काठमाडौं । कृषि तथा पशुपन्धी विकास मन्त्री घनश्याम भुसालले कृषिलाई नाफामूलक बनाउन पन्च नीति सार्वजनिक गरेका छन् । उनले कृषिमा उत्पादन सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा-टेवा, सस्तो र सुलभ ऋण, न्यूनतम बचतको ग्यारेण्टी र बाली तथा पशुपन्छी बीमा गरी पाँच नीति ल्याएका हुन् ।
उनले कृषिमा युवाहरुको आकर्षण बढाउनका लागि यी कुरा अनिवार्य कार्यान्वयन हुनुपर्ने बताए ।
‘हामी संरक्षित कृषि र सुनिश्चित बचत नारामा अघि बढेका छौँ, कृषि सामग्रीमा किसानलाई नाफा हुनेगरी मूल्य निर्धारण गछौँ’, मन्त्री भुसालले भने ।
उत्पादन सामग्रीमा अनुदानः उत्पादन सामग्रीमा अनुदान बीउ/नश्ल, मल, सिँचाई, बिजुलीजस्ता उत्पादनमा केन्द्रित हुने उनले बताए । उनले व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी मुख्य सामग्रीहरुमा अनुदान केन्द्रित गरि सर्वसुलभ रुपमा अनुदान वितरण हुने बताए ।
सबै किसानको घरदैलोमा प्राविधिक सेवा-टेवाः हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारेण्टी गरिने मन्त्री भुषलले बताए । स्थानीय तहमा करिब ८ हजार कृषि तथा पशु सेवातर्फका प्राविधिक जनशक्तिको दरबन्दी रहेकोमा स्थानीय तहसँग समन्वय गरी अहिले रिक्त रहेका करिब ६ हजार दरबन्दीमा तत्काल पदपूर्ति गरिने उनले जानकारी दिए ।
सस्तो र सुलभ ऋणः सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहुँच ग्यारेण्टी नभएको भन्दै उनले यस्तो अवस्थाको अन्त्य गरिने बताए । उनले हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको कार्यान्वयन गरिने बताए ।
बाली तथा पशुपन्छी बीमाः उनले कृषि तथा पशुपन्छी बिमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहुँचमा पु¥याउने ग्यारेण्टी गरिने बताए । प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषि बालि-वस्तुको हानी नोक्सानीबाट किसानलाई सुरक्षित गरिनेछ उनले जानकारी दिए ।
न्यूनतम बचतको ग्यारेण्टीः किसानले उत्पादन गर्ने मुख्य बालि–वस्तुको उत्पादन लागतको मूल्याङ्कन गरेर उचित बचतको ग्यारेण्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोकिने मन्त्री भुसालले बताए । किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्ने बताए । सरकारले तोकेको न्यूनतम मूल्य समेत नपाएको खण्डमा सरकार आफैले खरिदको व्यवस्था मिलाउने उनले बताए ।
नेपाली समाजको विकासको अवस्था, हाम्रो छिमेकमा भैरहेको कृषिको विकास, विगत ६० वर्षको योजनावद्ध कृषि विकासका अनुभवहरु, समाजवाद उन्मुख हाम्रो राज्य र संविधानले प्रत्याभूत गरेको नागरिकका खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुताको अधिकार, हाम्रो कृषि श्रमको अवस्था, केन्द्रीकृत विकास परम्परा तथा बसाइँसराइ, सामाजिक तथा राजनीतिक द्वन्द्व तथा संक्रमणको हाम्रो इतिहास र वर्तमान, जलवायु परिवर्तन र अहिलेको विश्वव्यापी महामारीहरुको प्रकोपजस्ता अनेकौँ यस्ता कारणहरु छन् जसले हामीलाई ठूलै जोखिम र सङ्कल्पका लागि तयार पार्छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।