो सम्भव छैन। ६/६ जनालाई कोरोना लागेको टेस्टबाट देखिसक्दा पनि लुकाउन सकिँदैन। नेपालभित्रको कुनै मामिला भएको भए यस्तो गरियो होला भनेर शंका गर्न सकिएला। तर कोरोना त विश्वको ध्यानमा भएको कुरा हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा भइरहेका परीक्षणहरुको पनि निरन्तर निगरानी गरिरहेको छ। टेस्ट पोजिटिभ भयो भने उता पनि रिपोर्ट पठाउनु पर्छ।
त्यस्तै कोरोना लागेर मृत्यु भएको भए अरुमा फैलिन नदिन झन् सावधानी अपनाउनु पर्छ। यस्तो अवस्थामा शवको अन्त्येष्टि गर्न पनि कठिन हुनसक्छ। त्यसैले लुकाएर पनि यस्ता कुरा लुक्ने हैनन्। विश्व स्वास्थ्य संगठनको आधिकारिक सिचुएसन रिपोर्ट यहाँ क्लिक गरी हेर्नुस्।
५) नर्भिकमा कोरोना टेस्ट हुँदैन
नर्भिक अस्पतालमा कोरोना पोजेटिभ छ कि नेगेटिभ छ भन्ने टेस्ट हुँदैन। अहिलेसम्म यस्तो टेस्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र हुने गरेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।