जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।
होलीको अवसरमा व्यङ्ग्य र ठठ्यौलीको रुपमा जनकपुरमा महामूर्ख सम्मेलनको आयोजना हरेक वर्ष हुँदै आइरहेको छ । यस वर्ष पनि होलीको अवसर पारेर होली ’ महोत्सव र ‘महामूर्ख’ सम्मेलनको तयारी गरिएको छ ।
वास्तविक जीवनमा कोही पनि आफूलाई महामूर्ख कहलाउन चाहँदैनन् । तर होलीको अवसरमा दिइने ‘महामूर्ख’ को उपाधि पाउन जनकपुरमा तँछाडमछाड हुने गरेको छ । होलीको अवसरमा दिइने महामूर्खको उपाधि पाउने व्यक्ति आफूलाई गौरवान्वित ठात्रे गर्दछन् ।
उपाधि महामूर्खको रहेपनि पाउने व्यक्ति चर्चित राजनीतिज्ञ, साहित्यकार, कलाकार, सामाजिक अभियन्ताजस्ता हुन्छन् । कलासंस्कृति तथा साहित्यको क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको मिथिला नाट्यकला परिषद ९मिनाप० ले २६ फागुनमा महामूर्ख सम्मेलन गरिरहेको छ । यसैगरी उसले २५ गते होरी महोत्सवको आयोजना गरेको छ ।
होली महोत्वसमा लोकभाकामा गाइने जोगिरा गायन (होली गीत) प्रतियोगिता हुने गरेको छ । प्रतियोगितामा भाग लिन प्रदेश २ को विभिन्न जिल्लाहरुबाट कलाकारहरु आइरहेका छन् ।
डम्फा र कर्ताल जस्ता वाद्ययन्त्र बजाएर गाइने जोगिरा आधुनिकताभन्दा फरक तर वास्तविक होलीको झलक दिइरहेको हुन्छ । तराई–मधेशमा जोगिरा गायन लोप हुँदै गइरहेको भन्दै यसको प्रवद्र्धन गर्ने उद्देश्यले होलीको अवसर पारेर यसखाले प्रतियोगिताको आयोजना गर्ने गरेको मिनापको भनाइ छ ।
जानकी मन्दिर परिसरभित्र आयोजना हुने होली महोत्सव र महामूर्ख सम्मेलन हेर्न ठूलो संख्यामा सर्वसाधारण पुग्ने गर्दछन् । यसवर्षको महामूर्ख खोज्न आयोजक संस्था मिथिला नाट्यकला परिषद् जुटिसकेको छ । महामूर्खको उपाधि पाउने व्यक्तिको खोजी कार्य जारी रहेको परिषद्का महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिएका छन् ।
यस वर्ष महामूर्खको उपाधि पाउनेमा पूर्व प्रदेश प्रमुखदेखि विभिन्न राजनीतिकर्मीहरु सूचीमा रहेको मल्लिकले बताए । ‘यस वर्ष महामूर्खको उपाधि कसलाई दिनेबारे छलफल चलिरहेको छ, चाँडै निर्णय हुन्छ,’ मल्लिक भन्छन् ।
महामूर्खको उपाधि पाउनेहरुको सूचीमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, प्रदेश २ का पूर्व प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउतलगायतका व्यक्तिहरुको नाम रहेको बताइएको छ ।
महामूर्ख सम्मेलनको अवसरमा मैथिली क्षेत्रका कवि, साहित्यकारहरुले राजनीति, राजनीतिज्ञ, समाजिक कुरुतीजस्ता विषयहरुमा गर्ने व्यङ्ग्यात्मक प्रहारले छुट्टैखाले मनोरञ्जन दिने गर्दछ ।
मिथिलाको पारम्परिक होली, लोकभाकामा गाइने होलीका गीतहरु बढ्दै गरेको आधुनिकताका कारण लोप भइरहेको बेला मिथिला नाट्यकला परिषद्का यस्तो आयोजनाले संरक्षण गर्न ठूलो मद्दत गरेको संस्कृतिविद्हरु बताउँछन् ।
मिथिला नाट्यकला परिषद्ले गत वर्ष महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई दिएको थियो । यसैगरी त्यसअघि यस उपाधिबाट राष्ट्रियसभा सदस्य एवं राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाललाई सम्मानित गरिएको थियो ।
२०६१ सालदेखि मिथिला नाट्यकला परिषदले महामूर्ख सम्मेलनको आयोजनालाई निरन्तरता दिँदै आइरहेको छ । महामूर्खको उपाधि पाउने पहिलो व्यक्ति हुन् मैथिली कवि नरेश ठाकुर । २०६२ मा तत्कालीन एमाले नेता शीतल झा, २०६३ मा जनकपुर नगरपालिकाका तत्कालीन मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा।राजेन्द्र विमल २०६६ मा पूर्वमन्त्री एवं नेकपाका नेता रामचन्द्रले महामूर्खको उपाधि पाएका थिए ।
यसैगरी २०६७ मा राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोस कापडी, २०६९ मा नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता तथा तत्कालीन जिल्ला सभापति रामसरोज यादव, तत्कालीन तमलोपाका पूर्वसांसद डा. विजयकुमार सिंह, २०७१ मा तत्कालीन एमाले नेता शत्रुध्न महतो र २०७२ मा समाजसेवी पवन सिंहानीयाले महामूर्खको उपाधि पाएका थिए । २०७३ मा मधेश आन्दोलनको कारण कार्यक्रम हुन सकेको थिएन ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।