काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रायः सुदूरपश्चिमकाले मात्र सुरक्षा कमाण्डको जिम्मेवारी पाउने गरेको गुनासो सुनिन्थ्यो । अहिले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वका हुन् । संयोग पनि त्यस्तै परेको छ । काठमाडौं उपत्यकाको प्रहरी कमाण्ड गर्ने पाँचै जना प्रहरी हाकिम पूर्वकै छन् ।
महानगरीय प्रहरी आयुक्तदेखि भक्तपुर एसपीसम्म पूर्वेली नै छन् ।
महानगरीय प्रहरी आयुक्त डीआइजी विश्वराज पोखरेल, काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी, ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई, महानगरीय ट्राफिक प्रमुख एसएसपी भिमप्रसाद ढकाल र भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधान छन् । उनीहरु सबै पूर्वेली हुन् ।
अझ काठमाडौंको प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल पनि पूर्वकै हुन् । अर्को संयोग पनि छ, सीडीओ दाहाल, एसएसपीद्वय सुवेदी र ढकाल पूर्वको पनि भोजपुरका हुन् । डीआइजी पोखरेल ओखलढुङ्गा, एसएसपी राई उदयपुर र एसपी प्रधान मोरङका हुन् ।
डीआइजी विश्वराज पोखरेल (महानगरीय प्रहरी आयुक्त)
डीआइजी विश्वराज पोखरेल नेपाल प्रहरीमा पछिल्लो समयमा सबैलाई उछिन्दै फड्को मार्ने डीआइजीमा पर्छन् । आफूभन्दा सिनियरलाई समेत पछि पार्दै डीआइजी बन्न सफल पोखरेल अरु डीआइजीको तुलनामा ‘पोष्टिङ’ पनि राम्रो ठाउँमा पाउनेमा परेका छन् ।
गत वैशाख १९ गते डीआइजी बढुवा भएलगत्तै नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गरे । प्रवक्ता छँदा उनले नेपाल प्रहरी र सञ्चार माध्यम तथा सञ्चारकर्मीसँगको सम्वन्धलाई एक उचाईमा पुर्याउने काम गरे । उनका कारण तत्कालीन आइजीपी सर्वेन्द्र खनालको सफलताका अंक बढेको प्रहरी बृत्तमै चर्चा हुने गरेको छ ।
त्यसपछि सिनियर डीआइजीहरुलाई उछिन्दै उनी अर्को आकर्षक र सर्वत्र जनसम्पर्क हुने तर चुनौतिपूर्ण ठानिएको महानगरीय प्रहरी आयुक्तमा सरुवा भए । उनको यो मौकाका पछाडि पूर्वेली हुनु र शक्तिकेन्द्रले पत्याउनुसँग जोडेर हेर्नेहरु पनि छन् । दुई साताअघि मात्र भएको एआइजी बढुवा सिफारिसमा समेत उनले फड्को मार्ने अड्कलबाजी गरिएको थियो ।
उनी ओखलढुंगाका हुन् । नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेलका नातेदार समेत हुन् । हुन त उनले उपप्रधानमन्त्री पोखरेलसँगको साइनो सम्वन्धका कारण मात्र यो मौका पाएको भने होइनन् । उनी प्रहरीभित्र राम्रो छवि बनाएका प्रहरी अधिकृतभित्र पर्छन् ।
उनले २०४९ चैत ११ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका हुन् । उनी १०१ नम्बर व्याजी हुन् । उनले एसएसपी छँदा महानगरीय प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका थिए । त्यसो त उनले अन्य जिल्लाको कमाण्ड पनि सम्हालेका थिए ।
एसएसपी उत्तमराज सुवेदी (काठमाडौं परिसर)
नेपाल प्रहरीमा काविल अफिसरका रुपमा चिनिएका एसएसपी उत्तमराज सुवेदी अहिले काठमाडौंको कमाण्ड सम्हालिरहेका छन् । उनी पनि पूर्वेली नै हुन् । उनको पुख्र्यौली घर भोजपुर हो भने पछि बसाईसराई गरेर विराटनगर झरे । उनी मेट्रो वानका व्याजी हुन् ।
उनले एसएसपी भएपछि तालिम केन्द्र बुटवलको कमाण्डेन्ट भएर नेतृत्व गरे । त्यसपछि आइजीपीको सचिवालयमा रहेर प्रवक्ताको भूमिका निर्वाह गरे । उनले पनि प्रवक्ता छँदा प्रहरी र पत्रकारबीचको समन्वयात्मक भूमिका प्रभावकारी बनाएको पत्रकारवृत्तमा चर्चा छ ।
एसपी हुँदा पनि राम्रो कमाण्ड गर्ने अवसर प्राप्त गरेकामध्येका हुन सुवेदी । उनले जोखिमपूर्ण जिल्लाका रुपमा लिइने धनुषा, सर्लाहीको समेत नेतृत्व गरे भने सीआइबी र आइजीपीको सचिवालयमा रहेर काम गरे ।
डीएसपी छँदा उनले पाल्पा, स्याङ्जा, दोलखाको कमाण्ड गर्ने अवसर पाए । त्यसो त उनले अपराध महाशाखामा रहेर कुण्डागर्दीविरुद्धको अभियानमा सशक्त भूमिका निर्वाह गरे ।
एसएसपी टेकप्रसाद राई (ललितपुर परिसर)
नेपाल प्रहरीमा अनुसन्धान अधिकृतका रुपमा ख्याती कमाएका एसएसपी टेकप्रसाद राई अहिले महानगरीय प्रहरी परिसर ललितपुरको कमाण्ड सम्हालिरहेका छन् । उनी पनि पूर्वेली नै हुन् । उनको घर उदयपुर हो ।
एसपी छँदा उनले शान्ति मिसनमा खटिएका बेला नेपाल प्रहरीको गरिमालाई सर्वोत्कृष्ठ बनाए । डार्फरमा १३ वटा मिसन रहेकोमा नेपाल प्रहरी १३ नै स्थानमा थियो । नेपाल प्रहरीको तर्फबाट कमाण्डिङ अफिसर भएर राईले एक वर्षको अवधिमा नेपाल प्रहरीको हैसियत एक नम्बरमा पुर्याएका थिए । उनले सन् २०१८ को फेब्रुअरीबाट १३ महिना डार्फरमा रहेर काम गरे ।
त्यसअघि उनले बाँकेको प्रमुख भएर काम गरे । उनले अधिकांश समय अपराध अनुसन्धानको विशेष जिम्मेवारी निर्वाह गरे । देशमा कुनै पनि गम्भीर प्रकृतिका अपराधमा उनको नेतृत्वमा प्रहरीले सफलता पाए ।
उनी २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । उनी प्रहरीमा इमान्दार, कर्तव्यनिष्ठ, सक्षम अफिसरका रुपमा परिचित छन् ।
एसएसपी भिमप्रसाद ढकाल (ट्राफिक महाशाखा)
एसएसपी भिमप्रसाद ढकाल काठमाडौं उपत्यकाको अर्को महत्वपूर्ण जिम्मेवारी पाउने अर्का पूर्वेली प्रहरी अफिसर हुन् । उनी भोजपुर चरम्बीका हुन् । उनी हाल महानगरीय ट्राफिक महाशाखाका प्रमुख छन् । उनलाई ट्राफिकसम्वन्धी खासै अनुभव नभएका व्यक्ति भनेर टिकाटिप्पणी गर्नेहरु पनि थिए । तर, उनले सबैसितको समन्वयमा ट्राफिक व्यवस्थापन सुधार्न महत्वपूर्ण काम गरेको मुक्तकण्ठले प्रशंसा गर्नेहरु बढेका छन् ।
एसपी हुँदा सप्तरी, झापा र विराटनगर प्रहरी गणको कमाण्ड सम्हाले । डीएसपी हुँदा उनले रौतहटको जिम्मेवारी निर्वाह गरे । विशेषतः मधेस आन्दोलनका बेला उनी मधेसका भूमिका बसेर डटेर काम गरे । डीएसपी हुँदा माओवादी सशस्त्र संघर्षका बेला माओवादी प्रभावित क्षेत्रमा बसेर मुकाबिला गरेका चुनौतिसँग सामना गर्नसक्ने अफिसरका रुपमा भिमप्रसाद परिचित छन् ।
उनले २०५२ भदौ १९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका हुन् । उनी नेपाल प्रहरीको ११०औं ब्याजका अब्बल अफिसरमा गनिन्छन् ।
एसपी सविन प्रधान (भक्तपुर परिसर)
एसपी सविन प्रधान पनि पूर्वेली हुन् । उनी मोरङका हुन् । हाल उनी महानगरीय प्रहरी परिसर भक्तपुरको कमाण्ड सम्हालिरहेका छन् । उनी नेपाल प्रहरीमा ‘प्रोफेसनल’ अफिसरका रुपमा गनिन्छन् ।
उनी २०५१ भ्दौ १६ गते प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । उनी २०५५ कात्तिक १ गते प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका हुन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।